विद्युतीय सवारीप्रतिको अपेक्षा उच्च

चिनियाँ अटोमोबाइल बजारमा विद्युतीय सवारीको संख्यामा वृद्धि हुन थालेको छ । यो वृद्धिलाई आफ्नो पक्षमा पार्नका लागि कम्पनीहरूबीच प्रतिस्पर्धा पनि हुन थालेको छ ।
चीनको राइड सेरिङ कम्पनी डिडी चुसिङले गत साता १२ अटो निर्मातासँग मिलेर ई–सवारी सेवाको स्थापना गर्ने योजना बनाएको जनाएको छ । यी अटोनिर्माताहरूमा चिनियाँ कम्पनीहरू गिली र बीवाइडीका साथसाथै केही संख्याका विदेशी फर्महरू जस्तै दक्षिण कोरियाको किया मोटर्स र रिनाउल्ट–निशान– मित्सुबीसीको गठबन्धन पनि समावेश हुने भएका छन् ।
चीनमा विद्युतीय सवारीको बिक्रीमा पनि ठूलो संख्यामा वृद्धि भइरहेको छ ।
“गत वर्ष नयाँ ऊर्जाका सवारीको बिक्री संख्या उच्च रहेको थियो । यो २०२० मा गएर २० लाख नाघ्ने र २०२५ मा गएर ५० लाख पुग्ने अपेक्षा गरिएको छ,” चीनमा रहेको स्ट्राटेजिक एनालाइटिक्सका वरिष्ठ विश्लेषक केभिन लीले बताए ।
सातदेखि आठ वर्षसम्मको अवधिमा विद्युतीय सवारी र परम्परागत सवारीको बीचमा तीव्र प्रतिस्पर्धा हुने पनि उनले जनाए ।
ई–भेइकलको बिक्री पनि मजबुत भएको उनले बताए ।
डिडीबाहेक जापानी अटो निर्माता निशानले पहिले नै विद्युतीय सवारीका साथ बजारमा आउने तयारी गरिरहेको छ । निशानले यसै महिनाको सुरुमा यो वर्ष चीनमा पूरै विद्युतीय कार लिफ बिक्री गर्ने योजना बनाएको जनाएको छ र आगामी ५ वर्षको अवधिमा चिनियाँ साझेदारसँग मिलेर २० वटा विद्युतीय मोडलको विकास गर्ने योजना बनाएको जनाएको छ ।