पथलैया–ढल्केबर सडकका ६९ वटा पुल जीर्ण «

पथलैया–ढल्केबर सडकका ६९ वटा पुल जीर्ण

बारा-पूर्वपश्चिम राजमार्गका विभिन्न सडक खण्डमा सञ्चालनमा रहेका पुलहरु जीर्ण बन्दै गएका छन् । पथलैया–ढल्केबर खण्डमा नदी गहिरिँदै जाँदा ६९ वटा पुलको तेस्रो स्पानको जग देखिन थालेको र पिलर र जोर्नीहरु छुट्दै जाँदा राजमार्ग नै खतरामा परेको हो ।
दुई लेनको सडक भएपनि पुल एक लेनको मात्र हुँदा बोटल नेक जस्तो भएको राजमार्गको यो खण्डमा बाराको दुधौरा पुल यस वर्ष नै २ पटक भासिएको छ । त्यसैगरी बाग्मती पुल भासिएको र अन्य पुलहरुसमेत जीर्ण अवस्थामा रहेको सडक विभागले जनाएको छ ।
यो सडक खण्डको सबै भन्दा लामो वाग्मती पुलमा ११ वटा पिलरको जग नै देखिन थालेको र भासिन थालेपछि पुल धरापमा परेको प्राविधिकहरू बताउँछन ।
राजमार्गअन्तर्गतका यि पुलहरु सडक विभागले सामान्य रङरोगन गरेपनि पुलको मर्मतमा चासो देखाएको छैन । दैनिक ४ हजारभन्दा बढी सवारी साधन गुड्ने यो सडक खण्डमा सडक विभागको पुल महाशाखाले सबै पुल निर्माण एकै पटक गर्न नसकिने जनाएपछि राजमार्गमा यात्रा खतरा बन्दै गएको हो ।
बारा, पर्सा, रौतहट र सर्लाही २ नम्बर प्रदेका पुल र सडक हेर्ने ३ नम्बर प्रदेशमा रहेको डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले सोभियत संघको सहयोगमा बनेको सडक खण्डको पुलको आयु सकिएको र पुलहरु निर्माण गर्न तत्काल दातृ संस्था गुहार्नुपर्ने बताए ।
पुल महाशाखाकाका अनुसार मुख्य राजमार्गमा १ हजार ७ सय ८ वटा पुल रहेका छन् । प्रत्येक वर्ष ठूला ५ र ७ वटा पुलमा समस्या आउने गरेको र त्यस्को मर्मतमा मात्र वार्षिक ५० करोडभन्दा बढी खर्च हुने गरेको जनाएको छ  । रूसले बनाइ दिएका पथलैयादेखि ढल्केबरसम्मका करिब ५५ वटा पुलमा बढी समस्या र जोखीममा रहेको जनाएको छ  ।
बालुवा रोडा र ढुंगा जथाभावी निकाल्दा पुलको बेससम्म भासिने गरेको सडक विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्