अनुमानभन्दा बढी काम, तर गुणस्तरहीन

जुम्ला– चन्दननाथ नगरपालिका–२ स्थित भण्डारीबाडा जोड्ने सडकमा स्टिमेटभन्दा बढी काम भएको पाइएको छ । क्रमागत रूपमा दुई आव ०७४-७५ र ०७५-७६ गरी एक करोड बजेट छुट्याइएको थियो । तर ठेक्का घटेर ५० लाखमा हालेपछि पहिलो क्रमागत बजेटको ५० लाखमा कन्टिसेन्सी काटेर ४२ लाखमा काम भइरहेको छ ।
जसमा पहिलो किस्तावापत ९ लाख ८१ हजारमात्रै भुक्तानी लिएको छ । कालेखोलीदेखि भण्डारी गाउँ हुँदै ल्याण्डफिल्ड साइटसम्म पुग्ने सडकमा स्टिमेटमै नभएको भौतिक संरचना निर्माण गरिएको छ । कम भुक्तानी, फरक स्टिमेट तर काम बढी, यसले विकास निर्माण जीर्ण बन्दै गएका छन् । कम बजेटमा बढी काम गर्दा भुक्तानी छिटो पाइने स्वार्थ देखिएको स्थानीय बताउँछन् । एकतर्फी मात्रै नाली हाल्ने स्टिमेट थियो तर गुणस्तरहीन नाली दुवैतिर निर्माण गरिएको छ ।
चन्दननाथ नगरपालिकाकी उपमेयर तथा अनुगमन संयोजक अप्सरादेवी महतको नेतृत्वमा गरिएको सडक अनुगमनमा स्टिमेटभन्दा बढी काम भएको तर गुणस्तरहीन भएको पाइएको हो । दुई आर्थिक वर्षमा तीनजना ठेकेदार फेरिएका छन् । तर सडकको अवस्था भने सन्तोषजनक छैन । मापदण्डअनुसार कम्तीमा पनि ५ मिटर चौडाइ हुनुपर्ने हो, तर कतै ६ मिटर, कतै ४ मिटर सडकको चौडाइ छ भने, हचुवाको भरमा पर्खाल निर्माण गरेकै कारण, सडक निर्माण नसकिँदै, पर्खाल भत्काएर पुनः निर्माण गर्न थालिएको छ । स्टिमेटमा पर्खाल तल चाक्लो र माथि छुचो हुनुपर्ने हो । तर सिधा निर्माण हुँदा दिगो नहुने देखिएपछि गुणस्तर नभएको भन्ने गुनासो आउँदा पुन दोहोरो बजेट खर्च गरी उही पर्खाल निर्माण हुन लागेको छ ।
क्रमागत रुपमा २०७४ सालबाट निर्माण शुरु भएको उक्त सडक हालसम्म करिब ३ किलोमिटरमात्रै निर्माण भएको छ । यो एक उदाहरण भए पनि जुम्लाका आठै स्थानीय तहको समस्या यस्तै छ । भुक्तानी छिटो लिने लोभले गुणस्तरहीन काम बढी देखाउने प्रवृत्ति हावी भए पनि भौतिक संरक्षण दिगो विकास लक्ष्यअनुसार हुन सकेका छैनन् । विशेषगरी सडक भवन निर्माणका सन्दर्भमा जुम्लाका आठै तहमा यस्तो समस्या विकराल छ ।