पर्यटनमार्फत चेपाङलाई आत्मनिर्भर बनाइने

चितवन– सपना भिलेजले चेपाङको आर्थिक उन्नतिका लागि पर्यटनसँग जोड्ने प्रयास गरेको छ । चेपाङ गाउँमा विदेशी पर्यटक भित्र्याउन भिलेजले ट्रेकिङ रुटमा चेपाङ घरवास सञ्चालनमा ल्याएको हो । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दिखोला हुँदै चितवनको सौराहासम्मको ट्रेकिङ रुटमा पर्ने दुई चेपाङ गाउँमा चितवनका स्थानीय चेपाङ समुदायले घरवास सञ्चालनमा ल्याएका हुन् ।
इच्छाकामना–२ तोवाङ र वडा नम्बर– १ भाराङमा चेपाङ घरवास सञ्चालनमा ल्याएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उनले पृथ्वी राजमार्गअन्तर्गत धादिङको हुग्दिखोलाबाट चितवनको इच्छाकामना २ काउले तोवाङ, हात्तिवाङ, सिराइचुली, वडा नम्बर १ को भाराङ, चौकी डाडाँ कालिका नगरपालिकाको शक्तिखोर हुँदै सौराहासम्मको ट्रेकिङमा आउने पर्यटकहरुलाई लक्षित गरी चेपाङ घरवास सञ्चालन गर्न स्थानीयलाई सहयोग गरेको बताए ।
चेपाङ समुदायको आयस्तर वृद्धिका लागि थप घरवास सञ्चालन गर्न भिलेजले आर्थिक सहयोग र तालिम उपलब्ध गराउने गिरीले बताए । उनले भने,‘यहाँका चेपाङ समुदायको आयस्तर वृद्धिका लागि इच्छुकहरुलाई होमस्टे सञ्चालन गर्नका लागि हामी आर्थिक सहयोग र तालिमहरु प्रदान गर्नेर्छौ, विशेष गरी विदेशी पर्यटकहरुको रहन सहनबारे जानकारी गराउने, पर्यटकलाई गर्ने व्यवहार, सरसफाइलगायतका बारेमा तालिम प्रदान गर्ने योजना छ ।’ इच्छाकामना–२ तोवाङका तिलु चेपाङको घरवास रिक्सजा ट्राभल एजेन्सी नेदरल्याण्ड्सका प्रमुख मारियस एप्पलम्यानले उद्घाटन गरेका हुन् ।
उनले चेपाङ समुदायको संस्कार संस्कृति तथा जीवनयापन बारे जान्न पाउँदा निकै खुसी लागेको बताए । उनले ट्रेकिङ रुट नेपालकै उत्कृष्ट बन्न सक्ने सम्भावना भएकोमा जोड दिए । उनले भने,‘यो ट्रेकिङ रुट नेपालकै उत्कृष्ट बन्ने सम्भावना छ, यहाँको चेपाङ समुदायको रहनसहन संस्कार संस्कृति बारे जान्न र बुझ्न पनि पाइन्छ ।’ यसैबीच घरवास सञ्चालिका तिलु चेपाङले होमस्टे सञ्चालन गर्ने आफ्नो इच्छा पुरा गरिदिएकामो भिलेजका अध्यक्ष गिरीलाई धन्यवाद दिइन् । तिलुले भनिन्, ‘आज म धेरै खुसी छु, चेपाङ पहाडमा पर्यटन र स्थानीय स्रोत साधनको प्रवर्द्धन गर्न गाउँमा होमस्टे सञ्चालन गर्ने रहर थियोे, सपना भिलेज मेरो सपना पुरा गरेको छ ।’
भिलेजले यही ट्रेकिङ रुटको सम्भाव्यता बारे अध्ययन गर्न गत वर्ष पनि रिक्सजा ट्राभल एजेन्सी न्यादरल्यण्ड्सका प्रमुख एप्पलम्यानलाई भ्रमण गराएको थियो । उक्त ट्रेकिङ रुट दुई रात तीन दिनको रहेको अध्यक्ष गिरीले बताए । नेदरलयाण्डसहित जर्मन यूके फ्रान्सलगायतका देशका पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ ट्रेकिङ रुटको प्रचार प्रसारमा लागिरहेको बताए । पर्यटकहरुको आवागमन बढेसँगै यहाँका चेपाङ समुदायको आयस्तर वृद्धि हुने अपेक्षा गरिएको छ ।