भुस्याहा कुकुर मार्ने अभियान शुरु «

भुस्याहा कुकुर मार्ने अभियान शुरु

लमजुङमा रेविज संक्रमणको आतंक मच्चिएसँगै भुस्याहा कुकुर मार्न थालिएको छ । बेसीसहर नगरपालिकाले सरोकारवालासँग समन्वय गरी सदरमुकामभित्रका भुस्याहा कुकुर मार्न थालेको हो ।
रेविज संक्रमणका कारण केही दिनअघि जिल्लामा एक बालकको मृत्यु भएपछि यसको संक्रमण फैलनसक्ने भन्दै बजार सडकमा भेटिएका भुस्याहा कुकुरलाई मार्न थालिएको नगरपालिकाले जनाएको छ । बेसीसहर बजारमा रातिको समयमा टोली परिचालन गरी विष खुवाएर सडकमा भेटिएका कुकुर मार्न थालिएको छ । नगरपालिकाका अनुसार बेसीसहर बजारभित्रका दर्जनभन्दा बढी कुकुरलाई विष खुवाएर मारिएको हो । बेसीसहरका विभिन्न टोलबाट भुस्याहा कुकुरको व्यवस्थापनका लागि समुदायले नै आग्रह गरेपछि सरोकारवालाको समन्वयमा कुकुर व्यवस्थापन गर्न थालिएको बेसीसहर नगरपालिका प्रमुख गुमानसिँह अर्यालले बताए । “शंकाष्पद भुस्याहा कुकुरलाई मार्ने र अन्य शंका नभएका कुकुरलाई रेबिज सुई लगाएर छोडेका छौँ,” नगरप्रमुख अर्यालले भने ।
डेढ महिनाअघि कुकुरको टोकाइबाट रेबिज संक्रमण भएका बालकको निधन भएपछि रेविजको संक्रमण अन्य धेरैसँग भएको हुनसक्ने भन्दै सर्वसाधारणमा त्रास फैलिएको हो । पछिल्लो समय रेबिज संक्रमणको डरले ४० जनाभन्दा बढीले जिल्ला अस्पतालमा आएर रेविजविरुद्धको खोप लगाइसकेका छन ।
नगरपालिकाले बेसीसहरस्थित घरपालुवा कुकुरलाई सुरक्षित रूपमा घरमा राख्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले घरपालुवा कुकुरलाई रेबिजविरुद्धको सुई अनिवार्य लगाउन आग्रहसमेत गरेको छ । घरपालुवा कुकुरले टोकी कुनै दुर्घटना भएको खण्डमा कुकुर धनी जिम्मेवार हुने समेत बैठकले निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्