भारतमा धनाढ्य बढे

विश्वमा विशेष गरी भारतमा असमानतामा लगातार वृद्धि भइरहेको अवस्थामा गत वर्ष भारतमा धनाढ्यको संख्यामा पनि वृद्धि भएको एक अध्ययनले देखाएको छ ।
भारतमा अल्ट्रा–हाई नेटवर्थ भएकाको संख्या गत वर्ष १२ प्रतिशतले वृद्धि भई १.६० लाख पुगेको छ । भारु २५ करोडभन्दा माथिको सम्पत्ति भएकालाई यो वर्गमा समावेश गरिएको छ । यद्यपि उनीहरूको संयुक्त सम्पत्तिमा भने ५ प्रतिशतको मात्रै वृद्धि भई १५३ ट्रिलियन भारु पुगेको अध्ययनले देखाएको छ ।
कोटाक वेल्थ म्यानेजमेन्टले गरेको अध्ययनले बढ्दो असमानताप्रति भने चिन्ता व्यक्त गरेको छ । विशेष गरी अर्थशास्त्री थोमस पिकेटी र लुकास चान्सेलले प्रस्तुत गरेको २०१७ को दस्तावेजपछिको समयमा यो चिन्ता व्यक्त गरिएको हो ।
फ्रान्सेली अर्थशास्त्रीले प्रकाशित गरेको दस्तावेजले १९९१ को सुधारपछिको अवस्थामा असमानतामा वृद्धि भएको तर्क प्रस्तुत गरेको अस्फामको प्रतिवेदनले जनाएको छ । विश्वमा सिर्जना भएको ७३ प्रतिशत सम्पत्ति जनसंख्याको १ प्रतिशतमा गएको छ ।
यस किसिमको विचलनका बारेमा सोधिएको प्रश्नमा कोटाकको वेल्थ म्यानेजमेन्टका प्रमुख कार्यकारी जयदिप हंसराजले आफ्नो अध्ययन असमानताको पक्षतर्फ नगएको बताएका छन् ।
अध्ययनले आगामी पाँच वर्षको अवधिमा यस किसिमका परिवारको संख्यामा दोब्बरले वृद्धि भई ३.३० लाख पुग्ने र उनीहरूको कुल सम्पत्ति ३५२ ट्रिलियन भारु हुने जनाएको छ ।
नकारात्मक किसिमका घटनाहरू जस्तै नोटमाथिको प्रतिबन्धले जीडीपी वृद्धि ओरालो लागे बाबजुद धनाढ्यको संख्यामा वृद्धि भएको दाबी उनले गरे ।