Logo

बैंक तथा वित्तीय संस्थाका लागि राष्ट्र बैंकको एकीकृत निर्देशन

सेयर र रियल स्टेट कर्जाको जोखिमभार घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जा तथा रियल स्टेट कर्जाको जोखिम भार घटाएको छ । चालु आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा आएको व्यवस्था कार्यान्वयनका लागि आइतबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले जोखिम भार घटाएको हो ।

५० लाखभन्दा माथिको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशत रहेको जोखिम भारलाई घटाएर राष्ट्र बैंकले १२५ प्रतिशत कायम गरेको छ । यस्तै ५० लाख रुपैयाँसम्मको कर्जामा यसअघि नै १०० प्रतिशत जोखिम भार कायम गरिएको छ । रियल स्टेट कर्जालगायतको जग्गाको विकास कर्जाका लागि पनि जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको हो ।

यस्तै अर्थतन्त्रमा देखिएको सुस्तताले परिस्थितिजन्य समस्यामा परेको ऋणीहरूले बक्यौता रहेको ब्याजको १० प्रतिशत भुक्तानी गरी कर्जा पुनर्संरचना र पुनरतालिकीकरण गर्न पाउने भएका छन् । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति समीक्षामार्फत परिस्थितिजन्य समस्यामा रहेका ऋणीलाई कर्जा पुनर्संरचना र तालिकीकरण गर्न पाउने व्यवस्था गर्ने बताएको थियो । सोही आधारमा आइतबार बैंक तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गर्दै बक्यौता ब्याजको १० प्रतिशत भुक्तानी गरी कर्जा पुनर्संरचना र पुनरतालिकीकरणको व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका ऋणीहरूको हकमा, कृषि तथा वन, माछापालन, खानी, कृषि, वन र पेयपदार्थ उत्पादन (सुर्ती प्रशोधन र मदिराजन्य बाहेक) उद्योगको कर्जा पुनर्संरचना र पुनरतालिकीकरणको व्यवस्था गरेको छ । यस्तै गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरू, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडान, यातायात, भण्डार र सञ्चार, थोक तथा खुद्रा बिक्री, पर्यटन, शिक्षा एवम् स्वास्थ्य, निर्माण (सिमेन्ट, डन्डी, ईंटा/ब्लक, पाइप्स् एण्ड फिटिङ्स लगायतका उद्योगमा प्रवाहित कर्जा समेत) क्षेत्रसँग सम्बन्धित कर्जालाई पनि पुनर्संरचना र पुनरतालिकीकरण गर्न छुट दिएको हो ।

बक्यौता ब्याजको २५ प्रतिशत भुक्तानी गरेर कर्जा पुनर्संरचना र पुनरतालिकीकरण गर्न पाउने भएपनि राष्ट्र बैंकले परिस्थितिजन्य समस्यामा रहेकालाई १० प्रतिशत ब्याज भुक्तानी गरेर उक्त सुविधा लिन सकने व्यवस्था गरेको हो । ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा मात्रै पुनर्संरचना र पुनरतालिकीकरण गर्न पाउने व्यवस्था गरेको छ । यस बाहेकका अन्य सबै क्षेत्रमा प्रवाह भएका ५ करोडसम्मका कर्जालाई समेत उक्त सुविधा पाउने भएका छन् ।

कर्जाको पुनरतालिकीकरण र पुनर्संरचना गर्दा २०८० चैत मसान्तभित्र गरिसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्रै पुनरतालिकीकरण र पुनर्संरचना गर्न सकिने राष्ट्र बैंकले जनाएको हो । यसरी पुनरतालिकीकरण र पुनर्संरचना गरिएका कर्जाहरूमा पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । यसरी पुनरतालिकीकरण र पुनरर्संरचना गरिएको कर्जाहरूलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै केन्द्रीय बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकले नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन दरलाई ४.५ प्रतिशतबाट ३ प्रतिशतमा झारेको छ । यस्तै २०८० पुसपछि ऋणपत्रको ५० प्रतिशत निक्षेपमा गणना गर्नसक्ने व्यवस्था कार्यान्वयन भएको छ । हाल ऋणपत्रको शतप्रतिशत निक्षेपमा गणना गर्दै आएकोमा २०८० पुस मसान्तपत्र निक्षेपमा गणना गर्न नपाइने व्यवस्था थियो ।

२०८१ असार मसान्तसम्मको लागि ५० प्रतिशत निक्षेपमा गणना गर्न पाइने व्यवस्था भएको हो । कात्तिकमा रुकुम पश्चिम र जाजरकोटमा भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरूको पुनर्निर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेको परिवारलाई प्रदान गर्ने आवासीय घरकर्जा आधार दरमा २ प्रतिशत प्रिमियमा मात्रै लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तो कर्जा २५ लाखसम्मको हुनेछ ।

भूकम्प पीडितको कर्जाको हकमा कर्जा र त्यसको धितो सुरक्षण बीचको अनुपात अन्य घर र आवाश कर्जाको भन्दा न्यूनतम १० प्रतिशत विन्दु थप गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । यस्तो अनुपातको सीमा अधिकतम शतप्रतिशतसम्म कायम गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट २ वर्षसम्म ४० प्रतिशत रकम भूकम्प प्रभावित क्षेत्रको संरचना पुनर्निर्माणमा खर्च गर्नसक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्