Logo

प्राकृतिक स्रोत साधनमा दुई स्थानीय तहबीच विवाद

वीरगन्ज– प्राकृतिका स्रोत साधनको विषयमा पर्साका दुई स्थानीय तहबीच विवाद देखिएको छ । पटेर्वा सुगौली गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाबीच जमुनिया खोलाको प्राकृतिक स्रोत उखनन्को विषयलाई लिएर विवाद भएको हो ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाले क्षेत्राधिकार मिचेर जमुनिया खोलाको नदीजन्य पदार्थ उत्खनन्को ठेक्का लगाएपछि दुई पालिका बीचको विवाद थप चुलिएको हो । राज्य पुनर्संरचनाअघि मधुवन मथवल गाविसको क्षेत्रमा पर्ने जमुनिया खोला सीमांकन गर्दा सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर १ मा परेको छ । तर, पटेर्वा सुगौलीले भने क्षेत्राधिकार मिचेर अनाधिकृत रूपमा खोलाको ठेक्का लगाएको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले बताए ।

राज्य पुनर्संरचना अघि तत्कालीन मधुवन मथवल गाविस सखुवा प्रसौनी गाउँपालिकामा समायोजन भएकाले उक्त क्षेत्रको सम्पूर्ण प्राकृतिक स्रोत साधन स्वतः सखुवा प्रसौनी गाउँपालिकामा परेको छ । पटेर्वा सुगौलीले अनाधिकृत रूपमा ठेक्का लगाएपछि सखुवा प्रसौनी गाउँपालिकाले आपत्ति जनाएको हो । यसअघि २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकालमा पनि जमुनिया खोलाको विषयमा विवाद भएपछि सीमा निर्धारण नभएसम्म सखुवा प्रसौनी गाउँपालिकाले ६५ प्रतिशत र पटेर्वा सुगौलीले ३५ प्रतिशत प्राकृतिक स्रोत साधनको राजस्व बाँडफाँट गर्ने सहमितपछि विवाद समाधान भएको थियो ।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यादवका अनुसार त्यस बेलाको ६५ प्रतिशत राजस्वबाट हुन आउने ४४ लाख ६५ हजार रुपैयाँ रकम पनि अहिलेसम्म पटेर्वा सुगौली गाउँपालिकाले दिएको छैन । दुई पालिकाबीच सीमांकनको विवाद भएपछि सीमा निर्धारण गरेर मात्रै खोलाको नदीजन्य पदार्थ उत्खनन्को ठेक्का लगाउने सहमति थियो । तर, पटेर्वा सुगौली गाउँपालिका सखुवा प्रसौनीसँग पनि कुनै सहमति र छलफल नै नगरी आफूखुसी खोला उत्खनन्को ठेक्का लगाएको हो ।

प्राकृतिक स्रोत परिचालनमा देखिएको विवाद अदालतसम्म पुगेको छ । यसअघि पनि उक्त विषयको विवादमा सीमांकन नगरी ठेक्का नलगाउने भनिएको थियो । तर, पटेर्वा सुगौली गाउँपालिकाले भने आफूखुसी जमुनिया खोलाको ठेक्का लगाएको छ । यस पटकको विवाद पनि अदालतमा पुगेको थियो । उक्त मुद्दामा अदालतले पहिले सीमा निर्धारण गर्न नसक्ने बताए पनि पछि पटेर्वा सुगौलीकै पक्षमा हुने गरी कानुनअनुसार गर्नु भनेर निर्णय गरेपछि पटेर्वा सुगौली गाउँपालिका अदालतको निर्णयमा असन्तुष्टि व्यक्त गरेको छ ।

अदालतले पनि आफूहरूमाथि अन्याय गरेको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष वासुदेव महतो थारुले बताए । तत्कालीन गाविसको नक्साका सबै प्रमाण सखुवा प्रसौनी गाउँपालिकासँगै रहेको र सखुवा प्रसौनीकै क्षेत्र पर्ने बलियो आधार भए पनि जबरजस्ती पटेर्वा सुगौली गाउँपालिकाले खोलाको ठेक्का लगाएको भन्दै आफूहरूले कुनै पनि हालतमा जमुनिया खोलाको स्रोत लान नदिने बताए । उनले पटेर्वा सुगौली गाउँपालिकाले जबरजस्ती गर्न खोजे कडा प्रतिवाद गर्ने र त्यसबाट उत्पन्न परिणामको दोषी पटेर्वा सुगौली नै हुने उनले चेतावनी दिए ।

सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालले पनि पटेर्वा सुगौलीले जमुनिया खोलामा लगाएको ठेक्का अवैध रहेको बताए । स्थानीय शासन सञ्चालन ऐन २०७४ मा प्राकृतिक स्रोत साधन परिचालनमा जुन पालिकामा उत्खनन् गरिने हो त्यही पालिकाले स्रोत साधनको शुल्क लिन पाउने उल्लेख गरिएको स्पष्ट पार्दै अहिले पटेर्वा सुगौली गाउँपालिकाले क्षेत्राधिकार मिचेर अनाधिकृत ठेक्का लगाएको बताए ।

तत्कालीन जिल्ला विकासले पनि वातावरणीय परीक्षण मूल्यांकन गर्दा मधुवन मथवल गाविसबाट गर्ने गरिएको पछि तीन तहको सरकार गठनपछि त्यसलाई गादी खोलाको नामले प्राकृतिक स्रोत साधनको उत्खनन् गरेको बताए । पटेर्वा सुगौलीले लगाएको ठेक्का वीरगन्ज–१२ को सीताराम कन्स्ट्रक्सनले मूल्य अभिवृद्धि करबाहेक ६० लाखमा सकारेको छ ।

पटेर्वा सुगौलीका अध्यक्ष दिनेश चौधरीले भने जिल्ला समन्वय समितिमा सबै सरोकारवाला निकायसँग छलफल गरी वातावरणीय प्रभाव मूल्यांकन गरेर नै प्रकृया पुर्‍याएर ठेक्का लगाएको दाबी गरेका छन् । जिल्ला समन्वय समितिमा संयोजक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय लगायतका सरोकारवाला निकायलाई राखेर छलफल गरी प्रदेश वन मन्त्रालयबाट स्वीकृति लिएर ठेक्का लगाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्