Logo

पर्यटकीय गन्तव्यको ब्राण्डिङ

काठमाडौं- लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुले आ–आफ्नो पालिकाको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय गन्तव्यको ब्राण्डिङ तथा प्रचार प्रसार गर्ने भएका छन् । पालिकाहरुको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण आधार भएकोले पालिकाहरुले पर्यटकीय गन्तव्यको ब्राण्डिङ गर्ने बताएका हुन् ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सह लगानीमा सञ्चालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय, लुम्बिनी प्रदेशको समन्वयमा लुम्बिनी प्रदेशको राजधानी भालुबाङमा पर्यटन रणनीति र कार्य योजना तर्जुमा कार्यशाला सम्पन्न भएसँगै पालिकाहरु सो अभियानमा जुट्ने भएका हुन् ।

लुम्बिनी प्रदेशका २१ वटा स्थानीय सरकारअन्तर्गत जनप्रतिनिधि तथा पर्यटन शाखा, योजनासँग सम्बन्धित कर्मचारीहरुको क्षमता वृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्य योजना तर्जुमा गर्न सहयोग पुर्‍याउने उद्देश्यले भालुुबाङमा कार्यशाला आयोजना गरिएको थियो । कार्यशालामा पालिकाहरुको पर्यटन नीति, रणनीति तथा कार्ययोजना निमार्ण, पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ,बजारीकरण तथा पर्यटन प्रवर्द्धनका लागि आमसञ्चार माध्यमहरुसंगको सहकार्य लगायतका विषयवस्तुमा छलफल गरेका थिए ।

कार्यशालामा सरकारका पूर्व सहसचिव तथा सहजकर्ता रमेश कुमार अधिकारीले कार्यशालाबाट हरेक पालिकाले आ–आफ्नो पालिकाको पर्यटन रणनीति तथा कार्य योजना निर्माणमा सहयोग पुगेको बताए । नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले पर्यटन प्रवर्द्धन, ब्रान्डिङका विषयमा प्रस्तुतीकरण गर्दै स्थानीय तहमा भएका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्दै यसको बजारीकरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्