महिला उद्यमीले बनाए सुविधा केन्द्र

बेनी नगरपालिका– ५ पुलाचौरका महिला उद्यमीले साझा सुविधा केन्द्र स्थापना गरेका छन् ।
पुलाचौर स्विटर उत्पादक संघमा आबद्ध महिलाहरूले सिकेको सीपलाई निरन्तरता दिँदै सामूहिक ब्यवसाय गर्नका लागि साझा सुविधा केन्द्र स्थापना गरेका हुन् । समूहले ६ लाख ९५ हजार रुपैयाँको लागतमा भवन निर्माण गरेको जनाएको छ । तीन लाख ४३ हजार रुपैयाँ ऋण रहेको समूहकी सचिव प्रभा सुवेदीले बताइन् । गरिबी निवारण कोषको सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रद्वारा सञ्चालित द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनाले पुलाचौरका उद्यमीलाई ऊनीका कपडा बुन्ने मिटिड मेसिनलगायत १२ लाख ३० हजार रुपैयाँ बराबरको सामग्री र कच्चा पदार्थ सहयोग गरेको अध्यक्ष शान्ति थापाले बताइन् ।
संघ अन्तर्गतका तीनवटा समूहमा आबद्ध ७६ जनामध्ये पहिलो चरणमा ९ जनालाई तीन महिने स्विटर, गलबन्दी, मखलर, हाइनेक, स्कुल पोसाक, टोपी, कपडा बुन्ने तालिमसमेत प्रदान गरिएको छ । पहिलो चरणको तालिम लिएकालाई क्षमता विकास, नयाँलाई तालिमका साथै कच्चा पदार्थको आवश्यकता रहेको उद्यमीहरूले बताएका छन् ।
सो भवनमा सामूहिक रुपमा कपडा बुनेर बिक्री गरी आयआर्जन गर्ने संघको योजना रहेको छ । यसअघि घर भाडामा लिएर सीप सिक्ने र सामान बनाउने गरेका उद्यमीहरूलाई आफ्नै भवन बनेपछि सजिलो भएको छ । साझा सुविधा केन्द्रको तीन कोठे भवनको प्रदेशसभा सदस्य बिनोद केसी र गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले उद्घाटन गरेका थिए ।