Logo

न्यूनतम सेवा मापदण्डमा बर्दिया अस्पताल प्रदेशमा पहिलो

नेपालगन्ज– पछिल्लो दश वर्षदेखि उत्कृष्ट अंक ल्याएर प्रथम र द्वितीय हुँदै आएको बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्डमा यस वर्ष लुम्बिनी प्रदेशमा प्रथम भएको छ ।

अस्पतालका निर्देशक डा. सुभाष पाण्डेका अनुसार आर्थिक वर्ष २०७९/०८० को न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा बर्दिया अस्पताल पहिलो भएकोे हो । ९३९ वटा विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा अस्पतालले एक सय मा ९६ अंक ल्याएको निर्देशक पाण्डेले बताए । प्रदेशमा पहिलो भएको अस्पताल देशभरका ५० बेड क्षमता रहेका अस्पतालको मूल्यांकनमा भने दोस्रो हुन सफल भएको छ । भक्तपुर अस्पताल ९७ अंकसहित पहिलो स्थानमा रहेको बताइएको छ ।

अस्पतालको प्रशासन, व्यवस्थापन, क्लिनिकल उपचार, विभिन्न सहयोग कार्यक्रम, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, निःशुल्क उपचार सेवा, फोहरमैला व्यवस्थापनलगायतलाई आधार मानेर मूल्यांकन गर्ने गरिएको छ । जनशक्तिको अभावका बीच अस्पतालले स्वास्थ्य सेवा, सरसफाइ, व्यवस्थापन, इमरजेन्सी, बहिरंग सेवा, शल्यक्रिया, फार्मेसी, प्रयोगशालालगायत बेरुजुसमेत नदेखिएकाले प्रथम भएको अस्पताल प्रमुख पाण्डेको भनाइ छ ।

अस्पतालले व्याप्त समस्याका बीचपनि विभिन्न रोगको सफल शल्यक्रियाका साथै अत्याधुनिक प्रयोगशाला, प्रसुती सेवा, २४ औं घण्टा इमरजेन्सी सेवा सञ्चालन गरिहरको छ । प्रभावकारी उपचार सेवा भएको भन्दै बिरामीहरु जिल्लामै उपचार गराउने गरेका छन् । हाल बहिरंग सेवामा दैनिक ३५० बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा स्थायी, अस्थायी र करारका गरि १० जना डाक्टरले सेवा दिई राखेका छन् । ६ वर्षअघि ५० शय्याको अस्पताल सञ्चालन भएपनि पुरानै दरबन्दीमा काम गर्नुपर्ने बाध्यता रहेको अस्पतालका स्वास्थ्यकर्मीको भनाइ छ । जिल्ला अस्पतालमा आइसियुका लागि दक्ष चिकित्सकसहित स्टाप नर्सको आवश्यकता रहेको छ । यो सुविधा पाउन साथ जटिल खालका बिरामी अन्यत्र जानु पर्ने बाध्यता नहुने चिकित्सक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्