Logo

भत्किएको काठेपुलमा जोखिमपूर्ण यात्रा

जुम्ला– पातारासी गाउँपालिका–४ लुमगाउँस्थित काठेपुल पुल भत्किएको करिब दुई साता बढी भयो । पुल भत्किएपछि पातारासीको उपल्लो क्षेत्र वडा नं. १, २ र ३ का दर्जनबढी गाउँका नागरिक आवतजावतमा सास्ती खेप्दै आएका छन् । यातायातका साधन ठप्प भएको छ भने भत्किएकै काठेपुलमा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

तीनवटा वडाका तल्फी, पेरे, छुमचौर, गडीगाउँ लगायतका दर्जनबढी गाउँका नागरिकले भत्किएको पुलमा जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो पोखेका छन् । गाउँपालिकाले पुल मर्मतमा ढिलाइ गरेको स्थानीयको दुःखेसो छ । भत्किएको पुलमा यात्रा गर्दा घोडा, यात्रुबाहक बस, मोटरसाइकल लगायतका साधन फसेका छन् भने नागरिक जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।

पातारासीको उपल्लो क्षेत्रलाई सदरमुकाम तथा पालिका केन्द्रसँग जोड्ने एकमात्र लुमको काठेपुल भत्किएपछि विगत दुई सातादेखि स्थानीयबासी जोखिमपूर्ण यात्रा गरिरहेका छन् । गाउँका कुनाकन्दरासम्म मालबाहक तथा यात्रुबाहक सवारी पुग्ने पातारासीका नागरिक आजभोलि पैदल यात्रा गर्न विवश छन् । विकास निर्माणका सामग्रीदेखि दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । जवा नदीमाथिको काठेपुल वर्षेनी भत्किने र पालिकाले पाँचदेखि १० लाख विनियोजन गरी मर्मत गरिँदै आएको छ ।

तर दीर्घकालीन समस्या समाधान हुनेगरी पक्की पुल निर्माणमा भने ढिलाइ हुँदै आएको छ । दीर्घकालीन समाधानका लुममा पक्की पुल आवश्यक भए पनि जग्गा विवाद, बजेट अभावलगायतका कारण पक्की पुल निर्माण कार्य विलम्ब हुँदै गएको छ । काठेपुल भत्किएपछि पातारासीका उपल्लो क्षेत्रका हजारौं नागरिक प्रभावित भएका छन् । नियमित आवतजातदेखि दैनिक उपभोग्य तथा निर्माण सामग्री ओसारपोसारमा समेत समस्या भएको छ ।

पुल मर्मत गर्न पाँच लाख विनियोजन
काठेपुल भत्किएको भोलिपल्ट नै अनुगमन गरी मर्मतका लागि बजेट विनियोजन गरिएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् । प्राविधिक टोली लिएर आफै भत्किएको पुल हेर्न पुगेकी थिएँ । उनले भनिन्, ‘पुल मर्मतका लागि तत्काल पाँच लाख बजेट छुट्याएका छौं । उपभोक्ता समिति निर्माणसमेत गरिएको छ । अहिले काठ काट्ने क्रम अन्तिम चरणमा छ । अब केही दिनमै पुल सञ्चालनमा आउने छ ।’

उक्त क्षेत्रमा पक्की पुल निर्माण भइसक्ने हो । तर स्थानीय जग्गाको मूल्य अस्वाभाविक तोकेपछि कुरो नमिल्दा पक्की पुल निर्माणमा ढिलाइ भएको छ । यद्यपि पहल निरन्तर रहेको उपाध्यक्ष रोकायाको भनाइ छ । उनले थपिन्, ‘विकास भन्ने बित्तिकै हुँदैन । समस्या भएको, जोखिम बढेको हामीले बुझेका छौं । त्यही भएर हामी मर्मतका लागि निन्तर जुटेका छौं । तर जनता सामाजिक सञ्जालमा आलोचना गर्छन् ।’

पातारासी गाउँपालिकाका इन्जिनियर नविन शाहीले पुल पुनर्निर्माणका लागि ठूलो मात्रामा काठ चाहिने भएकाले स्थानीय निरन्तर लागिपरेको बताए । काठ काठ्ने काम अन्तिम चरणमा पुगेको र केही दिनमै पुल सञ्चालनमा आउने उनले बताए । जग्गा विवादका कारण पक्की पुल निर्माण अघि बढ्न सकेको छैन ।

पूर्वाधार विकास कार्यालयले पक्की पुल बनाउने जिम्मा लिए पनि जग्गा टुंगो नलाग्दा समस्या भएको इन्जिनियर शाहीको भनाइ छ । पूर्वाधारले डीपीआरसमेत गरिसकेको छ । तर निर्माण अघि बढ्न सकेको छैन । यता पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम देवकोटाले बजेट सुनिश्चितता नभएकाले कामअघि बढाउन नसकिएको बताए ।

चालु आर्थिक वर्षमा लुममा पक्की पुल बनाउन एक करोड ८० लाख विनियोजन भएको छ । उनले भने, ‘चालु आवमा विनियोजित बजेटले मात्र काम अघि बढाउने अवस्था छैन । पुल निर्माणका लागि लागत करिब सात करोड लाग्ने अनुमान छ । तर स्रोत सुनिश्चिताका लागि भौतिक पूर्वाधार मन्त्रालयमा फाइल धेरै पहिले पठाएर माग गरिए पनि हालसम्म स्वीकृत नहुँदा काम अघि नबढेको हो ।’

स्रोत सुनिश्चित हुने बित्तिकै जग्गा टुंगो लगाएर अघि बढ्ने उनको भनाइ छ । तर केही महिनाअघि जुम्ला पुगेका कर्णाली प्रदेशका अर्थमन्त्री बेदराज सिंहले जग्गाको टुंगो लगाएर पठाएको खण्डमा बजेट सुनिश्चत हुने आश्वासन दिएका थिए । तर जग्गादाताले भने जग्गा दिन आनकानी गरेको पातारासी गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्