अलैंची भित्र्याउँदै किसान «

अलैंची भित्र्याउँदै किसान

तेह्रथुम– पर्वी पहाडी जिल्लाका किसानहरुलाई अलैंची भित्र्याउने चटारो सुरु भएको छ । दशैं तिहारलगायतका चाडपर्वमा खर्च जुटाउनका लागि किसानले समयमै अलैंची विक्रि गर्ने गरेका छन् । मूल्यमा गिरावट आएपनि यस वर्ष राम्रो मूल्य पाउने आशमा अलैंची भित्र्याउन किसानहरु व्यस्त भएका छन् । तेह्रथुमको धेरैजसो क्षेत्रमा किसानहरुले अलैंची खेती गर्दै आएका छन् ।
केहीवर्ष अघि १ लाख ५ हजार रुपैयाँ प्रतिमन पुगेको अलैंचीको मूल्य खस्किँदा किसान चिन्तित पनि भएका छन् । थोरै लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले अलैंचीप्रति किसानको आकर्षण बढेको हो । वैदेसिक रोजगारीका लागि विभिन्न मुलुकमा गरेको श्रम गाउँमै गरे राम्रो आम्दानी हुने सोचका साथ अलैंची खेती सुरु गरेको छथर गाउँपालिका ६ का कमल मगरले बताए ।
कम लगानीका धेरै आम्दानी लिन सकिने अलैंचीको मूल्य गिरावट भएपनि खेती बिस्तार हुने क्रम भने रोकिएको छैन । मूल्य राम्रो नभएकाले सोचे जस्तो आम्दामी लिन नसकेपनि अन्नबाली भन्दा राम्रो आम्दानी भएको मगरले बताए ।
किसानहरुले पाखो बारीदेखि लिएर करेसाबारीसम्म अलैंची खेती लगाउँदै आएका छन् । खाली जमिन तथा ओसिलो ठाउँमा अलैंची बिस्तार गर्दै आएको किसानहरुले बताउने गरेका छन् । ५ रोपनीदेखि ५० रोपनी क्षेत्रफलमा लगएको अलैंचीले अन्नबाली भन्दा राम्रो आम्दानी गर्ने भएकाले यसैप्रति आकर्षित भएको छथर ६ सुदापका किसान जीवन मगर बताउँछन् ।
७ सय २३ हेक्टर क्षेत्रफलमा अलैंची खेती गर्दै आएका किसानको समस्या समाधनका लागि सरकारले मूल्य निर्धारण गरी बजार व्यवस्थापन गर्न सके मात्र राहत मिल्ने उनीहरुको भनाइ छ ।
हाल अलैंचीको बजार मूल्य २८ हजारदेखि ३२ हजार रुपैयाँमा प्रतिमन खरिद बिक्री हुँदै आएको छ । जिल्लाको ईवा, ह्वाकु, सक्रान्ति, खाम्लालुङ, सम्दु, इसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती, सोल्मा, सुङनाम फुलेक दाँगपा,बसन्तपुर सुदाप आङदिमलगायतका स्थानमा अलैंची खेती लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्