विश्वासको कसीमा जाँचिदै ठूला टेक कम्पनी «

विश्वासको कसीमा जाँचिदै ठूला टेक कम्पनी

गुगल, एप्पल, फेसबुकजस्ता ठूला अमेरिकी टेक कम्पनीलाई विश्वास भंग गरेको कानुन (एन्टिट्रस्ट ल) र उपभोक्ताहरूलाई हानि पु-याएको कानुन अन्तर्गत अर्बौं डलरको जरिवाना तोक्ने र ती कम्पनीहरू विरूद्धको अनुसन्धानलाई तीव्र बनाउने कामको जिम्मेवारी पाएकी शक्तिशाली महिला माग्रेथ भेस्टेजर हुन् ।
यस्ता ठूला टेक कम्पनीहरूका आलोचकका लागि युरोपियन युनियनको प्रतिस्पर्धा आयुक्तको जिम्मेवारी पाएकी भेस्टेजर र उनका सहयोगी वकिलहरू हीरोको रूपमा रहेका छन् । तर अहिले केही कर्पाेरेट अफिस र अमेरिकाको राष्ट्रपति कार्यालयका लागि शैतानकी हजुरआमा बनेकी छिन् । उनको बारेमा अमेरिकी राष्ट्रपतिले व्यक्त अभिव्यक्तिले त्यसको पुष्टि गर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “उनी अमेरिकालाई घृणा गर्छिन् । मैले उनी जस्तो खराब मान्छे अहिलेसम्म देखेको छैन ।” तर पनि फेरि गएको मंगलबार उनी शक्तिशाली बनेर आएकी छिन् । युरोपियन युनियनमा उनको हैसियत शक्तिशाली जारको जस्तो हुन पुगेको टिप्पणी गर्नेहरूको भनाइ छ ।
उनी त्यतिखेर शक्तिशाली बन्न पुगेकी हुन् जतिखेर गुगल, एप्पल, अमेजन र फेसबुकका अर्बौ उपभोक्ताहरूको तर्फबाट सार्वजनिकरूपमा यी ठूला टेक कम्पनीले उपभोक्ताको गोपनीयता, दिनुपर्ने सूचना नदिने, उपभोक्ताका डेटा व्यवस्थापन उपभोक्ता हितमा नगरेको आक्रोश पोखिरहेका छन् । ब्रसेल्सस्थित एन्टिट्रस्टका एक भेट्रान वकील थमस भिन्जे भन्छन्, “भेस्टेजर ठूला टेक कम्पनीहरूका लागि पृथ्वीकै सर्वाधिक शक्तिशाली नियामक बनेर आएकी छिन् । उनी भन्दा अर्को कुनै नियामक विश्वमा छैन ।”
भेस्टेजरलाई बलियो पारेर युरोपियन युनियनले विश्वमा टेक क्षेत्रका सर्वाधिक सक्रिय नियामक बन्ने र विश्व अर्थतन्त्रमा आफ्नो भूमिका बलियो पार्ने महत्वाकांक्षा बोकेको देखिएको मटिना स्टेभिस ग्रिन्डेफले न्यूयोर्क टाइम्समा एक लेखमार्फत् उल्लेख गरेकी छिन् । युरोपियन अधिकारीहरूले टेक क्षेत्रमा विश्वको विश्वसनीय नियामकको रूपमा बनाउन खोजेको देखिन्छ । युरोपियन युनियनको यो नियामकको समकक्षी अमेरिकी नियामक निकायले यस विषयमा कामै नगरेको आलोचना खेपिरहेको छ । फेसबुकले डिजिटल मुद्रा लिब्रा ल्याएजस्तै ठूला टेक कम्पनीहरूले वित्तीय क्षेत्रमा आफ्नो शाखाहरू खोलिरहेको अवस्थामा नियामक निकायहरूलाई तिनका गतिविधि नियाल्न कठिनाइ हुनेछ । यो क्षेत्र साह्रै जटिल र अपारदर्शी भएकाले टेक नियामकहरूलाई निगरानी गर्न समस्या भइरहेको विज्ञहरूको बुझाइ छ ।
भेस्टेजरलाई डिजिटल क्षेत्रको नियमन र एन्टिट्रस्ट कानुनको कार्यान्वयन दुबै भूमिका दिइएको छ । टेक कम्पनीहरू प्रति आक्रामक नियमन हुनुपर्ने उनका समर्थकहरूका अनुसार डिजिटल वर्चस्वको यो नयाँ युगमा उनलाई दिइएको यो भूमिका राम्रो छ । फेसबुक जस्ता कम्पनीहरूद्वारा संकलन गरिएको ठूलो परिमाणको व्यक्तिगत सूचनाप्रति संकेत गर्दै अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिकी न्याय विभागको एन्टिट्रस्ट शाखाको नीतिगत विषयमा सल्लाह दिने पूर्व प्रमुख जीन किम्मेलम्यान भन्छन्, “प्रतिस्पर्धा र बजार शक्तिको विश्लेषण गर्ने नियामकका लागि ठूलो परिमाणको डेटा संकलन महत्वपूर्ण हुनुपर्ने विषयमा युरोपले स्पस्ट संकेत गरिरहेको छ ।” इन्टरनेटमा उपभोक्ताले खोज्ने विषय वा समाचार समाग्री विज्ञापन खोज्ने गतिविधिहरूलाई नियालिरहेको अल्गोरिदमका बारेमा उपभोक्ता र नियामक निकाय दुबैलाई थाहा पाउन गाह्रो छ । यस्तोमा भेस्टेजरलाई मिलाउने र कार्यान्वयन गर्ने दुबै अधिकार दिँदा हितको द्वन्द्व हुन सक्ने विषयमा युरोपियन युनियनले चासो दिनुपर्ने तर्क पनि सार्वजनिक भएको छ ।
भेस्टेजरको निर्देशनमा युरोपियन नियामक निकायले विगतका वर्षहरूमा गरी गुगललाई ९ अर्ब अमेरिकी डलर बराबरको जरिवाना तोकिसकेको छ । सन् २०१७ मा उनको कार्यालयले गुगललाई २.७ अर्ब अमेरिकी डलरबराबरको जरिवाना तोक्यो । यो त्यतिखेरको रेकर्ड जरिवाना थियो । गुगलले आफ्नो अनलाइन प्रतिस्पर्धीलाई अन्याय गरेको भनेर यो जरिवाना तोकेको थियो । गत वर्ष गुगललाई मोबाइल फोन बजारमा एन्ड्रोइड प्लेटफर्मको सफ्टवेयरको दुरूपयोग गरेको भनेर ५.१ अर्ब अमेरिकी डलरको जरिवाना भेस्टेजरको कार्यालय तोक्यो । यो वर्ष गुगललाई १.७ अर्ब अमेरिकी डलर बराबरको जरिवाना तोकेको हो । यसैगरी एप्पललाई १४.५ अर्ब अमेरिकी डलर कर फिर्ताको रूपमा आयरल्यान्डलाई र फेसबुकलाई १२ करोड २० लाख जरिवाना ग-यो । भेस्टेजरले ह्वावेलाई पनि नियालिरहेकी छिन् । टेक कम्पनीहरूको बारेमा अमेरिकी निकायहरू युरोपियन युनियनको तुलनामा कमजोर देखिन्छन् । यससन्दर्भमा युरोपले अगुवाइ गरेको देखिन्छ । अमेरिकाको न्याय विभाग र संघीय व्यापार आयोग दुबैले ठूला टेक कम्पनीहरूको गतिविधिलाई युरोपियन युनियनको अनुशरण गरी छानबिन अगाडि बढाएका छन् । अमेरिकी सांसदहरूले पनि ठूला टेक कम्पनीहरूको गतिविधिलाई गम्भीररूपमा हेनुपर्ने आह्वान गरेका छन् ।
नियामक भेस्टेजरलाई शक्तिशाली बनाइएको विषयमा विभिन्न टिकाटिप्पणी अन्तर्राष्ट्रियरूपमा भइरहेको भएपनि उनको कार्य अनुशरणनीय रहेको छ । उनले पाएको अधिकारको दुरूपयोग हुन सक्ने सम्भावनालाई इन्कार नगरिए पनि उनको नेतृत्वमा युरोपियन नियामक निकायको अनुशरण अमेरिकामा हुन खोज्नु भनेका सूचना प्रविधिको क्षेत्रमा नियमनकारी निकाय र तिनलाई दिइने अधिकारबारे समयमै ध्यान पु-याउने देखिन्छ । शुरूवातमा उदीयमान सूचना प्रविधिको विकासमा ध्यान नदिए अर्थतन्त्रको विकासका लागि बनाइने नियमहरू परम्परागत हुन पुग्छ । समकालीन र उदीयमान विश्वको विकाससँग जोडिने नेपाली अर्थतन्त्रका यस्ता चासोलाई बेवास्ता गर्दा नयाँ नेपालको भन्दा पुरानो नेपालमै रूमलिइने खतरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्