बाढीले खुदीको उत्पादन बन्द «

बाढीले खुदीको उत्पादन बन्द

लमजुङ-उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ स्थित खुदी जलविद्युत आयोजनामा बाढीका कारण उत्पादन बन्द भएको छ । लेते खोलामा आएको बाढीले चार मेगावाटको जलविद्युत आयोजनामा क्षति पु-याएपछि आयोजनाको उत्पादन ठप्प भएको हो ।
बाढीले आयोजनाको पावरहाउस पुरिएपछि विद्युत उत्पादन ठप्प भएको आयोजना प्रमुख दिपक भण्डारीले जानकारी दिए । मंगलबार राति आएको बाढीले ४ मेगावाट क्षमताको खुदी जलविद्युत आयोजनाको पावरहाउसमा रहेका टर्वाइनलगायतका सबै मेसेनरी सामग्री पुरेको हो ।
वर्षासँगै आएको बाढी सुरक्षा बार भत्काएर सिधै पावरहाउस पसेको र आयोजनाको संरचनामा क्षति पु-याएको आयोजना प्रमुख भण्डारीले बताए । आयोजनाको पावरहाउसमा बाढी पसेपछि कर्मचारीहरु ज्यान जोगाएर भागेको समेत भण्डारीले बताए ।
बाढीले पावरहाउसमा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति पुगेको आयोजनाले जनाएको छ । बाढीले पेनस्टक पाइपसमेत बगाएको छ । आयोजना मर्मत गर्न करिब तीन महिना लाग्ने आयोजनाले जनाएको छ ।
२०६३ पुस १५ बाट सञ्चालनमा आएको यो आयोजनामा ०६५ भदौ १२ मा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो । त्यसपछि पनि पटक–पटक खुदी खोलमा आएको बाढीले आयोजनामा क्षति पुग्दै आएको छ । करिब ६० करोड लागतमा निर्माण भएको सो आयोजनामा बुटवल पावर कम्पनीको ६०, एचसीटीएचआइ क्यानडाको २५ र लमजुङ विद्युत विकास कम्पनीको १५ प्रतिशत लगानी रहेको छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्