प्रशिक्षण केन्द्र बेचियो «

प्रशिक्षण केन्द्र बेचियो

सिन्धुली-विद्यार्थीसँग नियमविपरीत शुल्क लिएको प्राविधिक प्रशिक्षण केन्द्र सिन्धुली बिक्री भइसकेको पाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यता प्राप्त केन्द्र सञ्चालक समिति अध्यक्षले बिक्री गरेको पाइएको हो ।
केन्द्रमा अनमी र सीएमए पढिरहेका विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले बढी लिइएको रकम फिर्ता गर्न माग गरेपछि सञ्चालक समितिका अध्यक्ष सुबोध ढकालले अर्को संस्थालाई केन्द्र बिक्री गरेका हुन् । विद्यार्थीहरूले पैसा फिर्ता गर्न दबाब दिएपछि ढकाल २० दिनदेखि कार्यालयमा नआई बेखबर भएका थिए । उनले प्रशिक्षण केन्द्र होम इन्टरनेसनल कलेज तथा नागरिक हस्पिटल भक्तपुरलाई बिक्री गरेको खुलासा भएको छ । ढकालले गत शुक्रबार नै प्रशिक्षण केन्द्र बिक्री गरेको र आइतबारदेखि आफूहरूले काम सुरु गरिसकेको विद्यालयका प्रिन्सिपल खेमचन्द्र यादवले बताए । प्रिन्सिपल यादवले शुल्क निर्धारण समितिले ८ वर्ष अगाडि तोकेको शुल्कले विद्यालय अहिलेको अवस्थामा सञ्चालन गर्न नसकिने भएकाले शुल्क बढाइएको हुनसक्ने बताए । पहिलेकै शुल्कले अहिले केन्द्र सञ्चालन गर्न सकिन्छ भन्ने मान्यता राख्ने शुल्क निर्धारण समितिको गल्ती भएको यादवले बताए ।
“कर्मचारी, शिक्षक, विद्यालयको घरभाडा सबै बढेको छ,” प्रिन्सिपल यादवले भने, “विद्यालयको आयस्रोत भनेकै यही शुल्क हो, ८ वर्षअघि १० हजार रहेको घर भाडा अहिले ६० हजार पुगेको छ । त्यसको व्यवस्थापन गर्न पनि केन्द्रले बढी शुल्क नलिए कसरी जुटाउनु ?” मूल्य निर्धारण समितिको गल्तीका कारण यो संस्था घाटामा रहेको भन्दै उनले यसरी शुल्क लिँदा विद्यालय प्रशासनले विद्यार्थीलाई जानकारी गराउनु पर्ने उनले बताए ।
केन्द्रले अनमी पढ्ने ४० जना विद्यार्थीबाट प्रतिविद्यार्थी ४० हजारका दरले १६ लाख रुपैयाँ र सीएमए पढ्ने ४० जना विद्यार्थीबाट प्रतिविद्यार्थी ३२ हजार रुपैयाँका दरले १२ लाख ८० हजार रुपैयाँ बढी लिएको देखिन्छ ।
सीटीईभीटीले देशभरि आफूले सम्बन्धन दिएका शिक्षण संस्थामा अनमी पढ्न एक लाख २० हजार र सीएमएका लागि एक लाख आठ हजार रुपैयाँ शुल्क लिन पाउने नियम बनाएको भए पनि त्यसको अवज्ञा गर्दै अतिरिक्त पैसा लिएको देखिन्छ । तर पनि केन्द्रले भने मूल्य निर्धारण समितिको २० प्रतिशतसम्म शुल्क बढाउन सक्ने भन्ने नियमकै आधारमा बढी शुल्क लिएको दाबी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्