अवैध सामान बरामद «

अवैध सामान बरामद

रुपन्देही- भन्सार छलेर ल्याएको १ हजार बढी पिस टप्स ( लेडिज कुर्था) सशस्त्र प्रहरी राजस्व भन्सार गस्ती टोली डन्डा भैरहवाले बरामद गरेको छ । बुधबार बेलुका सिद्धार्थनगर नगरपालिका–१ डण्डा पुलनजिकैको भन्सार सुरक्षा गस्तीले चेकजाँचको क्रममा बा ७ च ५९५४ नम्बरको मारूती सुजुकी स्विफट कारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा १ हजार १६ पिस टप्स (लेडिज कुर्था) बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ३८ गुल्म हेड क्वाटर (राजस्व भन्सार सुरक्षा)का गुल्मपति डीएसपी गोविन्दबहादुर खातीको नेतृत्वमा कमाण्डमा रहेको टोलीले चेकजाँचका क्रममा उक्त परिणामका पोशाकहरू बरामद गरेको हो । बरामद सबै सामानको भन्सार तिरेको कागजातहरू, प्रज्ञापनपत्र केही नभए पछि भैरहवा भन्सार कार्यालय चलान गरेको खातीले बताए ।
चाडपर्व नजिकिँदै जाँदा अवैध रूपमा चोरी निकासी गर्ने क्रम बढेको छ । बुधबार बरामद सामानको मूल्यांकन १ लाख ५२ हजार ४ सय कायम गरिएको छ । एक थान टप्सको मूल्यांकन न्यूनतम १ सय रुपैयाँ छ ।
त्यस्तै सामानसहित ढुवानीमा प्रयोग भएको सवारी साधनको १२ लाख मूल्य कायम गरी भन्सार चलान भएको छ । सवारी चालकलाई समेत नियन्त्रणमा लिई भन्सार कार्यालय चलान गरिएको जनाइएको छ । उक्त सामानहरू सीमावर्ती भारतीय बजार सुनौलीबाट खरिद गरी नेपाली बजारमा बिक्रीका लागि ल्याइँदै थियो ।

 

प्रतिक्रिया दिनुहोस्