चीनद्वारा केही अमेरिकी सामानमा कर छुट «

चीनद्वारा केही अमेरिकी सामानमा कर छुट

बेइजिङ-चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ । दुवै देशबीच अर्को महिना व्यापार वार्ता हुँदैछ ।
यी कर छुटहरू आगामी सेप्टेम्बर १७ देखि लागू हुने चीनको भन्सार आयोगले जनाएको छ । छुट हुने वस्तुको सूचीमा सामुद्रिक खाद्य सामग्रीहरू र क्यान्सर प्रतिरोधी औषधिहरूसमेत रहेका छन् । यो कर छुट एक वर्षसम्म कायम हुनेछ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सर्वाधिक चासोका रूपमा रहेको अमेरिकी सोयाबिन र सुँगुरको मासुको आयातमा लागेका करहरू यथावत् छन् ।
भन्सार विभागले बुधबार जारी गरेको विज्ञप्तिमा अरू अमेरिकी सामानमा कर छुट गर्दै जाने जनाइएको छ ।
दुवै देशबीच एक वर्षभन्दा बढी समयदेखि जारी व्यापार वार्तामा सहमति नभएपछि दुवै मुलुकले एक–अर्काका अर्बौं डलरबराबरका सामानमा करवृद्धि गरेका छन् । विश्व व्यापार र विश्व अर्थतन्त्रमै प्रभाव सिर्जना गरिरहेको यस व्यापार युद्धले विश्व बजारमा त्रासको वातावरण सिर्जना गरेको छ ।
चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गरेका थिए । अमेरिकातर्फ निकासी हुने कुल ५ सय ४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा कर वृद्धि हुनेछ ।
ट्रम्पको घोषणापछि बेइजिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो । सेप्टेम्बर १ देखि लागू हुने गरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो ।
सयौं अमेरिकी कम्पनी र व्यावसायिक समूहहरूले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए । उनीहरुको विचारमा कर वृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरीद गर्ने सामान महँगो हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
तर, राष्ट्रपति ट्रम्पले अमेरिकामा चुनावी प्रचारका क्रममा सामानको मूल्य बढ्छ भनेर चिन्ता गर्ने अमेरिकी कम्पनी र व्यवसायीमा दृष्टिदोष रहेको बताएका थिए । “राम्रोसँग नचलेका र कमजोर कम्पनीले मात्र यस्ता कुरा गरिरहेका छन् । उनीहरूको व्यवस्थापन पनि कमजोर छ,” उनको भनाइ थियो ।
चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धिसँगै चीनसँग वार्ता पनि हुँदै जाने बताएका छन् । “हामीले चीनसँग कुराकानी गरिरहेका छौं । वार्ताका लागि मिति तोकिएको छ । एक–अर्काबीच फोनमा संवाद भएको छ । मेरो विचारमा सेप्टेम्बरमा वार्ता हुनेछ । वार्ताहरू रद्द भएका छैनन् । हेरौं के हुन्छ,” उनले बताए ।
राष्ट्रपतिले चीनसँग व्यापार युद्ध मार्च २०१८ मा आरम्भ गरेका थिए । उनले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबर्जस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाब दिइरहेका छन् ।
चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मक रूपमा अघि बढेको भने पनि कुनै सम्झौता भएको छैन ।
दुवै मुलुकले एक–अर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अवरुद्ध भइरहेको छ ।
फ्रान्सको बियारिजमा सम्पन्न सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा सहभागी भएका राष्ट्रपति ट्रम्पले भनेका थिए, “चीनबाट फोन आयो र उनीहरूको भनाइ वार्ताको टेबलमा बसौं भन्ने छ । त्यही भएर हामी पनि वार्तामा बस्न राजी भएका हौँ ।”
राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीको भनाइ निकै सकारात्मक रहेको र उनीहरू कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताएका छन् ।
दुवै देशले एक–अर्का मुलुकको सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरूले देखाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा चीनमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आएको छ ।
चिनियाँ भन्सारका अनुसार संयुक्त राज्य अमेरिकातर्फको निकासी पनि १६ प्रतिशतले घटेको छ । गत अगस्टमा करिब ४४ अर्ब अमेरिकी डलरबराबरका सामान मात्र अमेरिकातर्फ निकासी भएको छ ।

प्रतिक्रिया दिनुहोस्