Logo

घाँसमा सीप खाेज्दै गोकर्ण

गुल्मी– मुलुक आर्थिक हिसाबले कमजोर हुँद जाँदा कृषि एवं पशुपालनमा लगानीको प्रतिफल आउने आशा मारेर दिनानुदिन विदेश जानेको लर्को लागिरहेको छ । पछिल्लो समय नेपालमा २०/२२ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेक अन्यत्रको कल्पना गर्दैनन् । युरोपेली मुलुक र खाडी मुलुक जानेबाहेकको सोचाइ अपवाद मात्र भेटिन्छ । तर, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली कृषि क्षेत्रमा प्रेरणा बनेका छन् ।

नेपालमा केही गर्नुपर्छ र नेपाली माटोमा क्रान्ति गर्नुपर्छ भन्ने सोचका गोकर्ण नेपालीले घाँस खेती गरेर हजारौंका प्रेरणा–स्रोत बनेका छन् । इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कृषि कर्म गरिरहेका छन् । उनको मिहिनेत र लगावका कारण अझै पनि हजारौंले प्रेरणा लिन सक्छन् । कृषि र पशुपालनबाट लगानी डुब्छ भनेर धेरैले यो पेसामा हात हाल्न खोज्दैनन् । तर, गोकर्ण कृषि र पशुपालनबाट छिट्टै प्रतिफल नदेखिनेमा ढुक्क छन् ।

‘छिटो प्रतिफल खोज्नेले कृषि र पशुपालन गर्नुहुँदैन,’ उनी सुनाउँछन्, ‘दीर्घकालीन रुपमा व्यक्तिसँगै देशलाई फाइदा पुग्ने अपेक्षाले कृषि र पशुपालनमा लागेँ ।’ नेपाली प्रतिफल ढिला पाउने तर दीर्घकालीन हिसाबले निकै लाभदायी हुनेमा स्पष्ट छन् । २०७६ साउनबाट ८० हजार रुपैयाँमा घाँस खेती सुरु गरेका गोकर्णले अहिले यसको पुँजी ५० लाख पुर्‍याएका छन् ।

उनले गत ४ महिनाको अन्तरालमा १९ लाखको घाँसको बिरुवा गुल्मीका स्थानीय तहसँगै छिमेकी पाल्पा, अर्घाखाँची, प्युठान र बाग्लुङलगायतका जिल्लामा बिक्री गरेका छन् । अहिले पनि उनीसँग इपिल–इपिल, राईखन्यु, नेपियरलगायतका ४४ प्रकारका ३१ लाख बराबरका घाँसका बिरुवा रहेका छन् ।
उनले कुल १ सय २० रोपनी जग्गामा घाँस खेती गरेका छन्, जसमध्ये ८० रोपनी गोकर्ण आफ्नैको हो । बाँकी ४० रोपनी जग्गा उनले लिजमा लिएका छन् । बिहानदेखि साँझसम्मको समय खेतबारीमा बिताउने गोकर्णले घाँस खेतीसँगै बाख्रापालनसमेत गरेका छन् ।

उनले घाँस बिक्री नभएको समस्याको दीर्घकालीन समाधानको उपाय बाख्रापालनलाई रोजेका हुन् । नेपालीको आधुनिक खोर छ, जसमा ३६ वटा बाख्रा छन् । भौतिक संरचना र माउ बाख्रा खरिदसँगै कूल ६ लाख रुपैयाँ लगानी गरेका गोकर्णले आम्दानीको सुरुआती चरणमा रहेको बताए । सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ भन्ने सोचाइ उनको छ ।

रोजगारी सिर्जना
गोकर्णले सुरु गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ । आफूसँगै दिनभर अर्का एक जना र मौसमी रुपमा १०/१२ जना गरी औसतमा दैनिक ८ जनाले गोकर्णको फर्ममा रोजगार पाइरहेका छन् ।

यसबाहेक आमा बिष्णु नेपाली, १८ वर्षीय भाइ करण र १६ वर्षीया बहिनी गोमा पनि गोकर्णलाई हरेक दिन काममा सहयोग गरिरहेका हुन्छन् । ‘कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ’, गोकर्णले सुनाए । आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो उनले गरे । स्थानीयले आफ्नै गाउँमा काम गर्न हिचकिचाहट मान्ने गरेको अनुभव गोकर्णसँग छ । राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उनले झेलिरहेका छन् ।

कोभिडको सकारात्मक प्रभाव
गोकर्ण सानै उमेरमा विदेशिए । उनी १९ वर्षको उमेरमा आफ्नो खेतबारीमा घाँस रोपेर लगानी गर्ने रकमको जोहो गर्न विदेशिएका थिए । उनलाई कोभिडले प्रभाव पा¥यो । दुबईमा १८ महिना बसेर स्वेदश फर्किएका गोकर्ण कत्ति पनि विचलित भएनन् । बरु त्यही घाँस खेतीलाई अझै बढाएर लगे । ‘हार खाने काम कहिल्यै गर्नुहुन्न, परिस्थतिले पुर्‍याएको क्षेत्रमा मिहिनेत गर्नुपर्दछ’, उनी भन्छन् । कोभिडका कारण आफ्नो जीवनमा केही नकरात्मक प्रभाव नपारेको उनले बताए । कोभिडका कारण कृषि र पशुपालन खास पेसा रहेछ भन्ने चिनाएको उनको अनुभव छ ।

नेपालीसँग विदेशमा सुरुआती चरणमा भाँडा माझेको उनले बताए । आफूले होटलमा भाँडा माझेरसमेत दैनिकी चलाएको उनको भनाइ छ । काम सानो र ठूलो केही नहुने भएकाले मिहिनेत र लगावपूर्ण कामले सफल बनिने गोकर्णको बुझाइ छ । ‘विदेश जानै नहुने भन्ने होइन, गएपछि सिकेको पाठ स्वदेश फर्केर कर्ममा रुपान्तरण हुनुपर्छ,’ गोकर्णले भने ।

पशुपालनबाटै प्रेरित
गोकर्णले आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताए । पशुपालन धेरै ठाउँमा गरिरहेको देखेका उनले पशुको आहार व्यवस्थापन सहरबाट भइरहेको देखेका थिए । आहार व्यवस्थापन आफूले गर्न सके आम्दानीको स्रोत बढ्ने उनको बुझाइ छ । त्यसपछि आफू घाँस खेतीमा प्रेरित भएको उनले दाबी गरे । ‘पशुपालन धेरै मात्रामा गरेको देखियो तर त्यसको आहार व्यवस्थापन नभएको अवस्थामा मैले दीर्घकालीन फाइदा देखेर घाँस खेती सुरु गरें,’ गोकर्णले भने ।

अझै पनि घाँस खेतीमा लाग्नेहरू कम रहेकाले यसलाई पेसा बनाउन चाहे निकै फाइदा पुग्ने उनको धारणा छ । आफू घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढाउन सकिने हुँदा यसबाट लगानी नडुब्ने बताए । बुबा चिन्ताबहादुर नेपालीलाई ४० वर्षको अल्पायुमा गुमाएका गोकर्ण पेसाप्रति अडिग रहे । उनले हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्ने बाध्यता सबैमा हुने बताए ।

मोटरसाइकल बेचेर लगानी
आफूले परदेशमा कमाएको सबै रकम बुबाको उपचारमा सकेको गोकर्णले सुनाए । आफूले कमाएको पैसाले नपुगेपछि बुबाको मृत शरीर ल्याउनसमेत आमाको गणेशमाला बेच्नुपरेको उनले गुनासो गरे । गोकर्णले भने, ‘शव घर ल्याएको एम्बुलेन्सको पैसादेखि काजकिरियाको ऋणले चुर्लुम्म डुब्दा पनि व्यवसायमै आँट गरें ।’

आफूले परदेशमा कमाएको केही रकमबाट किनेको मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गरेको उनको भनाइ छ । उनले ८० हजारमा मोटरसाइकल बेचेर घाँसको बिउ तथा बिरुवा ल्याएर रोपेका थिए । तर, पछि घाँस खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल भए ।

घाँस भण्डारणमा जुट्दै
वार्षिक ४ महिना घाँसको हाहाकार हुने भएकाले आफू यसको भण्डारणमा जुट्न थालेको गोकर्णले बताए । फागुन, चैत, वैशाख र जेठ महिनामा घाँस हाहाकार हुन्छ । त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उनले बताए । ‘मैले चार महिनाका लागि घाँस भण्डारण गर्ने सोच बनाएकोले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छु’, गोकर्णले भने । घाँस खेती गरेर बाहिरी पालिकामा पनि निर्यात गर्दा पनि आफूलाई गाउँपालिकाको सहयोग नरहेको भन्दै जनप्रतिनिधिले हौसला दिए मात्र पनि पुग्ने उनको भनाइ छ ।

पागलको उपनाम पाएँ
ग्रामीण क्षेत्रका खेतबारीमा अहिले पनि परम्परागत खेती गर्ने चलन रहेको छ । मकै, धान, कोदो र गहुँ खेती भइरहेको आफ्नो खेतबारीमा घाँस खेती सुरु गर्दा गोकर्णलाई गाउँलेले पागलको उपनाम दिएका थिए । सबैले पागल भन्दै हिँडिरहेको सुन्दा पनि कतै नडगमगाएको गोकर्णले बताए । कर्मबाट प्रतिक्रिया दिने अठोट बोकेका गोकर्ण गाउँलेको पागल उपनाममा पनि केही नबोलेको सुनाउँछन् । सुरुआती चरणमा पागल भन्नेहरूले अहिले प्रशंसा गर्दा आफू सफल भएको अनुभूति हुने गरेको गोकर्ण बताउँछन् ।

छिट्टै प्रतिफल खोज्नु हुँदैन
गोकर्णले कृषि र पशुपालनबाट छिट्टै प्रतिफल खोज्न नहुने बताए । ‘हामीकहाँ दिनभर काम गर्ने साँझ प्रतिफल खोज्ने चलन छ,’ उनले भने,‘दीर्घकालीन अपेक्षा राखेर मात्र नेपाली माटोसँग खेल्नुपर्दछ ।’ छोटो समयमा धेरै फाइदा खोज्दा आफैंलाई नोक्सानी हुने उनको भनाइ छ । परिश्रम निरन्तर गर्ने तर नतिजा नखोज्ने बानीले अन्तिममा सफलता दिलाउने धारणा आफूमा रहेको गोकर्णले बताए ।

हचुवाको भरमा लगानी गर्नुहुँदैन
हचुवाको भरले कुनै क्षेत्रमा पनि आर्थिक लगानी गर्न नहुने गोकर्णले सुझाए । बुझेर मात्रै आर्थिक लगानी गर्नुपर्नेमा उनको जोड छ । ‘सबैसँग सल्लाह गरेर व्यवसाय सुरु गर्नुपर्छ,’ उनले भने, ‘आफ्नै मिहिनेत र लगावका कारणले मात्र सफल हुन सकिन्छ ।’ श्रम गर्न हिचकिचाहट मान्नै नहुने गोकर्णको तर्क छ । परिवारिक साथ, सहयोग र समर्थन भएमात्र कृषि र पशुपालन व्यवसाय सफल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्