सुन्तलामा सम्भावना खाेज्दै हमाल

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँ गाउँका टिकाबहादुर हमाललाई बिहानदेखि बेलुकासम्म सुन्तलाको स्याहार सुसार गर्न भ्याईनभ्याई छ । यो समय सुन्तला टिप्ने र बिक्री गर्ने भएकोले उनी बगैंचामै व्यस्त छन् ।
सुन्तलाकै स्याहार गर्दा कुनै बेला खाने समय समेत पाउँदैनन् हमालले । बिहानैदेखि सुन्तलाकै चिन्तन गर्ने हमाल कोही पाहुना आए समय दिनसमेत पाउँदैंनन् । आजकल हमाललाई भेट्नपरे सुन्तलाकै बगैंचामै पुग्नुपर्छ । ५२ वर्षिया हमालले विगत ३१ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । सुन्तला खेतीबाटै उनले वार्षिक पाँचदेखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
‘एक वर्र्ष विराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल पाँच लाखको बिक्री गरियो ।’ हमालले भने,‘यो वर्र्ष राम्रो उत्पादन भएको छ, कम्तिमा ६ लाख पर्ने अनुमान छ ।’ सुन्तला लिन घरमै व्यापारी आउँछन् । उनको सुन्तला स्थानीय बजारदेखि तम्घास, सन्धिखर्क हुँदै बुटवलसम्म पुग्छ । अहिले प्रति किलो ५० रुपैयाँमा सुन्तला बिक्री गरिरहेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरूको प्रतिस्पर्धा छ । तर हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन् ।
‘यो पुख्र्यौली पेशा हो, मैले व्यावसायिकरण गरेको मात्र हुँ,’ उनले भने,‘घरमै आम्दानी भएपछि विदेश जानुको औचित्य छैन ।’ उनले कुल १२ रोपनी जग्गामा सुन्तला खेती गर्दे आएका छन् । अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भइरहेको छ । थप ४० हजार बिरुवा नर्सरीमा छन् । केही वर्र्षपछि ती बिरुवाले पनि उत्पादन दिँदा उनको आम्दानी झनै बढ्ने हमाल बताउँछन् । घरमा तीन छोरा, तीन छोरी र आफूहरू श्रीमान–श्रीमती गरी ६ जनाको परिवार छ ।
सुन्तलाको साथसाथै ११ बाख्रा र ११ घार मौरी पनि उनले पाल्दै आएका छन् । घर खर्चको लागि बाख्रा र मौरिबाट प्रशस्त पुग्छ । सुन्तलाको रकम बचत हुन्छ । ‘घरखर्च अन्य आम्दानीबाट चल्छ, सुन्तलाबाट कमाएको रकम बचत हुन्छ,’उनले भने, ‘तराईतिर घडेरी किनेर घर बनाउने हो ।’ सुन्तलाबाट कम मिहिनेतमा बढी आम्दानी हुने भएपछि खाद्यान्न लगाउने ठाउँमा सुन्तला लगाएको उनको भनाइ छ ।
सोही गाउँकै चन्द्र विकले पनि अहिले ६० हजारको सुन्तला बिक्री गरे । नौ वर्र्षदेखि व्यावसायिक सुन्तला खेतीमा लागेका विकको बगैंचामा एक सय बोटले उत्पादन दिइरहेका छन् भने थप पाचँ सय विरुवा नर्सरीमा छन् । ६० वटा विरुवाबाट सुरु गरेका विकले वर्र्षैपिच्छे आम्दानी बढाइरहेका छन् । सुन्तला एकपटक लगाएपछि धेरै वर्र्षसम्म फल्ने र अन्य खेतीलाई झै स्याहार गर्न नपर्ने भएकोले सुन्तला खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ । आफ्नै घरपरिवारमा बसेर खेती गर्दा आनन्द आउने विक बताउँछन् ।
‘घरमै बसेर काम गर्दा पारिवारिक आनन्द हुन्छ,’ विकले भने,‘परिश्रम गर्न सके स्वदेशमै राम्रो कमाई हुन्छ ।’ सुन्तलाको साथ साथैं भैंसी, बाख्रालगायतका माध्यमबाट पनि उनले मनग्य आम्दानी गर्दैं आएका छन् । अब सुन्तला र कागतीको माध्यमबाट आम्दानी गर्ने उनको सोच छ । जसका लागि उनले गाउँपालिकाबाट एक लाख अनुदान समेत लिएका छन् । सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ भनी घोषणा गरेको छ । राम्रो मौसम, अनुदानलगायतका कुराको तालमेलले गर्दा गुल्मीमा सुन्तला उत्पादन राम्रो हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
उत्पादन भएको सुन्तलामध्ये ४० प्रतिशत जिल्लामै खपत हुने र बाँकी ६० प्रतिशत जिल्ला बाहिर निकासा हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गुल्मीमा कुल एक हजार २९७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनको लागि योग्य छ ।
सुन्तला उत्पादन हुने मुख्य क्षेत्र
जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर ९ अर्लाङ्ककोटमा ८० हेक्टर जमिन सुन्तला उत्पादन क्षेत्रमा पर्छ । तर त्यहाँ हाल ५० हेक्टरमा मात्र सुन्तला उत्पादन भएको छ । बाँकि ३० हेक्टर जमिनमा व्यावसायिक सुन्तला खेती गरिएको छैन । मुसिकोट नगरपालिकाको वडा नम्बर ८ वामीमा १५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल ३० हेक्टर रहेको छ ।
रुरु गाउँपालिकाको बलेटक्सारमा ३० हेक्टर क्षेत्रफल जमिन सुन्तला उत्पादनका लागि योग्य छ । तर त्यहाँ जम्मा १० हेक्टरमा मात्र सुन्तला खेती गरिदैँ आएको छ । छत्रकोट गाउँपालिकाको दिगाममा १२० हेक्टरमा सुन्तला उत्पादन गरिदैँ आएको छ । जहाँ २४० हेक्टर सुन्तला खेतीका लागि सम्भावित क्षेत्रफल हो ।
सोही गाउँपालिकाकै हर्दिनेटामा २०० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये १६१ हेक्टर र हुँगामा ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । गुल्मीदरबार गाउँपालिकाको गौडाकोटमा एक सय हेक्टर सम्भावित क्षेत्रफलमध्ये जम्मा ५० हेक्टरमा मात्र सुन्तला खेती गरिदैँ आएको छ ।
गुल्मीदरवारको वीरबासमा ५० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ ८५ हेक्टर सम्भावित क्षेत्रफल रहेको छ । त्यस्तै सोहि गाउँपालिकाकै राजामा ६० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये ३० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ । धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलमा १४० हेक्टर जमिनमा सुन्तलाको व्यावसायिक खेती गरिएको छ ।
जहाँको सम्भावित सुन्तला खेती क्षेत्र २३० हेक्टर हो । सोही गाउँपालिकाको वडा नम्बर १ नयाँ गाउँमा २२५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल ३०० हेक्टर रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । सोहि गाउँपालिकाकै वडा नम्बर २ पीपल धारामा १ सय ३८ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ ।
जहाँ सम्भावित क्षेत्रफल दुई सय हेक्टर रहेको छ । त्यस्तै वडा नम्बर ३ हाडहाडेमा १२९ हेक्टरमा सुन्तला उत्पादन गरिएको छ । जहाँको सम्भावित क्षेत्रफल २२० हेक्टर हो । वडा नम्बर ४ जैसिथोकमा सम्भावित क्षेत्रफल २० हेक्टरमध्ये १० हेक्टरमा मात्रै उत्पादन गरिदैं आएको छ । वडा नम्बर ७ वाग्लामा ३० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये १५ हेक्टरमा उत्पादन गरिदैं आएको छ ।
मदाने गाउपालिकाको भनभनेमा कुल ४० हेक्टर जमिन सुन्तला खेतीका लागि योग्य छ । तर त्यहाँ ३० हेक्टरमा मात्रै उत्पादन गरिदैं आएको छ । सोहि गाउँपालिकाको पुर्काेट दहमा ३० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये जम्मा १० हेक्टरमा मात्र खेती गरिएको छ । कालिगण्डगी गाउँपालिकाको भुर्तङ्गमा कुल ३५ हेक्टर जमिन सुन्तला खेतीयोग्य छ । तर त्यसमध्ये जम्मा १० हेक्टरमा मात्र सुन्तला लगाइएको छ ।
सोहि गाउँपालिकाकै जयखानीमा एक सय हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये ७० हेक्टरमा मात्र लगाइएको छ । त्यस्तै अर्वेनीमा ६० हेक्टर सम्भावित क्षेत्रफलमध्ये २० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ । रेसुङ्गा नगरपालिकाको वडा नम्बर ३ भाडगाउँ, ४ अर्खले, ५ को बालकाटे र ६ को गुरुङ्गगाउँलगायतका स्थानमा १९० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जबकि त्यहाँको सम्भावित क्षेत्रफल ३०० हेक्टर रहेको छ । चन्द्रकोट गाउँपालिकाको हरेवामा ८५ हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये जम्मा ४० हेक्टरमा मात्र लगाइएको छ ।
गुल्मीमा यो वर्ष ६ सय २३ हेक्टर उत्पादनशील क्षेत्रफल रहेको छ । जसमा ६ हजार ५७२ दशमलव ४ मेटन उत्पादन हुने अनुमान कृषि ज्ञानकेन्द्र गुल्मीले गरेको छ । गत वर्ष गत वर्र्ष ५ सय ८८ हेक्टर उत्पादनशिल क्षेत्रफलमा ६ हजार ८३८ मेटन उत्पादन भएको थियो । यो वर्ष करिब ११ दशमलव ८७ प्रतिशत उत्पादन कम हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र प्रमुख नवराज भण्डारीले बताए ।
यो वर्ष करिब २३ करोड ७८ लाखको सुन्तला उत्पादन भएको छ । गत वर्ष २९ करोडको उत्पादन भएको थियो । यो वर्ष १२ करोड ८४ लाखको सुन्तला निर्यात अनुमान गरिएको छ । गत वर्ष १३ करोड २१ लाखको सुन्तला निर्यात भएको भण्डारीले बताए । जिल्लामा १ हजार २७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष कुल सुन्तला बगैंचाको क्षेत्रफलको करिब ६० प्रतिशत बोटहरू फलेका छन् ।
गत आर्थिक वर्ष २०७९/८० मा कृषकहरूको लगानी, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तह, केही गैह्र सरकारी सस्थामार्फत एक सय ३० हेक्टर जग्गामा सुन्तला रोपण भएको छ । गत वर्ष बढी उत्पादन भएका कारण कारण यो वर्ष कम उत्पादन देखिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । यो वर्ष फल पातलो लागेको र फलका दाना साना लागेका छन् । जिल्लाबाट उत्पादित सुन्तला बुटवल, पोखरा, काठमाडौंलगायतका ठाउँमा बिक्री हुने गरेको छ ।