पहिलो प्रादेशिक महोत्सवमा ५० करोड बढीको कारोबार

नेपालगन्जको कारकाँदोमा १२ दिनसम्म सञ्चालन भएको पहिलो प्रादेशिक महोत्सवमा ५० करोड बढीको कारोबार भएको छ । १२ दिनसम्म चलेको सो महोत्सव अवलोकन गर्न ४ लाख सर्वसाधारण आएको जनाउँदै महोत्सवमा ५० करोड बढीको कारोबार भएको महोत्सव आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सव अवलोकनका लागि दैनिक २० हजारदेखि २५ हजारको हाराहारीमा बाँके र बर्दियाका विभिन्न स्थानबाट सर्वसाधारण आएकोले दैनिक करिब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको संघका अध्यक्ष नन्दलाल वैैश्यले बताए ।
महोत्सवमा अनुमान गरेभन्दा बढी व्यापार व्यवसाय भएको जनाउँदै उनले संघलाई चोखो बचत समेत १ करोड बढी हुने बताए । महोत्सवमा राखिएका ३ सय २१ वटा स्टलमा बालबालिकाको खेलौनादेखि विभिन्न तयारी कपडा, जेनरेटर, कार ट्र्याक्टरलगायतका गाडीहरू पनि ठूलो संख्यामा बिक्री भएको अध्यक्ष वैश्यले बताए ।
पहिलो पटक प्रदेशस्तरमा आयोजना गरिएको महोत्सवमा भएको व्यापार व्यवसायबाट स्टल राखेका व्यवसायी, व्यापारिक फर्महरू तथा संघ आफैं पनि निकै उत्साही देखिएको उनको भनाइ छ ।
यो महोत्सव ठूलो व्यावसायिक कारोबार गर्ने माध्यम बनेको पाइएको जनाउँदै अध्यक्ष वैश्यले महोत्सवमा साना सामानदेखि मोटरसाइकल, जिप, ट्र्याक्टर, बस समेतको खरिद गरिएको बताए ।
महोत्सवमा अटोमोबाइल, खाद्यान्न, स्थानीय उत्पादन मह, अचार र पैंचोको पसलहरूमा सर्वसाधारणको बढी आकर्षण देखिएको थियो । महोत्सवमा विभिन्न कम्पनीले आर्कषक छुटसमेत दिएका थिए, जसका कारण बिक्री वितरणमा वृद्धि भएको थियो ।
युनाइटेड मोटर्सका प्रबन्धक डम्बर बिसीले हरेक सामग्रीको बिक्री वितरणका लागि महोत्सव उपयुक्त माध्यम बनेको बताए । प्रादेशिक महोत्सवमा प्रित ट्र्याक्टरको शोरुम राखेका उनले ट्र्याक्टर बिक्रीमा मोटरसाइकल उपहार राखिएको जनाउँदै सोही कारणले उल्लेख्य बिक्री भएको बताए ।
यसैगरी जमंगलम सिमेन्ट उद्योग, शिखर प्लाइउड, केएल दुगड खाद्य उद्योगजस्ता स्थानीय कम्पनीले सहुलित दरमा आफ्ना सामाग्रीको बिक्री गरेका थिए । स्थानीय तयारी पोसाक, विभिन्न घरायासी सामग्रीका उत्पादक, प्राविधिक सामग्री, खाद्यान्न सामग्री महोत्सवमा अत्याधिक बिक्री भएको संघले जनाएको छ ।
पहिलो पटक महोत्सवमा भारत, पाकिस्तान र बंगलादेश लगायतका पनि १६ वटा स्टलहरू राखिएकोले ती स्टलमा गएर सामान खरिद गर्नेहरू पनि उल्लेख्य मात्रामा थियो ।
महोत्सवमा प्रस्तुत गरिएका विभिन्न राष्टिय कलाकारहरूको प्रस्तुतिले पनि ठूलो संख्यामा सर्वसाधारणलाई तान्न सफल भएको संघका उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताएका छन् । माघ ११ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको सो महोत्सवमा २ सय ६० वटा व्यावसायिक स्टलका अलावा ५ कृषी, ४ जडीबुटी, १४ अटोमावाइल्स, २२ रेस्टुरेन्ट र १६ विदेशी स्टलसहित कुल ३ सय २१ स्टल राखिएका थिए । यसैगरी महोत्सवमा मनोरन्जनका विभिन्न साधनका साथै दर्जनौं होटल तथा रेस्टुरेन्ट पनि सञ्चालन गरिएका थिए ।
संघले विगत केही वर्षयता नेपालगन्जमा बहुउद्देश्यीय सभागृह निर्माणका लागि औद्योगिक मेला तथा महोत्सवको आयोजना गर्दै आएको छ ।