Logo

सिमेन्टको मूल्यवृद्धि फिर्ता लिन आग्रह

काठमाडौं– कार्टेलिङ गरी सिमेन्टको भाउ बढाइएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेको छ ।

सिमेन्ट उत्पादनसँग सम्बन्धित इन्धनलगायतका कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि सीमित सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी प्रति बोरा १ सय भन्दा बढी मूल्यवृद्धि गरेकोमा महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघका महासचिव रोशन दाहालले आइतबार विज्ञप्ति जारी गर्दै खुल्ला अर्थतन्त्रको नीति विपरित गरिएको यस किसिमको अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको बताएका छन् ।

विगतमा पनि कार्टेलिङ गरी पटक–पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको महासंघले स्मरण गराएको छ । म्याद थपमा देखिएका जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अर्बौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेन्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन उसले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्