अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस
रेमिटेन्सको हिसाब छ, ठगी र अलपत्रको छैन

काठमाडौं– सरकारले प्रत्येक महिना बिदेशिएका युवाले पठाएको रेमिटेन्सको हिसाब राख्ने गरे पनि ठगी र अलपत्रको तथ्यांक राख्ने गरेको छैन । विदेशमा अलपत्र श्रमिकको कुरा आउँदा औपचारिक र अनौपचारिक माध्यमबाट गएको भनेर तथ्य र तथ्यांकमै सरकारले समय बिताउने गरेको छ । पछिल्लो समय इजरायल, रसिया र युक्रेनमा कति नेपाली छन् भन्ने औपचारिक तथ्यांक सरकारसँग छैन ।
सरकारले आइतबारदेखि साताव्यापी रूपमा देशभर अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइरहेको छ । यो वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको नारा ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने तय गरिएको छ । यो वर्षको नारा र अहिले खाडी, मलेसियासहित युद्धग्रस्त देशमा नेपालीले भोगिरहेका समस्या उस्तै छन । युद्धग्रस्त देशमा अलपत्र र मृत्यु हुने नेपालीको संख्या बढी रहेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव जनक चौधरीले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सन्दर्भमा आयोजित कार्यक्रममा हरेक वर्ष एक हजारभन्दा धेरै नेपालीले प्रवासको रोजगारीका क्रममा ज्यान गमाउने गरेका बताए । जिफन्टले आइतबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा गन्तव्य मुलुकमा रोजगारीका लागि गएका युवा श्रमिकको मृत्यु रोक्न कार्यस्थल तथा आवासको अवस्थामा सुधार गर्नु पर्ने सुझाव दिएको छ ।
वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा वैदेशिक रोजगारका क्रममा १२ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएको देखिन्छ । विदेशमा मृत्यु भएका नेपाली युवाको मृत्युको कारण प्राकृतिक मृत्यु, आत्महत्या, ह्दयघात वा अचानक भएको भनी उल्लेख गरिए पनि नेपालले थप खोजी गर्ने नगरेको अधिकारकर्मीको भनाइ छ ।
वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा वैदेशिक रोजगारका क्रममा १२ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । विदेशमा मृत्यु भएका नेपाली युवाको मृत्युको कारण प्राकृतिक, आत्महत्या, ह्दयघात वा अचानक भएको भनी उल्लेख गरिए पनि थप खोजी गर्ने गरिएको छैन ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा मर्यादित श्रमसहितको रोजगारीको सुनिश्चितता गरिने, श्रम सम्झौता पुनरावलोकनका साथै नयाँ श्रम गन्तव्य मुलुकको पहिचान, वैदेशिक रोजगार सम्बन्धी गुनासो तत्काल सुनुवाइ, विदेशस्थित नेपाली दूतावासमा राखिएका श्रमिक हेल्प डेस्कलाई थप व्यवस्थित र प्रभावकारी बनाइनेलगायतका छन् । नीति लिएपनि प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको छैन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीका क्रममा हुने ठगी, अलपत्रका घटना बढीरहेको जनाउँदै सुधारका लागि सबैले काम गर्नु पर्ने बताए । ‘अभिमुखीकरण संस्था, म्यानपावर कम्पनी तथा सबै सरोकारवाला निकायबीच वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन समन्वय भइरहेको छ ।’ सचिव भण्डारी भने ‘युरोपमा श्रम शक्तिको अभावका कारण नेपालबाट श्रमिक जाने क्रम बढेको जनाउँदै हालसम्म १२ मुलुकसँग श्रम सम्झौता गरिएको र थप आठ मुलुकसँग सम्झौताको लागि पत्रचार गरिसकिएको छ ।’
आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्ममा ९७ प्रतिशतले विदेशिने श्रमिक संख्यामा गिरावट आउँदा समेत २६ प्रतिशतले विप्रेषण आप्रवाहमा वृद्धि भएको अवस्था थियो । आर्थिक वर्ष २०७८/७९ मा विदेशिने श्रमिक संख्या अघिल्लो वर्षको तलनामा दुई सय ७७ दशमलव ९८ प्रतिशतले वृद्धि भई ६ लाख ३० हजार ९० पुगेको थियो । तर विदेशबाट भने १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मात्र नेपाल भित्रिएको थियो । सो रकम अघिल्लो आर्थिक वर्षभन्दा ४ दशमलव ८ प्रतिशत बढी हो ।
जिफन्टको अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत वर्ष विदेशिने श्रमिक संख्यामा तीन सय प्रतिशतले वृद्धि हुँदा समेत विप्रेषण आप्रवाह कुल २५ प्रतिशतले मात्र वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ मात्र हुन ज्यादै निराशापुर्ण भएको उल्लेख छ । जाने श्रमिक संख्याको आधारमा नेपालमा आउनु पर्ने विप्रेषण अन्यत्र पलायन भइरहेको देखिन्छ । ‘यो कार्य नेपाल सरकारको अर्थ मन्त्रालय तथा मन्त्रिपरिषद्को मिलेमतोमा नभई सम्भव हुने देखिँदैन ।’ जिफन्टले आइतबार सार्वजनिक गरेका प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका ७२ हजार महिलासहित कूल सात लाख ७१ हजार तीन सय २७ जना श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घर परिवार सञ्चालन मानवीय सम्पत्ति सूचंकमा सुधार र गरिबीमा रहेका परिवारहरुको आर्थिक जोखिम गर्न तथा नेपालको अर्थतन्त्रमा ठुलो सहयोग पुगेको छ । विश्व बैंकको अक्टोबर, २०२३ को प्रतिवेदन अनुसार नेपालमा कूल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा २२.७ प्रतिशत बराबरको रहेको छ ।
यसैबीच वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांक अनुसार सचिवालयको स्थापना आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीको क्रममा मृत्युवरण भएका १२ हजार ७८४ जना र गम्भीर बिरामी तथा अंगभंग भएर फर्किएका विभिन्न २ हजार आठ सय ७२ जना श्रमिकहरूलाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता प्रदान गरिएको छ । वैदेशिक रोजगारीका लागि नेपाली समाजले महँगो सामाजिक मूल्य चुकाउनु परिरहेको मन्त्रालयले जनाएको छ ।
सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरुमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि आप्रवासी दिवस सप्ताहव्यापी रूपमा मनाउने निर्णय भएको सचिव भण्डारीले जानकारी दिए । यसलाई नतिजामुखी हुने गरी मनाउने उद्देश्यले मन्त्रालयका सचिवको संयोजकत्वमा मूल समारोह समिति गठन गरी त्यसअन्तर्गत अन्य उपसमितिहरु गठन गरिएको छ ।