बुद्ध आरएमसी उद्योग स्थापना «

बुद्ध आरएमसी उद्योग स्थापना

पछिल्लो समयमा घर तथा भवनका छत पिलरलगायत अन्य ढलानका कार्यका लागि लोकप्रिय हुदै आएको (सिमेन्ट, बालुवा र गिटीको तयारी घोल) आरएमसी मिक्चरको उत्पादन औद्योगिक तथा व्यावसायिक समूह एसआर गु्रपले समेत सुरु गरेको छ । एसआरले आयुष बिल्डर्ससँग मिलेर संयुक्त रूपमा भैरहवा लुम्बिनी सडक खण्डमा बुद्ध आरएमसी स्थापना गरी व्यावसायिक उत्पादन सुरु गरेको एसआर गु्रपका प्रबन्ध निर्देशक सुरज उप्रेतीले बताए । उत्पादन परीक्षण भइरहेको र आम उपभोक्ताको प्रयोगका लागि आज (बिहीबार)बाट बुकिङ सुरु हुने उप्रेतीले बताए ।
बुद्ध आरएमसीमा जर्मन प्रविधिको पुट्ज माइजर मेसिन जडान भएको र उत्पादन क्षमता(घोलन क्षमता) प्रतिघन्टा ३० घनमिटर रहेको बुद्ध आरएमसीका प्रबन्ध निर्देशक सुरक्षा काफ्लेले बताइन् ।
उपभोक्ताको मागअनुसारको ग्रेडमा मिक्सर(घोल) बनाइने र आन्तरिक प्रयोगशालामा बालुवा, गिटी र सिमेन्टको परीक्षणपछि मात्र मिक्सर(घोल) बनाइने र तयारी भइसकेपछि पनि पुनः परीक्षणपश्चात् मात्र उपभोक्तालाई प्रदान गरिने भएकाले अन्यभन्दा उच्च गुणस्तरको र सुरक्षाको दृष्टिकोणले समेत राम्रो हुने काफ्लेले बताइन् ।
हालका लागि ३ वटा ट्रान्जिट मिक्सरबाट रुपन्देही, कपिलवस्तु र नवलपरासीसम्म ढुवानी गरिने बुद्ध आरएमसीको निर्देशक बलराम उपाध्यायले बताए ।
मिक्सरको प्रयोगबाट उपभोक्तालाई समयको बचत हुने, गुणस्तरीय सामान उपलब्ध हुने र हातको माध्यमबाट बनाइएको घोलभन्दा निकै राम्रो हुने भएकाले पनि अहिले यो प्रविधिबाट बनाइने सिमेन्ट, बालुवा र गिटीको मिक्सर(घोल) लोकप्रिय हुँदै गएको उपाध्यायले बताए ।
बुद्ध आरएमसिले बजारका अन्य मिक्सरभन्दा गुणस्तरीय र मूल्यमा समेत केही किफायती दरमा उपभोक्तालाई उपलब्ध गराउने जनाएको छ । बुद्ध आरएमसीसँगै रुपन्देहीमा तयारी मिक्स(घोल) उत्पादन गर्ने उद्योगहरूको संख्या ४ वटा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्