युवा किन देशमा बस्न चाहेको छैन ?

के गाउँ के सहर, कठिन भौगोलिक अवस्थादेखि सरल भूगोलसम्मका युवाहरूको अहिले एउटै स्वर छ— देशमा बस्ने वातावरण छैन, नेता सुध्रँदैनन्, प्रणाली अस्थिर छ, महँगीले डाँडा काटेको छ, रोजगारी र स्थायित्वका लागि विदेश । नेपालबाट खाडी राष्ट्रहरू, मलेसिया, दक्षिण कोरिया, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, डेनमार्कजस्ता देशहरूमा रोजगारी र पढाइको नाममा त्यसतर्फको भीड थामिनसक्नु छ ।
कामको अवधि सकिएपश्चात् खाडी राष्ट्रहरू, मलेसिया, दक्षिण कोरियालगायतका मुलुकबाट जनशक्ति देश फिर्ता भएका छन् भने अन्य स्थानमा गएकाहरूको आगमन शून्यजस्तै छ । ज्ञान र दाम पहिलो देशका मानव संसाधनले पठाउन सकेका छन् भने अन्य देशबाट एकदमै न्यून रकम र ज्ञान देशभित्र प्राप्त भएको छ । साँच्चै भन्ने हो भने देश पूरै यही पहिलो पंक्तिका देशहरूबाट चलेको छ भन्दा फरक नपर्ला । अर्कातिर देश भित्रिएको रेमिटेन्स बढी अनुत्पादक र कम उत्पादनमूलक क्षेत्रमा खर्च भइरहेको अनेकौँ तथ्यांकले प्रमाणित गरिसकेका छन् । योसँग हामी बेजानकार छैनौँ ।
विदेश गएपछि सबै पाइने, यहाँ नगरेका काम सबै गर्न हुने, सामाजिक विचलन बिर्सने, सम्बन्ध–विच्छेद बढे बढोस्, बुबा–आमा र अन्य परिवार जसरी बाँचोस् जस्ता विविध पक्ष कुर्कुच्चामा राखेर हामी विदेश यात्रा र रोजगारीमा होमिएका छौँ । वैदेशिक यात्रालाई अवसर प्राप्तिको परिभाषाभित्र राख्न पुगेका छौँ । प्रत्येकको घरमा छोरा वा छोरीलाई थाम्ने अवस्थामा हामी छैनौँ । उत्तरको अभावमा हँमा हँ मिलाइरहेका छौँ । बच्चाको वयष्कता बिर्सिरहेका छौँ । पैसा र उज्ज्वल भविष्यका लागि अँध्यारो विदेशी पाटो छिपाइरहेका छौँ । आर्थिक वर्ष ०७९-८० मा १ सय ४४ मुलुकमा ४ लाख ९४ हजारभन्दा बढी युवा विदेश गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा वैदेशिक रोजगार विभागको तथ्यांक छ ।
दुई डिजिटको खर्ब पनि देश भित्रिएको छ । गत कात्तिकमा मात्र ४३ हजार ६ सय २२ जना विदेश गएका छन् । विदेश जाने अहिले त दस जोड दुईका विद्यार्थी अधिक हुन थालेका छन् । यो उमेरमा विदेश पठाउन सक्षम र रोक्न असक्षम बन्दै गएका छौँ हामी । विदेशीले हाम्रो अवस्था र जवानीलाई उसकै देशमा पेलिइरहेको र जन्मघर फर्कन नदिएको, नागरिकतासँगै राष्ट्रियता बेचिरहेको हामीले बुझेर पनि बुझ पचाइरहँदा पनि हाम्रो यात्रा उतै तेर्सिएको छ । वैदेशिक रोजगार विभागलाई अत्याधुनिक बनाइरहेका छौँ, एजुकेसनल कन्सल्टेन्सी अनि मेनपावर सर्भिसेसलाई थप मलजल गरिरहेका छौँ । सरकार यसैमा व्यापार गरेर दल र कार्यकर्ता पालिरहेको छ । महँगी सर्वसाधारणमा थोपरिरहेको छ, जनतालाई त्राहिमाम पारिरहेको छ । महेश बस्नेत र दुर्गा प्रसाईंको भिडन्त गराएर ऊ मूकदर्शक बनेको छ ।
युवा गाउँमा बस्ने वातावरण नै हामीले बनाउन सकेका छैनौँ । जसको ज्वलन्त उदाहरण हो, प्रवेशिका परीक्षा नसक्दै विदेशी मोहका गाथाहरू बुनिनु र अभ्यासमा त्यसैको वर्चस्व हुनु । विप्रेषणको वाहवाही बढ्नु अनि कृषि, वन र माछापालनजस्ता पेसा, जसले अहिले पनि ५०.१ प्रतिशतलाई धानेको छ, त्यो क्षेत्रलाई पछि पार्दै जानु । आर्थिक काममा संलग्न १ करोड ४९ लाख ८३ हजार ३ सय १० मध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७.३ प्रतिशत रहेका छन् । यसपछि क्रमशः थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतका कार्यहरूमा १२.५ प्रतिशत, निर्माणमा ८.१ प्रतिशत, अन्य सेवा प्रदान गर्ने क्रियाकलापहरूमा ३.९ प्रतिशत, औद्योगिक उत्पादनमा ३.८ प्रतिशत जनसंख्या संलग्न रहेका छन् । तर पनि हामी विदेशी भूमिको श्रम बजारको आकर्षणमा जीवन बेचिरहेका छौँ । खेत बाँझो राखेर अर्काको देशमा ओखर र काजु फलाइरहेका छौँ ।
नेपालमा श्रम आप्रवासनको लामो इतिहास छ । करिब २ सय वर्षदेखि नेपाली पुरुष (थोरै महिला) रोजगारीका लागि घर छाडेर विदेश गएका छन् । सन् १९३० को दशकमा संगठित उद्योगको सुरुवात भए पनि राष्ट्रिय संरचनाको रूप २०४७ पछि मात्रै बनेको थियो । पहिले पनि बेलायती, भारतीय सेनामा विदेश जाने गरेका थिए । अहिले ठूलो संख्यामा मजदुर विदेश जाने गरेका छन् । रेमिटेन्सले देशको कमजोर अर्थतन्त्रलाई टेवा अवश्य दिन्छ र दिएको पनि छ तर दिगो रोजगारी समाधान भने पक्कै होइन । नीति निर्माता र योजनाकारहरूद्वारा प्रभावकारी योजनाको बेवास्ताका कारण विदेशी भूमिमा स्वदेशी श्रमिक बेचिन बाध्य भएका छन् । यो क्रम निरन्तर बढ्दो र हुँदाहुँदा डरलाग्दो स्वरूपमा पुगेको छ । रहेका केही युवा पनि खुईखुई गरेर बस्नुपरेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले भन्छ, विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई ३ सय ६५ अर्ब ३४ करोड पुगेको छ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत— नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३ सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २ सय ९७ रहेको छ । उसले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०८० असोज मसान्तमा १ अर्ब २० करोड लगानीमा रहेको बताए पनि नसक्नेको पहुँच पुगेको छ कि छैन, अत्तोपत्तो छैन । युवा देशमा थाम्न ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० असोज मसान्तमा ५० करोड ६६ लाख वक्यौता रहेको देखिएको छ र पनि युवा न रोकिएका छन्, न देशभित्रै वैकल्पिकता खोजेका छन्, खोज्ने वातावरण नै छ । मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । बैंकहरूको ब्याजदर घटे पनि बढ्दो महँगीले सामान्य जीवनमा सहजताको अनुभूति गर्न सकिएको छैन ।
देशको बजेट हेर्ने हो भने झन्डै ६० प्रतिशत विदेशी दाताको सहयोगमै बनेको छ । कति रकम त अनुदानमै प्राप्त भइसक्यो भने ऋण त वार्षिक अधिक उकालो यात्रामा छ । आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ९ करोड ८६ लाख ९६ हजार पुगेको छ । उक्त ऋणमध्ये ११ खर्ब ४० अर्ब ५३ करोड ३ लाख आन्तरिक ऋण रहेको छ भने ११ खर्ब ६९ अर्ब ३३ करोड ९३ लाख बाह्य ऋण रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुई महिनामै सरकारले ४९ अर्ब २३ करोड ३२ लाख ऋण थपेको छ । यस आधारमा हेर्ने हो भने नेपालको ऋण जिडिपीको ४३.५८ प्रतिशत हुन आउँछ । यता, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ को आधारमा हेर्ने हो भने एक नेपालीको भागमा ७९ हजार २ सय १ रुपैयाँ ऋण पर्ने देखिन्छ ।
दाताले दिएको रकमले राम्रो काम गरेर त्यसको ऋण समयमा तिर्दै रकम कम गर्दै जानुपर्नेमा न रकमको दर घट्छ, न सीप र जीवनस्तरमा प्रगति हुन्छ । सफलताभन्दा असफलताका दुखान्तहरूमा वृद्धि आएको छ । देशभित्र रोजगारी गुम्दै गएको छ भने विदेशी भूमिको आकर्षणमा वृद्धि गराएको छ । देशमा रेमिटेन्सले २५ प्रतिशत बढी योगदान दिएको छ । देशका आर्थिक पक्षहरू अस्थिरताको मारमा परेका कारण विदेश नेपालीको साझा गन्तव्य बन्न पुगेको छ । ठूलासाना ६० हजारभन्दा बढी उद्योगले यी श्रमिक थाम्न सकेका छैनन् । विदेश यात्रा रोक्न सक्ने सरकारका गतिला कदम नहुँदा अवस्था झनै असहज हुँदै गइरहेको छ । उद्योग छैन, कृषिमा आधुनिकीकरण र संरक्षण छैन, सेवामा सन्तुष्टि छैन, ज्यालामा असमानता र न्यून छ, आर्थिक क्षेत्रमा विविधीकरण छैन अनि शासन प्रणाली अस्थिर छ । यसैको कारण पनि देश थप परनिर्भर हुँदै गएको छ । र पनि हामी अझै राहदानी बेच्नमै व्यस्त छौँ र भन्दै छौँ— ‘सो बनाउन कुनै समस्या जनताले भोग्नु नपरोस् ।’
हरेक वर्ष ठूलो संख्यामा देशका श्रमशील र मेधावी युवा विदेश पलायन हुनु भनेको बाढीको भेलले जमिनको उर्वर माटो बगाएर लैजानुजस्तै हो । निश्चय नै यसरी युवा पलायनको भयावह अवस्था आउनुमा मुख्य जिम्मेवार पछिल्लो समयमा माथि उल्लेख गरिएकै कारणहरू हुन् । उच्च शिक्षा हासिल गरेकाहरूलाई देशमै उचित रोजगारी नपाउने अवस्था हो । बनेको जगमा काम गर्ने वातावरण सिर्जना नहुनु नै हो । कार्यकर्ता पालनपोषणभन्दा राजनीतिक दलहरू बाहिर निस्कन नसक्नु हो । स्वदेशमै रोजगारीको ग्यारेन्टी, सबै खालका श्रमको सम्मान र समाजिक सुरक्षाअन्तर्गत बेरोजगारलाई बाँच्न पुग्ने भत्ताको व्यवस्था नहुनु नै हो । असली कृषकलाई पाखा लगाउनु नै हो । समयमा गरिबले सहुलियत ऋण नपाउने अवस्था नै हो । उद्योग एवम् व्यापारमा विदेशी तथा स्वदेशीले पुँजी लगानी गर्ने वातावरण फराकिलो नभएका कारण नै अधिक युवाको रोजाइमा विदेश परेको सर्वविदितै छ । विश्वविद्यालयमा दिइने शिक्षा समाज र बजारसँगको तालमेलमा ठूलो शून्यता भएर नै हो । जसले गर्दा उच्च शिक्षा हासिल गर्नेहरू देशमै काम गरेर बस्ने वातावरण कम हुँदै जान थाल्यो । विश्वविद्यालयका पाठ्यक्रम तथा परीक्षा प्रणाली र समय व्यवस्थापनमा कमजोरी रह्यो । उच्च शिक्षालाई अनुसन्धानसँग र प्राज्ञिक अनुसन्धानलाई बजार र उद्योगसँग जोड्न हामीले सकेनौँ ।
हामीले अझै कलिला अनुहारहरूलाई विदेश ठेलिरहेका छौँ । मेचुरिटीको अभावमा विदेशमा बच्चाहरू अलमलिन पुगेका छन् । आशा गरिएनुसारको विदेश हुँदैन र छैन भनेर जानिएका कुरा पनि हामीले बच्चालाई साझा गरेका छैनौँ र विदेशी भूत हटाउन सकेका छैनौँ । हामीले सरकार, शासन व्यवस्था र नेतृत्वलाई औँला उठाउन सकेका छैनौँ । कृषक, ज्याला–मजदुरीको मुख्य मुद्दा कुनामा थन्क्याएर सरकारले व्यापार गरेको राहदानी बेच्ने कार्यलाई नै सहयोग गरिरहेका छौँ । यही पारा हुने हो भने देश आमाबुबाको मात्र हुनेछ । युवा कोही पनि देशमा हुने छैनन् अनि अन्तकै युवा आएर देश चलाउनुपर्ने विषम अवस्था आउने पक्का देखिएको छ ।
यदि विदेशकै मात्र नाम फलाक्ने हो भने अब केही वर्षमा ठिङ्ग घर मात्र नेपालमा देखिन्छन्, बस्ने कोही हुने छैनन्, किनकि के गाउँ, के सहर सबै सुनसान बन्दै गएका दृश्य अहिले नै हाम्रा आँखामा छन् । घरमा युवा नभएर बिरामी, साह्रोगाह्रो र मलामी जानेको संख्या निरन्तर कमी आइरहेको छ । सोचौँ, मनन गरौँ, व्यवहारमा उतारौँ— विदेशमा जति पढे पनि, नपढे पनि गर्न सबै कुरा मिल्ने अनि नेपालमा गर्न नमिल्ने हुन्छ र ? त्यति नै काम र क्षेत्र ओगट्ने हो भने यहाँको मोज र आनन्ददायी जीवन अरू कुनै देशमा होला त ! त्यसैले विदेशी भूत छाडौँ, देशमै बसेर सबैलाई सुधारौँ ।