उद्योग व्यवसाय निराशाजनक अवस्थाबाट गुज्रिरहेको छ

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ र रुस–युक्रेन यद्धका कारण नेपालको अर्थतन्त्र खलबलिएको छ । तरलताको अभाव, प्रतिस्पर्धी क्षमतामा ह्रास, मागमा आएको कमीलगायत विभिन्न कारणले लगानीको वातावरणसमेत धमिलिएको छ । नयाँ लगानी आउन सकेको छैन भने पुरानो लगानीलाई कसरी बचाइराख्ने भन्ने चिन्तामा छन् यतिबेला उद्योगी व्यवसायीहरू । खासगरी युवा उद्यमीले समेत त्यति जोखिम उठाउन चाहिरहेका छैनन् । आफ्ना बुबा र हजुरबुबाले सुरु गरेको उद्यम व्यवसायलाई निरन्तरता दिन ऊर्जा बोकेर आएका युवासमेत यतिबेला निराश देखिएका छन् ।
लगानीको प्रतिकूल वातावरणमा पनि मोरङ–सुनसरी औद्योगिक क्षेत्रका धेरै उद्योग युवाले नेतृत्व गर्न थालेका छन् । उनीहरू सबैको एउटै स्वर छ– यस्तै अवस्था रहिरहे उद्योग व्यवसाय गर्न सकिँदैन । सरकारले लगानीको वातावरण बनाउन विद्यमान कसिलो, झन्झटिलो र असजिलो नीति परिवर्तन गर्नुपर्ने उनीहरूको भनाइ छ । यस क्षेत्रमा लगानीको अवस्था, युवा उद्यमीको उपस्थिति, उद्योगीका समस्या, समाधानका उपाय, चुनौती र अवसरलगायतका विषयमा केन्द्रित रहेर युवा उद्योगीहरूसित कारोबारकर्मी मीनकुमार नवोदितले गरेको कुराकानीको सार :
सरकारले युवा र लगानीमैत्री नीति ल्याउनुपर्छ

लण्डनबाट डिजाइनिङ विधामा इन्जिनियरिङको पढाइ पूरा गरेर प्रोडक्सन, डिजाइनिङ, मार्केटिङ र अन्य व्यवस्थापनबाट उद्योग–व्यवसायमा प्रवेश गरेको हुँ । एक्टिभ रुपमा २०७७ सालदेखि उद्योग व्यवसायमा संलग्न हुन थालेको हो । त्यसभन्दा अगाडि पनि छुट्टीमा घर आउँदा उद्योग व्यवसाय हेर्ने गर्थें । उद्योग–व्यवसायका साथ सामाजिक आबद्धता र कर्पोरेट सामाजिक उत्तरदायित्व पनि लक्ष्य राखेर नेपालको समग्र विकासका लागि आफू प्रयास गर्न प्रतिबद्ध छु ।
हाल नेपाल उद्योग परिसंघ (सीएनआई) र राउण्ड टेबल समूहको सदस्यता लिएर अगाडि बढ्दै छु । जाजु ग्रुपअन्तर्गत एशियन थाई फूड्स प्रालि, हिमगिरि हाइजिन प्रालि, एशियन बिस्कुट एण्ड कन्फेक्शनरी प्रालि, गुडलाइफ बेवरेजेज प्रालि, जाजू ब्रदर्श, एशिया ट्रेड लिंक्सलगायत कम्पनी सञ्चालनमा रहेका छन् । त्यसमा बुबा महेश जाजु, दाजु आशिष जाजु, भाउजूले पनि हेर्नुहुन्छ । म खासगरी पारिवारिक पृष्ठभूमि र डीएनएमै उद्योग–व्यवसाय रहेको र ‘व्यापारे बसते लक्ष्मी’ मूल सिद्धान्तअनुसार आफ्नो धर्म–कर्म बुझेर लागेको हुँ । सयौं व्यक्तिलाई रोजगारी दिएको व्यक्तिले कसरी जागिर खानु भनेर पढाइ सकेर नेपाल फर्केको हुँ ।
अरुलाई रोजगारी दिने र राजस्वमार्फत मुलुकलाई सहयोग गर्ने भनेर पनि यो क्षेत्रमा लागेको हुँ । तर देशको अवस्था त्यति राम्रो छैन अहिले । हालको अवस्था आर्थिक मन्दी र नेपालको कमजोर आन्तरिक अर्थ अवस्थाका कारण समस्याग्रस्त नै भन्नुपर्छ । तथापि उत्पादनशील उद्योगहरू घरेलु माग पूर्ति गर्न संघर्ष गर्दै अगाडि गइरहेको यथार्थताबाट प्रोत्साहन पनि पाइरहेको छ । कोरोना महामारी र लामो लकडाउनको अवधिदेखि नै नेपालमा घरेलु उत्पादन कति शक्तिशाली र सामथ्र्यवान् छ सो कुरा प्रष्ट भइसकेको छ ।यहाँका उपभोक्तामा नेपाली उपभोग्य वस्तुप्रति माया देखेर म धेरै प्रभावित भएको छु ।
सुरूदेखि नै नेपाली घरेलु उत्पादन बढाउन आफूलाई केन्द्रित गर्दै आएको छु । मलाई बहुराष्ट्रिय कम्पनीहरूको उत्पादन र त्यसमाथिको निर्भरता कम गर्दै नेपालको आफ्नै उत्पादन बढाउन आवश्यक रहेको निजोड व्यवसायमा लाग्ने समयदेखि नै निकालेको हुँ । अहिले सरकार र खास गरी नेपाल राष्ट्र बैंक र अन्य वाणिज्य बैंकहरूको नीति–नियमनले गर्दा सानो र मझौलास्तरको उद्योग–व्यवसाय एकदमै समस्यामा परिसकेको देख्दैछु । बाजारबाट भुक्तानी पाउन पनि गाह्रो रहेको अनुभूति भइरहेको छ ।
बजारमा आर्थिक कारोबार घटेको, बैंकबाट कर्जा प्रवाह अल्पविरामको अवस्थाबाट गुज्रिरहेका कारण समस्या बढेको बुझिन्छ । रियल इस्टेट र पूर्वाधार संरचनाहरूको निर्माण कार्य पनि सुस्ताएका कारण उद्योग–व्यवसाय अल्मलिएको देख्दैछु । उद्योग व्यवसायमा स्वदेशी कच्चा पदार्थको आपूर्ति अवस्था भरपर्दो नभएको कारण बाहिरी मुलुक र खास गरी भारतबाट प्रोक्योरमेन्ट गर्नु बाध्यता रहेको छ । कतिपय वस्तु हाल आपूर्ति गर्न नसक्ने स्थितिका कारण अत्यन्तै जटिल समस्यामा रहेको देख्दैछु । अब बिस्कुट, कन्फेक्शनरी र बेवरेजेज उत्पादका लागि चिनी चाहिएको छ ।
न घरेलु उत्पादनबाट यो पूर्ति हुन्छ न भारतले निर्यात गर्न दिन्छ । त्यस्तै खाद्यान्न उत्पादहरू पनि नेपालमा मागअनुसार पूर्ति नरहेको र त्यसका लागि पनि भारतीय बजारमाथि निर्भरता रहेको अवस्था छ । तर हाल भारतले आफ्नो आन्तरिक माग पूर्तिका लागि सो वस्तुहरूको निर्यात निर्वाध रूपले हुन दिएको छैन । यी सब कतिपय नकारात्मक अवस्थाले नेपालको उद्योग–व्यवसाय प्रभावित भइरहेको छ । महँगाईको भारमा उपभोक्तालाई पार्नु उद्योगको चाहना छैन, तर प्रतिकूलताका कारण समस्या बढ़्दै गएको अनुभव गर्दैछु । त्यस्तै नेपालबाट मजदुर पलायन र श्रमदर पनि बढ्दै गएको समस्या पनि छ ।
सरकारको तर्फबाट समस्याग्रस्त उद्योग–व्यवसायलाई कुनै राहत छै । उल्टै ऋणको ब्याज र ऋणको चापबाट उद्योगी–व्यवसायीहरू आक्रान्त बनेका छन् । साना उद्योगहरू धेरै नै बन्द भइसकेको र ऋण तिर्ने अवस्थासमेत नरहेको डरलाग्दो अवस्था छ । हामीले प्रत्यक्ष–अप्रत्यक्ष दसौं हजार मानिसलाई रोजगार उपलब्ध गराएका छौं । उद्योग, बजार, विज्ञापन, परिवहन, बैंक, बीमा, भन्सार र विभिन्न व्यवस्थापनमा प्रत्यक्ष–अप्रत्यक्ष नियोजित गरेको रोजगार ठूलो महत्व राख्दै राष्ट्रिय परिदृश्यमा महत्वपूर्ण भूमिका गरिरहेको छ । राज्यले नेपाली उद्योगका लागि चाहिने प्रत्येक पक्षमाथि गम्भीर र गहिरो नजर राख्नु जरूरी छ ।
हाल कच्चा पदार्थको माग र पूर्तिसम्बन्धी विषयमा र बैंकिङ सिस्टमलाई बिजनेस फ्रेण्डली बनाउनु जरूरी छ । नेपाली उत्पादनको निर्यात बजार विकासमा प्रोत्साहन गर्ने प्रोत्साहन राशी (इन्सेन्टिव्स) र अन्य सुविधा तत्कालै घोषणा गर्नुपर्दछ । कच्चा पदार्थको आयातमा भन्सार शुल्क र अन्य करहरूको दायरा घटाउँदै सस्तो दरमा उत्पादन गरेर विश्वबजार सामु नेपाली उत्पादन प्रतिस्पर्धा गर्न सकोस् त्यस्तो नीति–नियम अपनाउनु जरूरी छ ।
आज भारतजस्तो ठूलो अर्थतन्त्रले नेपाललाई प्रिफरेन्शियल एन्ट्रीको सुविधा दिएर त्यत्रो बजार खुल्ला गरिदिएको अवस्था रहे पनि नेपाली उत्पादन भारतीय उत्पादनसँग नै प्रतिस्पर्धा गर्न सक्ने स्थिति छैन । अनि यस्तो ठूलो अवसरको नेपाली उद्योग–व्यवसायले के लाभ उठायो भन्ने समीक्षा गर्ने कि न गर्ने ? र, हामी कसरी भारतजस्तो विकसित अर्थतन्त्रसँग पाइला बढाएर आफ्नो जीडीपी बढाउन सक्छौं त्यसमा ध्यान दिने कि नदिने ? राज्यले चाहेपछि मात्र यस्तो विकासको बाटो प्रशस्त हुन्छ ।
मात्र अतिरञ्जन, राजनीतिक हो–हल्ला गरेर देशको अर्थतन्त्र निकास पाउने छैन । अप्ठ्यारो स्थितिबाट बाहिर निस्किन यो सब बिन्दुमा गम्भीरतापूर्वक चिन्तन–मनन् गर्दै नयाँ आर्थिक नीति अपनाउनु जरूरी छ । सरकारले ल्याएका नीति, कार्यक्रम र बजेट मात्रै कार्यान्वयन हुने हो भने देश धेरै नै अगाडि बढ्छ । तर सरकारले ल्याउने नीतिहरू कागजमै सीमित हुन आर्थिक विकास हुन सकेको छैन । अब सरकारले युवामैत्री र लगानीमैत्री नीति ल्याउनुपर्छ । युवा उद्यमीहरू देशको दयनीय अवस्थाका कारण उत्साहित छैनन् । व्यापार गर्न नै डराउँछ युवाहरू ।
बैंकको ऋण र ब्याजको मार, राज्यको असक्तता र बजारबाट समयमा भुक्तानीसमेत उठाउन गाह्रो रहेको स्थितिमा नयाँ उद्योग थप्ने जोखिम कसैले उठाउँदैन अहिले । पहिलादेखि नै विकसित व्यवस्थित व्यापार पनि बन्द हुँदै गएको छ । कुनै पनि काम मात्र पढेर र पढ़ाइको भरमा मात्र व्याख्या गरेर हुन सक्दैन । पढाइ जरूरी छ ज्ञानवर्धनका लागि । तर व्यवहारमा उतार्नका लागि परेर मात्र केही सम्भव हुन्छ । उच्च शिक्षामा वर्णित धेरै विधाहरू आज विश्व बजारलाई प्रभावित पारेको छ । तर हाम्रो नेपालमा त्यस विधाहरूबाट हालसम्म के कति टर्नओभर गरियो अथवा गरिंदैछ त्यसमाथि सबैको ध्यान जानु जरूरी देख्छु ।
आज आइटी प्रोफेशन र प्रोफेशनल्सहरू विश्वका थुप्रै विकसित राष्ट्रका लागि आउटसोर्सिंग माध्यमबाट काम गर्छन्, कमाउँछन् र राष्ट्रको आम्दानीमा बढोत्तरी गर्छन्, तर हाम्रो नेपाल यो क्षेत्रमा कहाँसम्म पुग्यो र यसबाट देशले के कति आर्जन गर्यो, समीक्षा गर्नु जरूरी छ । नेपालभित्रकै अनेकौ संशाधनको उपयुक्त दोहन के–कति भयो र राष्ट्रिय सकल लाभ कहाँ सम्म बढाइयो त्यस कुरामा पनि सोच्नु र विचार गर्नु जरूरी देख्दैछु । उद्यम–व्यवसायमा लाग्न चाहनेलाई माइण्ड, मनी, मेनपावर, मार्केट र म्यानेजमेन्टजस्ता ५ वटा ‘एम’ माथि समुचित विचार गर्दै आफ्नो देश र स्वदेशी उत्पादनलाई बढाउने संकल्प साथ अगाडि बढ्न मेरो सुझाव छ ।
सरकारले वातावरण बनाए लगानी आफैं आउँछ

सानैदेखि उद्योग व्यवसाय गर्ने रुची थियो । परिवारका सदस्य पनि उद्योग व्यवसायमा संलग्न हुनुहुन्थ्यो । बुबा नन्दकिशोर राठीसहित काकाहरू सबैजनाले उद्योग व्यवसाय गर्नुभएको थियो । खास गरी म २०६३ सालदेखि उद्योग व्यवसायमा प्रत्यक्ष रुपमा संलग्न भएको हुँ । अध्ययन पूरा गरेर म उद्योग व्यवसायमा लागेको हुँ । जुन उत्साहका साथ उद्योग व्यवसायमा लागेको थिएँ अहिले आएर उत्साह हराएको छ । देशको आर्थिक अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ ।
कोभिड–१९ को असर नसकिँदै सुरु भएको रुस–युक्रेन युद्धले उद्योग व्यवसायलाई थिलथिलो बनाएको छ । पछिल्लो समय इजरायल र हमासबीचको युद्धको असर पनि देखिन थालेको छ । विगत दुई वर्षदेखि उद्योग व्यवसाय पूरै बिरामी भएको छ । उद्योग व्यवसायको हामीले सास मात्रै बचाएर राखेका छौं अहिलेसम्म । कहिलेसम्म श्वास दिएर उद्योग व्यवसायलाई बचाउने हो भन्ने चिन्तामा छौं हामी । यस्तै अवस्था रह्यो भने चाँडै नै धेरै उद्योग बन्द हुने अवस्था देख्दैछु । सरकारी नीतिहरू पनि त्यस्तै छन् ।
कागजमा राम्रा–राम्रा नीति बनाइन्छ तर त्यसको कार्यान्वयन हुँदैन । सरकारी नीतिको अभाव, बैंकिङ समस्या, जनशक्तिको अभाव, खुला सीमाबाट आउने सामान यहाँका उद्योगका मुख्य समस्या हुन् । खुल्ला सीमानाका कारण धेरै उपभोक्ताले सीमावर्ती भारतीय बजारमा पुगेर सामान खरिद गर्ने प्रचलन छ । राज्यबाट सुविधा प्राप्त गरेका भारतीय उद्योगले उत्पादन गरेका वस्तुसित हामीले प्रतिस्पर्धा गर्नुपरेको छ । पछिल्लो समय घट्दो जनसंख्याले पनि समस्या सिर्जना गरेको छ । खर्च गर्ने उमेर भनेको युवा हुन् । उनीहरू देशभित्र छैनन् । अधिकांश युवा विदेश पलायन भएका छन् ।
बालबालिका र ज्येष्ठ नागरिकको संख्या बढ्दो छ तर युवाको भने घट्दो छ । खर्च गर्ने उमेर समूहको पलायनले उद्योग व्यवसाय प्रभावित भएको छ । उद्योग व्यवसायमा समस्या थपिँदै गएको छ । नयाँ पुस्ता यहाँ काम गर्न चाहँदैनन्, बाहिर पढ्नेहरू फर्कन चाहँदैनन्, यहाँ बस्नेहरू देश छोड्ने पहिलो अवसर खोजिरहेका छन् । यस्तै समस्याकै बीचमा पनि हाम्रो ग्रुपले २ सयभन्दा बढीलाई रोजगारी दिएका छौं । अझै पनि निराश हुने अवस्था छैन सरकार गम्भीर हुने हो भने । सकारात्मक नीति, तरलता र ब्याजदर नियन्त्रण, सीमामा कठोरता, युवाप्रतिको धारणा, राजनीतिक स्थिरता हुने हो भने लगानी बढ्न सक्छ ।
नेपालमा आर्थिक विकासका प्रचुर सम्भावना छ । सरकारले सम्भावनालाई अवसरमा बदल्न सकेको छैन । सरकारले वातावरण बनाइदिने हो भने लगानी आफैं आउँछ । कृषि, पर्यटन र ऊर्जा नेपालको विकासका आधार हुन् । उद्योगलाई कषिसित जोड्न सकेमा हामीले ठूलो मात्रामा भारत र तेस्रो मुलुकबाट कच्चा पदार्थ आयत गर्नुपर्दैन् । अवसरहरू धेरै छन् तर नीति, कानुनमा सुधार र लगानी अनुकूल वातावरण बनाउन सरकारबाट धेरै काम गर्न आवश्यक छ ।
देशको परिस्थितिले गर्दा युवा उद्यमी निराश छन्

विगत दुई वर्षदेखि उद्योग व्यवसाय एकदमै निराशाजनक अवस्थाबाट गुज्रिरहेको छ । महामारीका रुपमा विश्वभरि फैलिएको कोभिड–१९ को असर नसकिँदै सुरु भएको रुस–युक्रेन युद्धले विश्वकै अर्थतन्त्रलाई हल्लाइदिएको छ । कोभिड र युद्धको असर हाम्रो जस्तो विकासोन्मुख मुलुकलाई बढी परेको छ । देशको बिग्रँदो अर्थतन्त्र सुधार्नेतर्फ सरकारले खासै ध्यान दिएजस्तो मलाई लाग्दैन । सरकार मात्रै होइन सबै राजनीतिक दलहरू एकैठाउँमा उभिएर देशको अर्थतन्त्र सुधार्नुपर्छ ।
उद्योग व्यवसाय गर्नेलाई अरु केही चाहिँदै लगानीको वातावरण चाहिन्छ । लगानीको वातावरण भन्नाले सडक, बत्ती, शान्ति सुरक्षा, उद्योग व्यवसायमैत्री नीति नियमलगायत पर्दछन् । सरकारले वातावरण बनाइदिने हो भने निजी क्षेत्रले जति पनि लगानी गर्न सक्दछन् । हामीजस्ता धेरै युवाहरू स्वदेशमै केही गरौं भनेर विदेशमा अध्ययनपछि आएका छन् । हजुरबुबा र बुबाहरूले सञ्चालन गरेका उद्योग सम्हालेका छन् । यो क्षेत्रका ठूला औद्योगिक घरानाबाट सञ्चालित उद्योगहरू युवाले नै लिड गर्न सुरु गरेका छन् ।
तर देशको परिस्थितिले गर्दा युवा उद्यमीहरू निराश देखिन्छन् । सरकारले नीति बनाउँछ त्यसको कार्यान्वयनमा ध्यान दिँदैन । सरकारले बनाएका सबै नीतिहरू कार्यान्वयन हुने हो भने उद्योग व्यवसाय फस्टाउने थिए । उद्योग व्यवसाय फस्टाउनु भनेको आयात प्रतिस्थापन हुनु हो । आयात प्रतिस्थापन हुनु भनेको व्यापार घाटा कम हुनु हो । प्रशस्त रोजगारी सिर्जना हुनु हो । राजस्वमार्फत राज्यको ढुकुटी बलियो हुनु हो । तर सरकारले यो कुरा बुझेको छैन जस्तो लाग्छ मलाई । उद्योगी व्यवसायी धनी हुनु भनेको देश पनि धनी हुनु हो ।
देशभित्रका नागरिक जति धेरै धनी हुन्छन् त्यति धेरै देश समृद्ध हुन्छ । मैले सञ्चालन गरेको उद्योगमा करिब ७ सय जनाले रोजगारी पाएका छन् । राम्रा नीति बन्ने र समयमै पुँजीगत खर्च हुने हो भने देशले विकासमा फड्को मार्ने निश्चित छ । समयमै पुँजीगत खर्च हुने हो भने त्यो पैसा बजारमै जान्छ । जस्तो कि सडक, पुलपुलेसा समयमै निर्माण हुने हो भने सिमेन्ट, रडलगायतका सामग्री बिक्छ । त्यो पैसा उद्योगीले सिधा रुपमा प्राप्त गरे पनि त्यो पैसा बजारमै जान्छ । मजदुरले काम पाउँछन् । उनीहरूले कमाएको पैसा खानेकुरामा खर्च हुन्छ ।
जबसम्म असारे विकास रोकिँदैन तबसम्म देशले विकासमा गति लिँदैन । हतारहतार गरेको काम भरपर्दो र टिकाउ पनि हुँदैन । नेपाल सम्भावनै सम्भावना भएको देश हो । यहाँ के छैन ? जलस्रोतमा विश्वको दोस्रो धनी देश, कृषिमा पनि सम्भावनै सम्भावना देखिन्छ । पर्यटनको त कुरै नगरौं । विश्वको सर्वोच्च शिखर सगरमाथामात्रै नभइ ८ हजार मिटरभन्दा अग्ला थुप्रै हिमाल छन् नेपालमा । कृषि, पर्यटन, ऊर्जालाई प्राथमिकतामा राखेर काम गर्ने हो भने देशले एक दशकमै विकासमा काँचुली फेर्नेछ । उद्योगलाई कृषिसँग जोड्नुपर्छ । कृषि क्षेत्र फस्टाएमा कृषिमा आधारित उद्योग धमाधम खुल्नेछन् । प्रचुर सम्भावना भएर पनि हामी धेरै पछि परेका छौं ।
बजारको पनि समस्या छैन । विश्वको आधा जनसंख्या त दुई छिमेकी मुलुक भारत र चीनमा मात्रै छ । हामीले जति उत्पादन गरे पनि यी दुई मुलुकमा निर्यात गर्ने हो भने पनि हुन्छ । उद्योग व्यवसाय सञ्चालन गर्न अहिले निकै नै गाह्रो भइरहेको छ । विद्युत समस्या, बैंकको चर्को ब्याजदर, बजारको अभाव, चोरी निकासी भएर आएका वस्तुसित प्रतिस्पर्धा गर्नुपरेको छ । यो क्षेत्रमा विद्युत आउने र जाने टुंगो हुँदैन । लो–भोल्टेजको समस्या पनि बढ्दो छ । ऋण लिने बेलामा एउटा ब्याजदर हुन्छ तर पछि बैंकहरूले आफूखुसी ब्याज बढाउँदै जाने प्रवृत्ति छ । ऋण लिँदाको ब्याजका आधारमा लगानीकर्ताले उद्योग व्यवसाय खोलेको हुन्छ ।
तर आफूखुसी ब्याज बढाउँदा उद्योगी व्यवसायी समस्यामा परेका छन् । नेपालको पूर्वदेखि पश्चिमसम्म खुला सीमाना छ । चोरी भएर आएका सामानसित प्रतिस्पर्धा गर्न निकै गाह्रो छ । झन्झटिलो सरकारी प्रक्रियाले गर्दा लगानीकर्ता निराश भएर पलायन हुनुपर्ने अवस्था छ । एकद्वार प्रणालीमार्फत उद्योग दर्ता र खारेज हुने व्यवस्था मिलाउनुपर्छ । सरकारले हरेक वर्ष बजेट ल्याउँछ तर त्यसको कार्यान्वयनमा भने ध्यान दिँदैन । चौमासिक रुपमा बजेट कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन सार्वजनिक हुनुपर्छ । बढीभन्दा बढी निर्यात गर्ने र रोजगारी दिने उद्योगलाई राज्यका तर्फबाट सुविधा दिनुपर्छ । यसो गरेको खण्डमा नयाँ उद्योगहरू पनि खुल्न सक्छन् ।
प्रविधिले युवा उद्यमीका लागि अवसर बढाएको छ

अहिलेको अवस्थामा अन्यत्र जस्तै यो क्षेत्रको औद्योगिक अवस्था पनि उत्साहजनक छैन । भूकम्प र कोभिडबाट थलिएका उद्योगहरू पछिल्लो समय भएको रुस–युक्रेन युद्धका कारण औद्योगिक कच्चा पदार्थको मूल्यवृद्धि, बैंकको चर्को ब्याजदरलगायतले यस क्षेत्रका उद्योग उत्पादन कटौती गर्न बाध्य भएका छन् । भएको उत्पादन बजार जान सकेको छैन । उधारो रकम उठ्न सकेको छैन । नयाँ लगानी आउन सकेको छैन । भएका उद्योगहरू पनि रुग्ण अवस्थामा चलिरहेका छन् । उद्योग व्यवसाय गर्ने वातावरण छैन अहिले । उद्योगी व्यवसायी निराश छन् ।
देशमा राजनीतिक अस्थिरताका कारण निजी क्षेत्रप्रतिको सरकारी दृष्टिकोणमा पनि परिवर्तत भइरहने अवस्था छ । राजनीतिक दलहरूबीचको द्वन्द्वका कारण उनीहरूले आर्थिक विकासभन्दा आफ्नो दलतर्फ बढी केन्द्रित भएका छन् । अर्कोतर्फ उद्योगीका तर्फबाट पनि अध्ययन गरेर तथ्यमा आधारित कुरा राख्न सकिरहेका छैनन् भने निजी क्षेत्रबीचमा पनि सुसुप्त अन्तरद्वन्द्व हुँदा साझा मुद्दा उठान्मा समेत एकरुपता हुन सकेको देखिँदैन । व्यवस्थित संवाद कम हुने र सार्वजनिक मञ्चबाट एकअर्काका बारेमा टिकाटिप्पणी गर्ने संस्कारले मुद्दा कमजोर बन्ने र सरकारले ध्यान नदिने अवस्था बनेको छ ।
म जन्मनुभन्दा अघिदेखि नै विराटनगरको चक्रपथ (रिङरोड), विशेष आर्थिक क्षेत्र, क्षेत्रीय विमानस्थल, औद्योगिक प्रदर्शनीस्थलको माग यहाँका उद्योग वाणिज्य संघलगायतका सरोकारवालाले राख्दै आएको मेरो जानकारीमा छ । अहिले पनि चक्रपथको ट्रयाक खोल्ने कामसमेत सम्पन्न भएको छैन भने विशेष आर्थिक क्षेत्र अध्ययनमै सीमित छ । औद्योगिक प्रदर्शनीस्थल नहुँदा यस क्षेत्रको उत्पादनको बजारीकरणमा असर परिरहेको मैले ठानेको छु । तर, किन सरकारले यसमा खासै ध्यान नदिएको वा गर्न नचाहेको मैले बुझ्न सकेको छैन ।
दबाब नपुगेको हो भने उद्योग वाणिज्य संघले गर्ने हरेक कार्यक्रममा यी विषय उठान् गर्ने र सरकारलाई दबाब दिइरहेको छ । प्रतिबद्धता पूरा नगर्ने राजनीतिक नेतृत्वको प्रवृत्तिका कारण यस्तो भएको जस्तो लाग्छ । यस क्षेत्रबाट राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विभिन्न मन्त्रालयका मन्त्रीहरू हुनुभयो । तर उहाँहरूले पूर्वका लागि खासै चासो दिएको देखिएन । विराटनगर देशकै ऐतिहासिक र पुरानो सहर हो । तर, धेरै पछि स्थापना भएको अन्य सहरले विकासमा धेरै नै फड्को मारिसकेका छन् । ती सहरको तुलनामा विराटनगरले धेरै नै विकास गर्नुपथ्र्यो ।
उत्पादनले बजार नपाउँदा कयौं उद्योगले क्षमताभन्दा कम उत्पादन भएको, कर्मचारी र कामदार कटौती गर्नु परेकोलगायतका समस्या रहेका छन् । कतिपय उद्योगले उत्पादन नै रोकेको अवस्था पनि छ । सञ्चालनमा रहेका उद्योग पनि विद्युत आपूर्तिका समस्या, कच्चा पदार्थको उच्च लागत, दक्ष कामदारको उपलब्धता नभएको जस्ता समस्याबाट गुज्रिरहेका छन् यहाँका उद्योगहरू । बैंकको ब्याजदर उच्च हुनु समस्या भए पनि यो नै मुख्य समस्या होइन जस्तो लाग्छ । विगतमा बैंकको ब्याज उच्च हुँदा पनि उद्योग व्यवसाय नाफामा नै सञ्चालित थिए ।
अहिले मुलत: क्रयशक्ति भएको जनसंख्या युरोप, अमेरिका जाने, अध्ययन र उपचारका नाममा पुँजी बाहिरिने जस्ता समस्याले बजार संकुचन भएको छ । यसको प्रभावले मन्दीको संकेत बजारमा देखिएको छ । युवाहरू व्यवसाय सुरुवात गर्न उत्प्रेरणा र लगानी सुरक्षाको प्रत्याभूतिको अभावका कारण उद्योग व्यवसायमा प्रवेश गर्न हिच्किचाउने अवस्था छ । केहीले भने सफ्टवेयर, एप्सलगायत निर्माण गरेर निर्यात गर्ने, अनलाइन व्यापार गर्ने जस्ता नयाँ शैलीका उद्योग व्यवसायबाट प्रगति गरिरहेको अवस्था छ । प्रविधिको विकासले युवा उद्यमीका लागि अवसर बढाएको छ ।
उद्योग व्यवसायमा प्रवेश गर्नुअघि उत्पादन सम्भाव्यता बजार आदिको बारेमा बुझाई हुनु आवश्यक छ । नविन सोच पनि त्यतिकै आवश्यक छ । विस्तार प्रवर्द्धनको काम भने अनुभवका आधारमा गर्ने हो । नेपालमा प्रशस्त अवसर छन् । सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिने र देशमा राजनीतिक स्थिरता मात्र हुने हो भने पर्यटन क्षेत्रमा अर्बौं थप लगानी गर्दा फरक पर्दैन । परम्परागत पेशा व्यवसाय गर्ने, काम गर्ने तरिका नबदल्ने र अरुको नक्कल मात्र गर्नेबाहेक नयाँ तरिकाले काम गर्ने, नयाँ वस्तु तथा सेवा उत्पादन गर्ने तथा बजारीकरणको सीप भएकाहरूले विश्वबजारमा उत्पादन बेच्न सक्ने हुनाले स्थानीय बजारलाई लिएर चिन्तित हुनुपर्दैन ।
अहिले उद्योग व्यवसायमा युवा पुस्ता त्यति आइरहेको देखिँदैन । आउन चाहनेका लागि म के सल्लाह दिन चाहन्छु भने सर्वप्रथम बजार अध्ययन गर्नुहोस् । सीप र दक्षता भएको क्षेत्रलाई प्राथमिकता दिनुहोस् । उद्योग स्थापना गर्ने भए श्रमिक, दक्ष जनशक्ति, कच्चापदार्थ, ऊर्जाको उपलब्धतालगायत यकिन गर्नुहोस् । स्थानीय प्रदेश र स्थानीय सरकारको नीति र प्राथमिकता बुझ्नुहोस् । व्यवसाय नाफामा जान समय लाग्ने हुँदा धैर्यता आवश्यक छ । अरुले गरेको भन्दा फरक काम गर्नुहोस् वा त्यही काम गर्ने भए नयाँ तरिकाले गर्नुहोस् । यी सफलताका केही सूत्र हुन सक्छन् तर धेरै कुरा अनुभवबाट थाहा हुँदै जान्छ ।