Logo

पोखरा र लुम्बिनीबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग

भैरहवा– पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न कुटनीतिक रूपमा पहल गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । होटल संघ पोखरा नेपालले सुरू गरेको ‘जाऔं है पोखरा अभियान’ अन्तर्गत शनिबार लुम्बिनी प्रदेशको भैरहवाका पर्यटन व्यवसायीसँगको छलफलमा राज्यको अर्बौं लगानी भएको अन्तर्राष्ट्रिय विमानस्थलमा उद्देश्यअनुरुप अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न कुटनीतिक पहल नै गर्न जोडदार माग गरेका हुन् ।

पोखरामा विगत एक वर्ष अघिदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चारवटा मात्र चाट्र्ड फ्लाइट भएको छ भने लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विगत चार महिनादेखि यहाँका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न माग गर्दै आन्दोलित भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि धर्ना दिने कार्यक्रम चलिरहेको छ ।

पोखरा र भैरहवामा एकसाथ पर्यटन प्रवर्द्धन गर्नका लागि दुवै सहरमा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अनिवार्य रहेको र त्यसका लागि सामूहिक पहल गर्नुपर्नेमा जोड दिइएको थियो । काठमाडौंका सीमित व्यक्तिले आफ्नो फाइदाका लागि पोखरा र भैहरवाका विमानस्थल सञ्चालनमा अवरोध गरेको सहभागीको आरोप थियो । त्यसैगरी सहभागीहरूले पोखरा–लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्ग र बुटवलबाट नारायणगढ, मुग्लिङ हुँदै पोखरा जोड्ने राजमार्गको समयमै काम सम्पन्न गरिनुपर्नेमा समेत जोड दिए ।

पर्यटन विकास परिषद् लुम्बिनीका अध्यक्ष रामु जोशीले प्रदेशमा रहेका पर्यटकीयस्थलका बारेमा जानकारी दिन सकिए पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने दाबी गरे । उनले बुद्ध जन्मस्थल लुम्बिनी र बर्दिया राष्ट्रिय निकुञ्जलगायत लुम्बिनीका पर्यटकीयस्थल रहेको उल्लेख गरे । पर्यटन क्षेत्र चलायमान गराउन एकीकृत रूपमा काम गर्नुपर्नेमा अध्यक्ष जोशीको जोड थियो ।

सिद्धार्थ होटल संघ भैरहवाका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयर र हिमालयन एयरलाइन्सले केही उडान गरे पनि निरन्तरता दिन नसकेको गुनासो गरे । राज्यको अर्बौंको लागतमा निर्माणमा बनेका विमानस्थल सञ्चालन नभए अर्थतन्त्र चलायन नहुने उनले दाबी गरे । सिद्धार्थ सञ्जाल लुम्बिनी विगत चार महिनादेखि आन्दोलनमा रहेको जानकारी दिँदै उनले माग सुनुवाइ नभए आन्तरिक उडानसमेत बन्द गर्ने आफूहरूले तयारी गरेको अध्यक्ष श्रेष्ठले चेतावनी दिए ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले सरकारले पूर्वाधार निर्माण गर्न उक्साएको तर व्याजदर बढाएर व्यवसायीलाई हाल धरासायी बनाएको आरोप लगाए । देशका सबै पर्यटन व्यवसायीका समस्या साझा रहेको बताउँदै उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिएजस्तै विमानस्थल सञ्चालनका लागि दबाब बढाउनुपर्ने अवस्था आएको उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरेलीले पनि अन्तर्राष्ट्रिय हवाई उडान छिट्टै हुने आशामा रहेको बताउँदै अझै पोखराबाट पनि अन्तर्राष्ट्रिय हवाई उडान गर्न ढिलाइ भएमा धैर्यताको बाँध फुट्नसक्ने चेतावनी दिए । पोखरा क्षेत्रमा करिब ६ खर्ब लगानी भएको दाबी गर्दै उनले उक्त लगानी र व्यवसायीको राहतका लागि एक अंकको व्याजदरमा घटाउनु पर्ने माग गरे ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत कुन्दन मिश्रले नेपाल आउने पर्यटकलाई गुणस्तरीय आतिथ्यता दिनुपर्ने बताए । नेपालमा विदेशबाट आएको प्रतिपर्यटकबाट नेपाल सरकारलाई एक हजार राजस्व संकलन हुने उनले दाबी गरे । नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले गन्तव्यको सुरक्षा र सेवा सुविधाको सुनिश्चित गर्नुपर्ने बताइन् । पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न महेन्द्रनगरसम्म ६ दिने जाऊँ है पोखरा अभियान सुरु गरिएको टोली शनिबार भैरहवाबाट नेपालगन्ज प्रस्थान गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

टोली नेपालगन्ज, धनगढी हुँदै महेन्द्रनगरसम्म जाने भएको छ । कोभिड–१९ को महामारी र आर्थिक मन्दीले सुस्ताएको पर्यटन क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न संघले मंसिर २९ देखि पुस ४ गतेसम्म ६ दिने उक्त कार्यक्रम आयोजना गरिएको संघका महासचिव राजेन्द्र ढकालले बताए । टोलीमा संघका पदाधिकारीसहित पर्यटन व्यवसायी र पत्रकारको सहभागिता रहेको छ । उक्त कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्