निगम कर्मचारीको धर्ना जारी

काठमाडौं– नेपाल वायुसेवा निगमका कर्मचारीले ८ औं दिन पनि धर्ना जारी राखेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ प्रबन्ध) सेवा फिर्ता लिने नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया अगाडि बढाएसँगै कर्मचारीले आन्दोलन तथा धर्नाका कार्यक्रम जारी राखेका हुन् ।
ग्राउण्ड ह्याडलिङ सेवा निगमबाट फिर्ता लिने निर्णयको विरुद्धमा निगमका संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो । सोही आन्दोलनकै निरन्तरता स्वरुप बुधबार पनि समितिले धर्नालाई यथावत राखेको छ । नागरिक उड्डयन प्राधिकरणको सो निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम निरन्तर रहने संघर्ष समितिले जनाएको छ ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै निगम कर्मचारी युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष डा. ऋषिकेश पन्थीले निजी वायुयान कम्पनीसँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहक विमानलाई कमजोर बनाउन नहुने बताए । निगमले कमाएको पैसा मुलुकभित्रै परिचालन हुने र पुँजि पलायन नहुने भन्दै यसले अर्थतन्त्रको विकासमा सघाउ पुर्याउने उनले बताए ।
निगमले पुँजि पलायन रोक्नका लागि आन्दोलन गर्नु परेको र निगमको आन्दोलन राष्ट्रियताको आन्दोलन भएको उनीहरुको भनाई थियो । कर्मचारी युनियन निजी हवाइजहाज सबैसँग कमिसन खाने अनि राष्ट्रिय ध्वजावाहकलाई कमजोर बनाउन नपाइने भनेको छ । आफूहरू विगत ८ दिनदेखि आन्दोलित हुँदा पनि विभागीय मन्त्रीले कुनै चासो नदेखाएको बताएका छन् ।
आफूहरुको माग सम्बोधनका लागि सरकार र विभागीय मन्त्री जिम्मेवार नबनेको भन्दै निरन्तर आन्दोलनमा जाने उनीहरुको भनाइ थियो । निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिष्पर्धाका आधारमा नभएर स्वत: नियमले पाउनुपर्ने माग राख्दै आन्दोलन सुरू गरेका थिए ।
उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिष्पर्धाबाट दिने निर्णय गरेसँगै ग्राउण्ड ह्याण्डलिङ सेवा वायुसेवा निगमले नै पाउनुपर्ने माग राख्दै आएको हो । वार्षिक ४ अर्ब देखि ५ अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले बिरोध गरेका हुन् ।
यता निगम कर्मचारीको माग न्योचित नभएको खुल्ला प्रतिस्पर्धाबाट नै ग्राउन्ड ह्यान्डिलिङ सेवा दिनु पर्ने माग गर्दै प्राधिकरण व्यवस्थापनलाई दबाब दिएको हो । त्रिभुवन विमानस्थलमा ग्राउण्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट, ५ सदस्यीय समिति गठन समेत गठन गरेको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्यान्डलिङ दिने कम्पनी प्रतिस्पर्धाबाट छनोटको लागि समिति गठन गरेको हो ।