Logo

नेपालको आर्थिक नीतिमा सुधार भइरहेको छ

काठमाडौं– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक नीति क्रमिक रुपमा सुधार हुँदै आएको जनाएको छ । आईएमएफका मिसन चिफ टिडिएन किन्डाले बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारले कठिन अवस्थामा पनि आर्थिक नीतिमा सुधार गरिरहेको बताएका हुन् । कोभिड महामारीका क्रममा लचिलो मौद्रिक नीतिमार्फत बजारमा अत्यधिक तरलता विस्तार भएपछि बाह्य क्षेत्र प्रभावित भई मौद्रिक व्यवस्थापनमा कठिन भएको थियो ।

यद्यपि, त्यसको सुधारका लागि त्यसपछिको कडा मौद्रिक नीतिमार्फत सुधार गरी अर्थतन्त्रलाई सही लयमा फर्काउन पहल गरिएको उनले बताएका छन् । नेपालको पर्यटन क्षेत्रमा सुधार आएपछि त्यसको प्रत्यक्ष प्रभावले बाह्य क्षेत्र व्यवस्थापन सहयोग पुगेको मिसन चिफ किन्डाले बताएका छन् । आगामी दिनमा अर्थ मन्त्रालयले वित्तीय अनुशासन कायम गर्दै जिम्मेवारीपूर्वक काम गर्नुका साथै राष्ट्र बैंकले समेत वित्तीय क्षेत्रको स्थायित्वका लागि काम गर्नु पर्ने किन्डाको सुझाव छ ।

आगामी दिनमा पनि अर्थ मन्त्रालयले वित्तीय अनुशासन कायम गर्दै काम गर्न सक्यो भने नेपालको आर्थिक वृद्धि बढ्न सक्ने किन्डाको भनाइ थियो । एकातिर सरकारले वित्तीय अनुशासन कायम गर्दै राजस्व वृद्धि गर्नुपर्ने चुनौती छ भने उच्च गुणस्तरीय पूर्वाधार परियोजना लगानी बढाउनुपर्ने पनि छ । राष्ट्रिय योजना आयोगले गुणस्तरीय पूर्वाधार विकास कसरी गर्ने भन्ने योजना बनाउनुपर्नेमा जोड दिँदै उनले समग्रमा सरकारले संरचनात्मक सुधार गर्न जरुरी भएको औंल्याए ।

सरकारको ऋण बढ्दै जाँदा वित्तीय अनुशासनको विषय उठेको हो । पछिल्ला वर्षमा सरकारले लिएको ऋण व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती छ । ऋण लिएर कहाँ खर्च गर्ने र किन ऋण लिने भन्ने प्रष्ट रणनीति र मापदण्ड बनाउन ढिला भइसकेको इंगित उनले गरेका छन् । वित्तीय अनुशासन कायम गर्दै पुँजीगत खर्च सही तरिकाले बढाउन सके आगामी दिनमा नेपालको अर्थतन्त्र थप बलियो बन्दै जाने मिसन चिफ किन्डाले बताए ।

नेपाल सरकारले कोषसँग आर्थिक तथा वित्तीय क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाउँदै विस्तारित कर्जा सुविधा (ईसीएफ) लिएको थियो । कोषसँगको प्रतिवद्धताअनुसार काम गरे पनि ईसीएफको दुई किस्ता निकासा भइसकेको छ । ईसीएफ तेस्रो मूल्यांकन कोष सञ्चालक समितिले नोभेम्बर २९ मा सम्पन्न गरेको थियो । उक्त मूल्यांकनपछि सार्वजनिक प्रतिवेदनका विषयमा जानकारी दिन कोषले पत्रकार सम्मेलन गरेको थियो ।

ईसीएफ खासगरी राजस्व परिचालन, व्यय दक्षता र सहुलियतपूर्ण रकम सुरक्षित गर्ने सवालमा कार्यहरु गर्नमा जोड दिनेछ । आईएमएफले नेपालको नजिकको मुलुक भारतमा पनि महँगी घट्दै गएकोले नेपालमा पनि त्यसको असर छिट्टै पर्ने बताएका छन् । राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको पहिलो समीक्षा सकारात्मक भएको आईएमएफले जनाएको छ । आउने दिनमा महँगी कम हुँदै जाने र आर्थिक गतिविधिहरुमा सकारात्मक प्रभाव पर्ने तथा यसले आर्थिक मार्ग बलियो बनाउँदै जाने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्