सेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले सञ्चालकहरूको स्वामित्वमा भएको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक भएको बताएको छ । धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित व्यवस्था अव्यवहारिक भएको ठहर चेम्बरले गरेको हो ।
निर्देशकाको ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने ’ व्यवस्था संशोधन गर्न पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारीले अर्थ सचिव कृष्णहरी पुष्करसँग अर्थमन्त्रालयमा भेट गरी धितोपत्र बोर्डबाट जारी भएको निर्देशिका अव्यवहारिक भएको चेम्बरले बताएको छ ।
कुनै व्यवसायीले आफनो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितीमा उद्यम, व्यवसायको विविधिकरणलगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताएका थिए । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं ।’