अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न इन्सिनरेटर

बिर्तामोड– अस्पतालबाट निस्कने अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न समस्या भइरहेको अवस्थामा झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि इन्सिनरेटर जडान गरी सञ्चालनमा ल्याएको छ । मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले अस्पतालबाट निस्कने अस्पतालजन्य फोहोर जमिनमुनि गाड्दै आइरहेकोमा बिर्तामोड–२ स्थित सहिद स्मृति प्रतिष्ठान क्षेत्रमा इन्सिनरेटर जडान गरी सञ्चालनमा ल्याएको हो ।
पूर्वाधारसहित २० लाख लागतमा मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न उक्त फोहोर जलाउने मेसिन (इन्सिनरेटर) शनिबारबाट प्रयोगमा ल्याएको मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल व्यवस्थापन समितिका सचिव रोमणी भट्टराईले जानकारी दिए । हरेक सहरमा यस्तै प्रविधिबाट फोहोरको व्यवस्थापन गर्ने गरिएको पाइएकाले नेपालका लागि पनि यस्तो प्रविधि उपयुक्त हुने लागेर मेसिन ल्याइएको उनले बताए ।
भारतको सोलिडटेक वेस्ट एण्ड डिस्पोजल प्रालिद्वारा निर्मित उक्त इन्सिनरेटर वातावरणमैत्री रहेको बताउँदै उनले उक्त मेसिनमा फोहोर जलाउन इन्धन वा विद्युतको आवश्यकता नपर्ने जनाए । इन्सिनरेटरमा फोहोर राखेर आगो सल्काएमात्र पुग्ने हुँदा शून्य लागतमा फोहोर जलाउन सकिने बताउँदै उनले यो प्रविधि सफल भए अस्पताललाई चुनौतीको रूपमा रहेको फोहोर व्यवस्थापन सहज हुने जनाए । इन्सिनरेटरमा धातुजन्य र सिसाबाहेकका फोहोर जलाउन मिल्ने मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष रविन कोइरालाले जानकारी दिए ।
कम लागतमा फोहोर व्यवस्थापन गर्न सकिने देखेर इन्सिनरेटर जडान गरिएको उनको भनाइ छ । अस्पतालले जडान गरेको उक्त इन्सिनरेटरमा एक पटकमा एक सय किलो फोहोर हाल्न सकिने र उक्त फोहोर जल्न एक घण्टा लाग्ने बताउँदै उनले इन्धन र विद्युतबिना नै सञ्चालन हुने इन्सिनरेटरबाट एक घण्टामा एक क्विन्टल फोहोर व्यवस्थापन गर्न सकिने जनाए । मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालमा हप्ताको दुई ट्रयाक्टर फोहोर उत्पादन हुने अस्पताल व्यवस्थापन समितिका सदस्य बुद्धि भट्टराईले जानकारी दिए ।
यसअघि अस्पतालले फोहोर जमिनमुनि गाड्दै आएकोमा प्रदूषण रहित रूपमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको उनको भनाइ छ । भारतको सोलिडटेक वेस्ट एण्ड डिस्पोजल प्रालिका सञ्चालक पप्पु सरकारले इन्सिनरेटरबाट उत्सर्जन हुने धुँवामा कार्बन मोनोअक्साइड ०.२ प्रतिशत र कार्बनडाइअक्साइड ०.४ प्रतिशतमात्र हुने भएकाले वायु प्रदूषण कम हुने बताए । इन्सिनरेटरमा पानीको प्रयोग हुने र त्यहाँ जडित प्रविधिले पानीको सहारामा प्रदूषित धुँवालाई छानेर फोहोर पानीसँगै बाहिर पठाउने उनले जानकारी दिए ।
एक वर्षसम्म मेसिनको ग्यारेण्टी हुने र तीन वर्षसम्म कुनै सर्भिसिङ गर्नु नपर्ने बताउँदै उनले तीन वर्षपछि सामान्य सर्भिसिङ गर्दा हुने र त्यसका लागि एक डेढ लाख खर्च हुने जानकारी दिए । भारतको सोलिडटेक वेस्ट एण्ड डिस्पोजल प्रालिका प्रतिनिधि रोहित विश्वासले ४५ फिट उचाइ भएको इन्सिनरेटरको क्षमता प्रतिघण्टा एक सय केजी फोहोर जलाउने रहेको र २४ घण्टा सञ्चालन हुने इन्सिनरेटरले जलेको फोहोरबाट धुवाँ प्रशोधन गरेर प्रदूषण नहुने धुवाँमात्रै बाहिर निकाल्ने र अन्य प्रदूषणजन्य धुवाँलाई पानीमा परिणत गरेर पाइपमार्फत बाहिर निकाल्ने जानकारी दिए ।
फोहोर जलाउनका लागि एकजना व्यक्ति भए पुग्ने बताउँदै उनले एक सय केजी फोहोरबाट दुई केजी खरानी बाहिर आउने र खरानीलाई खेतबारीमा प्रयोग गर्न सकिने जनाए । खरानीको ल्याब परीक्षण गरेर कृषि उत्पादनका लागि मलको रूपमा प्रयोग गर्न सकिने र उक्त खरानीलाई बालुवा र सिमेन्ट मिसाएर इँटा बनाउन सकिने उनको भनाइ छ । मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि इन्सिनरेटर जडान गरी अन्य पालिकालाई फोहोर व्यवस्थापनमा पाठ सिकाएको बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईंले बताइन् ।
नगरप्रमुख प्रसाईंले मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालल जडान गरिएको इन्सिनरेटरको प्रभावकारिता अध्ययन गरेर पालिकाले पनि जडान गर्ने निर्णय गर्ने प्रतिबद्धता जनाइन् । फोहोर व्यवस्थापन चुनौती बनिरहेका हरेक सहरमा यो प्रविधिको मेसिनले प्रदूषणरहित रूपमा फोहोरको व्यवस्थापन गर्न सकिने बताउँदै उनले उक्त प्रविधिको सहयोगबाट बजारको फोहोरसमेत व्यवस्थापन गर्न सकिने जनाइन् ।