Logo

दुई वर्षभित्र सबैमा विद्युत

पोखरा– उर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षमा देशका सबै क्षेत्रमा विद्युत पुर्‍याउने बताएका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थानीयसँग भएको छलफलका क्रममा मन्त्री बस्नेतले सरकारले दुई वर्षभित्र देशका सबै क्षेत्रमा विद्युत पहुँच पुर्‍याउने गरी काम अघि बढाएको दाबी गरे । पर्यटकीय स्थलमा बिजुली लैजान सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री बस्नेतले सबै क्षेत्रको विकासका लागि विद्युत महत्वपूर्ण हुने दाबी गरे । वर्तमान सरकारले विद्युत र सिँचाइको सेवा हरेक नागरिकसम्म पुगोस भनेर कामअघि बढाएको उनको भनाइ थियो ।

मर्दी पर्यटन व्यवस्थापन समितिका संस्थापक सचिव शिवप्रसाद भण्डारीले माछापुच्छ्रे गाउँपालिकालाई पूर्ण विद्युतीकरण गर्न उर्जामन्त्रीसँग स्थानीयले माग गरेको बताए । मर्दी पदयात्रामा केही समयदेखि काम सुरु भए पनि अर्को पर्यटकीय गन्तव्य खुमै डाँडामा अझै बिजुली पुग्न नसकेको स्थानीयले गुनासो गरे । विद्युत नहुँदा पदयात्रामा आउने पर्यटकलाई मोबाइल र क्यामेरा चार्जदेखि इन्टरनेट सुविधा उपलब्ध गराउनसमेत कठिन हुने गरेको स्थानीयले गुनासो गरेका थिए ।

‘बिजुली नपुगेका ठाउँमा प्रसारण लाइन विस्तार गर्न र लघु जलविद्युत भएका ठाउँमा पावर थप गर्न ध्यानाकर्षण गराएका छौं’ भण्डारीले भने, ‘विद्युत पावर कम हुँदा होटल तथा कृषि फार्महरुमा अहिले समस्या भएको छ । सिँगल फेजको ठाउँमा थ्रिफेज लाइन विस्तार गर्न माग गरेका छौं ।’ माछापुच्छ्रे गाउँपालिकामा अवस्थित चर्चित मर्दी हिमाल तथा खुमै पर्यटकीय क्षेत्रमा अझै पनि विद्युत प्राधिकरणको विजुली पुग्न सकेको छैन । यहाँका अन्य स्थानमा समेत लघुजलविद्युत आयोजनाबाट उत्पादित विजुलीमा भर पर्नुपर्ने अवस्था रहेको छ ।

मर्दी पदयात्रामा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन अझै पुग्न नसक्दा बत्ती बाल्नदेखि लिएर मोबाइल चार्ज गर्नसमेत पर्यटकलाई समस्या भएपछि पर्यटन व्यवसायीले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका हुन् । मर्दीको कालीमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत सेवा पुगेको छ भने प्राधिकरणले यसै वर्ष विद्युत विस्तारको काम अघि बढाएको छ ।

मर्दीको माथिल्लो क्षेत्रसम्मै बिजुली पुर्‍याउनका लागि नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले ठेक्का आह्वान गरेर काम अघि बढाएको छ । मर्दीको केही क्षेत्रमा सोलारबाट बत्ती बाल्ने र इन्टरनेट सुविधा रहे पनि मौसम प्रतिकूल हुँदा समस्या पर्ने गरेको थियो । यसैबीच प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले अबको दुई वर्षमा विद्युतबाट आर्थिक क्रान्तिको सुरुवात हुने बताए ।

प्रतिक्रिया दिनुहोस्