दक्ष जनशक्ति नहुँदा उपकरण प्रयोगविहीन «
Logo

दक्ष जनशक्ति नहुँदा उपकरण प्रयोगविहीन

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा बिरामी जाँचका लागि ल्याइएका लाखौं मूल्यका मेसिन (उपकरण) प्रयोगविहीन अवस्थामा रहेका छन् । ती उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा मेसिन प्रयोगविहीन अवस्थमा रहेका हुन् । स्थानीयको स्वास्थ्योपचारमा सहयोग पुर्‍याउन सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एक्स–रे, इसिजी, अल्ट्रासाउण्डलगायतका मेसिन सञ्चालनमा आउन सकेका छैनन् ।

स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले स्वास्थ्य नगरपालिकाका तर्फबाट चिकित्सकको व्यवस्था भए अनुसार केही मेसिन सञ्चालनमा ल्याएको बताए । उनले भने, ‘हाल चिकित्सक नहुँदा मेसिन सञ्चालन हुन सकेका छैनन् । स्वास्थ्य चौकीमा उपलब्ध मेसिन सञ्चालन गर्न दक्ष प्राविधिको आवश्यकता पर्ने भएपनि दरबन्दी नहुँदा समस्या भएको छ ।’ मेसिन सञ्चालन गर्न दुई जना दक्ष प्राविधिकको आवश्यकता रहेको छ । गर्भवती जाँचका लागि राखिएको पोर्टेवल अल्ट्रासाउण्ड मेसिन भने सञ्चालनमा रहेको उनले बताए ।

उपचारका लागि स्वास्थ्य चौकी पुगेकी बिरामी सुमन भट्टले लाखौं मूल्य पर्ने मेसिन हुँदा पनि चर्को शुःल्क तिर्दै टाढाका स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता रहेको बताइन् । स्थानीय समाज सेवी करन सिंह ऐरले तत्काल स्वास्थ्य चौकीमा रहेका मेसिन, उपकरण चाँडै सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले भने, ‘स्वास्थ्य चौकीलाई चुस्त रूपमा सञ्चालन गर्ने जिम्मा नगरपालिकाको हो, तत्काल दक्ष प्राविधिकको व्यवस्था गरी उपकरण सञ्चालनको व्यवस्था गरी उपचारलाई सहज बनाउनुपर्छ ।’

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रमानन्द भट्टले नगर प्रमुखले चिकित्सक र प्राविधिकको व्यवस्था गर्ने प्रतिबद्धता गरेको बताए । उनले भने, ‘छिट्टै स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरी उपकरण सञ्चालनमा आउँने दाबी थियो । तर, यहाँ रहेका उपकरण सञ्चालन गर्ने प्राविधिकको दरबन्दी नहुँदा समस्या भएको हो भने, नगरपालिकाको तर्फबाट भएता पनि प्राविधिकको व्यवस्था गर्नका लागि कार्य अगाडि बढाउँछौं ।’

स्वास्थ्य चौकीमा रहेको प्रयोगशाला परम्परागत तरिकाले सञ्चालन हुँदै आएका छन् । प्रयोगशालालाई आधुनिक बनाउन नयाँ मेसिन व्यवस्था गर्नका लागि बारम्बार माग हुँदै आएता पनि नगरपालिकाको स्वास्थ्य शाखाबाट आश्वासन मात्रै पाइने गरेको स्वास्थ्य चौकीका कर्मचारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्