भूकम्पमा मृत्यु भएकाका परिवारलाई बीमा रकम वितरण «
Logo

भूकम्पमा मृत्यु भएकाका परिवारलाई बीमा रकम वितरण

सुर्खेत– कर्णाली प्रदेश सरकारले भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिमृतक दुई लाखका दरले रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमा गरेको विपद् जोखिम बहन बीमामार्फत उक्त रकम प्रदान गरेको हो । कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमका गरी १५४ जनाको मृत्यु भएको थियो ।

बिहीबारसम्म तीमध्ये ७४ जना मृतकका परिवारलाई बीमावापत्को रकम प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए । मंगलबार र बुधबार प्रभावित क्षेत्रमै पुगेर आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीसहित बीमा कम्पनीका प्रतिनिधिले मृतकका आफन्त र केहीको सम्बन्धित पालिकामा चेक हस्तातरण गरिएको रोकायले बताए ।

कर्णाली प्रदेश सरकारले विगत चार वर्षदेखि कर्णालीका नागरिक र यस प्रदेशमा कामका शिलशिलामा आउने व्यक्तिको सामूहिक दुर्घटना बीमा गर्दै आएको छ । ‘प्रदेश सरकारले यहाँको जनसंख्या र कर्मचारी समेतलाई आधार मानेर १७ लाख ७० हजार जनाको बीमा गरेको छ,’ रोकायले भने, ‘त्यसको प्रिमियमवापत् वार्षिक एक करोड ६५ लाख बीमा कम्पनीलाई सरकारले तिर्दछ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि विपद् बीमा कार्यक्रम सञ्चालन गरेको हो । उक्त बीमा कार्यक्रममार्फत आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न प्राकृतिक प्रकोपमा परी मृत्यु भएका ५९ जनाका परिवारले बीमा रकम पाएका छन् भने आव २०७८/०७९ मा ५८ जनाका परिवारले बीमा रकम पाएका छन् । त्यसैगरी आव २०७९/०८० मा ६४ जनाका परिवारलाई सामूहिक दुर्घटना बीमाबाट रकम प्राप्त गरेको मन्त्रायले जनाएको छ ।

प्रदेश सरकार र बीमा कम्पनीबीच भएको सम्झौतामा प्राकृतिक विपत्तिमा नागरिकको मृत्यु भएमा त्यसको १५ दिनभित्र बीमा कम्पनीलाई सम्बन्धित स्थानीय तहले सिफारिस र घटना विवरणको लिखित जानकारी दिनुपर्ने उल्लेख छ । तर विशेष परिस्थितिमा तोकिएको हदम्यादभित्र निवेदन दिन नसकेमा जिल्ला प्रशासन कार्यालयको सिफारिसलाई आधार मान्ने उल्लेख गरिएको छ । प्राकृतिक विपद्का हिसाबले जोखिममा रहेको मानिने कर्णाली प्रदेशमा विपद् बीमा कार्यक्रम प्रभावकारी भएको भन्दै प्रदेश सरकारले त्यसलाई निरन्तरता दिँदै आएको छ ।

मन्त्रालयका अनुसार हिमपात, हिमपहिरो, हिमताल विष्फोटन, असिना, भूकम्प, बाढी, जलमग्न पहिरो, जमिन धरिएर वा भारिएर, डुबान, हावाहुरी तथा आँधीबेहरी, शीतलहर, चट्याङ, आगलागी, डढेलोलगायतका प्राकृतिक विपद्मा ज्यान गुमाउने नागरिकका परिवारले बीमावापत दुई लाख रुपैयाँ एकमुष्ट पाउने छन् । प्रदेश सरकारले प्रत्येक नागरिकको आठ रुपैयाँ ४८ पैसा राष्ट्रिय बीमा कम्पनीलाई प्रिमियम तिरेको छ ।

बीमितको कर्णाली प्रदेशभन्दा बाहिर मृत्यु भएमा भने बीमावापतको रकम पाउने छैनन् । साथै कर्णाली प्रदेश बाहिरका नागरिक कर्णालीमा प्राकृतिक विपत्तिमा मृत्यु भएमा पनि यो सुविधा पाउने छैनन् । तर, ६ महिनादेखि कर्णालीमा काम गरिरहेका जुनसुकै जिल्लाका सरकारी कर्मचारीका हकमा भने सो कार्यक्रम लागू हुने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्