दोधा नदीमा जैविक तटबन्ध निर्माण «
Logo

दोधा नदीमा जैविक तटबन्ध निर्माण

महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिकामा दोदा नदी तटीय क्षेत्रमा करिब पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर र मर्सिकोर नेपालको संयुक्त साझेदारी र पुनर्वास नगर विकास कृषि शाखाको समन्वयनमा जैविक तटबन्ध निर्माण गरिएको हो ।

नदीको किनारमा बाढीले गर्न सक्ने जग्गा कटानलाई रोक्ने कार्यसँगै सम्भावित क्षतिको न्यूनीकरणका लागि विभिन्न जैविक तथा अजैविक स्रोत (बाँस, प्लास्टिक बोरा, स्याउला, बालुवा र मानवीय स्रोत)को उच्चतम् प्रयोग गरेर जैविक तटबन्ध निर्माण गरिएको एमरेड परियोजना मिल अफिसर गोविन्दानारायण उपाध्यायले बताए ।

उनले भने, ‘उक्त क्षेत्रमा जैविक तटबन्ध निर्माण हुँदा बर्सेनि नदीले गर्दै आएको भूक्षय रोकिएको छ । तटबन्धमा लगाइएका बिरुवाबाट दोहारो फाइदा लिनका लागि स्थानीय भूबनोट र हावापानी सुहाउँदो जातका बिरुवा रोप्ने कार्यमा परियोजनाअन्तर्गत समुदायलाई प्राविधिक एवं आर्थिक सहयोग गरिने छ ।’

एमरेड परियोजना मिल अफिसर उपाध्यायले पुनर्वास नगरपालिका–९ सीता बस्तीस्थित दोदा नदीमा नौ लाख लागतमा निर्माण हुने जैविक तटबन्ध निर्माणमा नगरपालिकाको तर्फबाट तीन लाख ९९ हजार बजेट रहेको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमको तर्फबाट एक लाख १८ हजार र परियोजनाको तर्फबाट तीन लाख ६८ हजार बजेट परिचालन गरिएको थियो ।

स्थानीय प्रेम विकले भने, ‘तर गतवर्ष जैविक तटबन्ध निर्माण भएपछि भू–क्षय पूर्णरूपमा रोकिएको छ, गतवर्ष तटबन्ध हुन नसकेको क्षेत्रमा जैविक तटबन्ध निर्माण कार्यलाई अझ अगाडि बढाए बाढी प्रभावित समुदायलाई राहत हुनेछ ।’

पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले जैविक तटबन्ध निर्माणकार्य थोरै लागतमा धेरै ठाउँमा गर्न सकिने र भरपर्दो भएकाले यसलाई निरन्तरता दिइँदै आएको बताए । उनले भने, ‘समाज कल्याण संस्थासँग सहकार्य गरी जैविक तटबन्ध निर्माण अगाडि बढाएका छौँ, यस कार्यलाई अर्को वर्षको बजेटमा निरन्तरता दिन्छौँ । स्थानीय स्रोत र साधनको उपयोगसँगै विस्तृत प्राविधिक ज्ञानको त्यति आवश्यकता नहुने भएकाले जैविक तटबन्धको महत्व बाढी प्रभावित क्षेत्रमा बढ्दै गइरहेको छ ।’

त्यसैगरी नगरप्रमुख शर्माले जैविक तटबन्ध आर्थिक रूपमा मितव्ययी तथा सामुदायिकस्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले बाढी प्रभावित समुदायमा जैविक तटबन्धप्रतिको विश्वास बढेको बताए । उनले भने, ‘यसबाट नदी छेउका खेतीयोग्य जमिन कटान हुनबाट जोगाउने र बाढी आएका बेलामा पानीको बेगलाई नियन्त्रण गरेर मूलधारतिर फर्काउन मद्दत गर्ने भएकाले जैविक तटबन्धको महत्व बढ्दै गएको छ ।’

जैविक तटबन्धन समुदायस्तरमा र समुदायकै परिश्रम र आंशिक लगानीमा जैविक तटबन्ध निर्माण गरिने भएको हुनाले महँगो तटबन्धन (ग्यालभेनाइज्ड) जालीमा ढुंगा भरेर बनाइएको तटबन्धको उत्तम विकल्पको रूपमा यसलाई लिन थालिएको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्