भन्सार राजस्व लक्ष्यभन्दा तीन अर्ब कम «
Logo

भन्सार राजस्व लक्ष्यभन्दा तीन अर्ब कम

नेपालगन्ज– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चौमासिकमा लक्ष्यभन्दा तीन अर्ब २७ करोड ५५ लाख रुपैयाँ कम राजस्व असुली गरेको छ । कार्यालयको कात्तिकसम्मको लक्ष्य ८ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ थियो । असुली भने पाँच अर्व ५९ करोड ३५ लाख रुपैयाँ मात्रै भएको छ ।

यो असुली कात्तिकसम्मको लक्ष्यको ६३ दशमलव शून्य सात प्रतिशत मात्रै रहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । यो वार्षिक लक्ष्यभन्दा २३ अर्ब ६ करोड ९० लाख रुपैयाँ कम हो । चालु आर्थिक वर्षको कात्तिकसम्म असुली भएको राजस्व गतवर्षको भन्दा एक करोड ५५ लाख २४ हजार कम रहेको तथ्यांकले देखाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिलुप्रसाद शर्माका अनुसार गत आर्थिक वर्ष २०७९/८० को कात्तिकसम्म ८ अर्ब ७६ करोड २२ लाख ८९ हजार रुपैयाँ असुली गर्ने लक्ष्य राखेकोमा ५ अर्ब ६० करोड ९० लाख रुपैयाँ अर्थात लक्ष्यको करिब ६४ दशमलव शून्य दुई प्रतिशत असुली गरेको थियो ।

पहिलो चौमासिकमा उक्त भन्सारले कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमा ख७८ प्रतिशत, भदौमा ६५ दशमलव ३३ प्रतिशत, असोजमा ६० दशमलव ७८ प्रतिशत र कार्तिकमा ५२ प्रतिशत मात्र असुली भएको छ ।

भारततर्फ प्लाइउड निकासी उत्साहजनक
साउनदेखि कार्तिकसम्म नेपालगन्ज नाका हुँदै खयर कत्था, जडीबुटी, खोटो रोजिन, प्लाइउड, तार्पिनको तेल, रिट्ठा, अदुवा सुठो, दालचिनीलगायतका वस्तु धेरै निर्यात भएका छन । जसमध्ये प्लाइउड निकासीमा गतवर्षको सोही अवधिको तुलनामा ६४७ दशमलव ३४ प्रतिसतले वृद्धि भएको छ ।

भारततर्फ धेरै परिमाण र मूल्यको वस्तु निकासी हुने नेपाली वस्तुको चौथो सुचीमा प्लाइउड परेको छ । नेपालगन्ज नाकाबाट आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिकमा ८ करोड रुपैयाँभन्दा बढी मूल्यको प्लाइउड भारततर्फ निकासी भएको हो । कार्यालयका अनुसार चार महिनाको अवधिमा आठ करोड ६८ लाख २७ हजार रुपैयाँ मूल्यको ८४ हजार ६१ घन मिटर प्लाइउड भारततर्फ निकासी भएको छ ।

गत वर्षको सोही अवधिभन्दा यो वर्षको कात्तिकसम्म सात करोड ५० लाख रुपैयाँभन्दा बढी मूल्यको प्लाइउड भारत निकासी भएको छ । गतवर्ष कात्तिकसम्म एक करोड १८ लाख मूल्य बराबरको चार सय ८१ घन मिटर प्लाइउड मात्र निकासी भएको थियो । यो ६४७ दशमलव ३४ प्रतिशत बढी हो ।

भारत निर्यात हुने वस्तुको सूचीमा खयर कत्था अग्रस्थानमा छ । चालु आर्थिक वर्षको चार महिनामा १२ करोड ३३ लाख ९४ हजार मूल्य बराबरको खयर कत्था निकासी भएको छ । त्यस्तै १२ करोड ७ लाख मूल्य बराबरको जडीबुटी निर्यात भएको छ । तेस्रोमा ११ करोड ४१ लाख ६४ हजार मूल्य बराबरको खोटो रोजिनसमेत निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्