मौद्रिक नीति समीक्षा पर्खंदै लगानीकर्ता «
Logo

सातामा तीन दिन नेप्से घट्दा दुई दिन बढ्यो

मौद्रिक नीति समीक्षा पर्खंदै लगानीकर्ता

काठमाडौं– आइतबार, सोमबार र मंगलबार निरन्तर घटेको सेयर बजार साताको अन्तिम दुई दिन भने बढेको छ । नेप्से परिसूचक बुधबार ३३ र बिहीबार ११.७३ अंकले बढेको छ । सातामा दुई दिन बढेर परिसूचक १८५२.७७ विन्दुमा पुगेको छ । यसअघि पहिलो कारोबार दिन परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ मा सीमित भएको थियो ।

आइतबार दुई सय ९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता सेयर ३६ हजार नौ सय ७७ पटक खरिदबिक्री हुँदा ९६ करोड ४० लाखको कारोबार भएको थियो । सोमबार परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ मा झर्यो । सोमबार दुई सय ९२ कम्पनीको ३८ लाख ९६ हजार दुई सय ८७ कित्ता सेयर ४३ हजार चार सय २८ पटक खरिदबिक्री हुँदा एक अर्ब १९ करोडको कारोबार भएको थियो ।

साताको पहिलो र दोस्रो दिन घटेको सेयर बजार तेस्रो दिन पनि सुध्रन सकेन । मंगलबार नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ मा झर्यो । मंगलबार दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार ६ सय ८२ कित्ता सेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा एक अर्ब ५४ करोडको कारोबार भयो ।

लगातार तीन दिन घटेको सेयर बजार बुधबार र बिहीबार भने बढ्न पुगेको हो । बुधबार ३.३३ अंकले बढेर परिसूचक १८४१.०४ मा पुग्यो । त्यस दिन ३७ लाख ५५ हजार एक सय २४ कित्ता सेयर खरिदबिक्रीबाट एक अर्ब १४ करोड १८ लाख रुपैयाको कारोबार भयो । बिहीबार पनि नेप्सेको वृद्धिले निरन्तरता पायो । अघिल्लो दिन जम्मा ३ अंकले बढेको बजार बिहीबार भने ११.७३ अंक बढ्यो । बिहीबार अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढ्यो । यसदिन २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेपाल पुनर्बीमा कम्पनी र ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको उच्च कारोबारले समग्र कारोबार रकम बढ्न गएको हो । बिहीबारको कारोबार असोज ४ गतेयताकै उच्च हो । कुल १७५ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ८ को स्थिर रह्यो । केही दिन अघिसम्म जीवन बीमा समूहमा देखिएको लगानीकर्ताको आकर्षण बिहीबार भने निर्जीवन बीमामा सरेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.१ प्रतिशत बढ्यो । जलविद्युत समूह १ प्रतिशत बढ्यो । बैंकिङ ६.९, विकास बैंक २०, फाइनान्स ११, होटल तथा पर्यटन ३२, जलविद्युत २०, जीवन बीमा ८, उत्पादन ३१, माइक्रोफाइनान्स २, निर्जीवन बीमा २०९ र अन्य समूह १ अंक बढे । व्यापार समूह भने १३ अंक घटेको छ ।

त्रिशूली जलविद्युत कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । केही दिनअघि प्राथमिक सेयर दोस्रो बजारमा सूचीकृत भएको यो कम्पनीको बिहीबार पहिलो कारोबार हो । कम्पनीको मूल्य प्रतिकित्ता २९४ रुपैयाँ पुगेको छ । समाज लघुवित्त र सीवाईसी लघुवित्तको मूल्य पनि १० प्रतिशत बढ्यो । आशा लघुवित्तको ७, बुद्धभूमि हाइड्रोपावरको ५.८, हाथवे इन्भेस्टमेन्टको ५ तथा नेपाल इन्स्योरेन्सको ५ प्रतिशत मूल्य बढ्यो ।

ग्लोबल आइएमई लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.८, मन्दाकिनी हाइड्रोको ५.४, विजय लघुवित्तको ५, मेन्छियाम हाइड्रोको २.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी (संस्थापक), सिटिजन लाइफ इन्स्योरेन्स, सोनापुर मिनरल्स, माउन्टेन इनर्जी र ग्लोबल आइएमई बैंक संस्थापक सेयर क्रमशः अगाडि रहे ।

बजार विश्लेषकहरूका अनुसार अहिले बजारले मौद्रिक नीतिको समीक्षा पर्खिरहेको छ । बुधबार अर्थ समितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षा शुक्रबार गरिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्