एनसेलको सेयर प्रतिस्पर्धाबाट किनेकामा शंका «
Logo

एनसेलको सेयर प्रतिस्पर्धाबाट किनेकामा शंका

काठमाडौं– एनसेलको ८० प्रतिशत सेयर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत खरिद गरेको व्यवसायी सतिशलाल आचार्यको दाबीमाथि शंका प्रकट गरिएको छ ।

आचार्यको लगानी भएको स्पेक्ट्रलाइट यूकेले एनसेलमा रहेको आजियाटाको ८० प्रतिशत सेयर खरिद गरेको छ । आजियाटाले एनसेलको सेयर बिक्रीमा राखेको ४८ घण्टाभित्र स्पेक्ट्रलाइटले खरिद गरेको बताइएको थियो । यो छोटो अवधिमा अन्तर्राष्ट्रिय रुपमा टेन्डर भएर प्रतिस्पर्धामा सेयर खरिदबिक्री भएको भन्ने विषय विश्वासयोग्य नदेखिएको जानकारहरुको भनाइ छ । सेयर खरिद गर्ने कम्पनीका मालिक सतिशलाल नेपाली मूलका सिंगापुरमा बस्ने व्यवसायी हुन् ।

एनसेलले बिहीबार प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्समा रहेको आफ्नो सेयर बिक्रीका लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट यूके थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेतामार्फत निर्धारण गरिएको हो ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगल आजियाटाले एनसेलको सेयर बिक्रीका लागि कहिले र कुनकुन कम्पनीबीच प्रतिस्पर्धा गराएको हो भन्ने खुलाउन नसकेको बताउँछन् । ‘सेयर बिक्रीका लागि कहिले कोसँग प्रतिस्पर्धा रहेको हो भन्ने खुलाउन नसकेकाले त्यो दाबी आधारहीन देखिन्छ,’ लिगलले भने ।

वरिष्ठ अधिवक्ता गान्धी पण्डितले पनि प्रतिस्पर्धाको आधार नदेखिएको बताए । उनका अनुसार अहिलेसम्म हामीले आधिकारिक कागजातबिना नै बहस गरिरहेका छौं । कम्पनीले किनबेचको आधिकारिकता देखाउन सकेको छैन । खुला प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेको कतै नदेखिएको उनको भनाइ छ ।

एनसेलको विज्ञप्तिमा भनिएको छ, ‘सहमति भएको सम्झौता ढाँचाअनुसार आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभ नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यो सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ ।’

एनसेलले अहिलेसम्म सरकारलाई कर तिरिरहेको र यो कारोबारबाट कर तिर्नुपर्ने अवस्था आए त्यो पनि भुक्तानी गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै, कम्पनीले आवश्यक सहमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको पनि जनाएको छ । यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने उसले बताएको छ ।

छानबिन समिति गठन
एनसेल सेयर खरिदमा विवाद सिर्जना भएपछि सरकारले छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । समितिका सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् ।

सेयर दर्ता नगर्न अन्तरकालिन आदेश
उच्च अदालत पाटनले एनसेलको सेयर दर्ता किताबमा दर्ता नगराउन अन्तरकालिन अन्तरिम आदेश दिएको छ । अदालतले नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति प्राप्त नगरी सेयर किनबेच गरेको देखिएको भन्दै तत्काल सेयर नामसारी नगर्न आदेश दिएको हो ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले कम्पनी रजिष्ट्रारको कार्यालयलाई मंसिर २५ मा छलफलमा बोलाउने र सो मितिसम्म सेयर नामसारी नगर्न आदेश दिएको हो । निवेदक गोकुलबहादुर रोकायाले एनसेल किनबेच रोक्न अन्तरिम आदेश माग्दै दिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले संसद्को सार्वजनिक लेखा समितिले सेयर खरिदबिक्री रोक्का गर्न सरकारलाई अनुरोध गरेको तथा प्रधानमन्त्रीले यस विषयमा अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेकोले सेयर नामसारी रोक्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्