मंसिर २५ देखि भैरहवामा आन्तरिक उडान बन्द गर्ने व्यवसायीको चेतावनी «
Logo

मंसिर २५ देखि भैरहवामा आन्तरिक उडान बन्द गर्ने व्यवसायीको चेतावनी

बुटवल– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरकारले उदासिनता देखाएपछि स्थानीय व्यवसायीले आन्तरिक उडानसमेत रोक्ने भएका छन् । व्यवसायीले नियमित उडानका लागि सरकार र सरकारी निकायहरुमा निरन्तर दबाब दिएका छन् । तर, कसैले पनि नसुनेपछि व्यवसायीले यही मंसिर २५ देखि आन्तरिक हवाई उडान पनि बन्द गर्ने भएका हुन् ।

व्यवसायीसहितको एउटा समूह सिद्धार्थ सञ्जालले आन्दोलनको कार्यक्रमअन्तर्गत शुक्रबार भैरहवामा धर्ना र प्रदर्शन गर्दैछ । यस्तै, मंसिर २४ गतेबाट विमानस्थलमा धर्ना दिने र २५ गतेबाट आन्तरिक उडानसमेत रोक्ने चेतावनी सञ्जालले दिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको सञ्जालले धर्नामा ५ हजारभन्दा बढी सहभागी हुने दाबी गरेको छ । सञ्जाल अध्यक्ष अनिल ज्ञवालीले भने, ‘देवकोटा चोकबाट हामी विरोध प्रदर्शन गर्दै मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा गएर सभा गर्छौं । धर्नामा ५ हजारभन्दा बढी सहभागी हुने आशा राखेका छौं ।’ यसअघि प्रधानमन्त्री, पर्यटनमन्त्री र प्रदेश सरकारलाई ज्ञापनपत्र तथा अल्टिमेटम दिएको र स्थानीय तहहरुलाई पनि आन्दोलनबारे जानकारी गराएको ज्ञवालीले बताए । कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको डेढ वर्षसम्म पनि उडान भएको छैन । नियमित उडान नहुँदा यहाँको निजी क्षेत्रले लगानी खेर जाने भन्दै अन्तर्राष्ट्रिय उडानको दबाब दिइरहेको छ । अर्कोतिर नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीको टोली पनि विमानस्थलमा नियमित उडानका लागि काठमाडौंमा विभिन्न निकायलाई दबाब दिएर फर्किएको छ । पर्यटन व्यवसायीको टोलीले काठमाडौं पुगेर पर्यटनमन्त्री, उड्डयनसँग सम्बन्धित निकाय र एयरलाइन्स कम्पनीका प्रतिनिधिहरुलाई भेटेको हो । नाट्टा लुम्बिनीका निवर्तमान अध्यक्ष सागर अधिकारी र पूर्व अध्यक्ष सञ्जिव अधिकारी नेतृत्वको टोली काठमाडौं पुगेको थियो ।

‘पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग हामीले एयरलाइन्सहरुलाई सहुलियत दिन आग्रह गर्यौं । उहाँले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सलाई प्रतिउडान ५ लाख दिन्छौं भन्नुभयो,’ अधिकारीले भने, ‘यात्रुले प्रतिउडान नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने शुल्क सरकारले मिनाहा गर्दा यसरी छुट दिन सकिने रहेछ ।’ मन्त्रीलाई भेट गर्नुअघि पर्यटन व्यवसायीको टोलीले अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीका प्रतिनिधिहरुलाई भेटेका थिए ।

‘हामीले कतार एयरलाइन्स, एयर अरेबिया, फ्लाइ दुबई र हिमालय एयरलाइन्सका प्रतिनिधिलाई भेटेर भैरहवाबाट उडान नगर्नुको कारण के हो भनेर सोध्यौं । उहाँहरुले जजिराले व्यापार छैन भन्यो भन्नुभयो । त्यसपछि व्यापार हुन सक्छ भन्ने आधारसहितको डाटा देखायौं,’ अधिकारीले भने । टोलीले अध्यागमन विभागबाट प्राप्त तथ्यांक एयरलाइन्सहरुलाई देखाएको थियो । आफूहरुले कुन महिनामा कुन जिल्लाका यात्रु कसरी बाहिर गए भन्ने तथ्यांक देखाएको अधिकारीले बताए ।

नारायणगढदेखि यता गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट विदेश जाने यात्रुको संख्या देखाएका थियौं,’ उनले भने, ‘नेपालबाट जाने कुल यात्रुको ७० प्रतिशत यी चार प्रदेशबाट जाँदा रहेछन् ।’ एयरलाइन्सहरुले सरकारले आफूहरुलाई बोलाएर सहुलियतसहित व्यवसायको बारेमा जानकारी दिनुपर्ने माग गरेका थिए । संघीय राजधानीमा विभिन्न पक्षहरुसँगको भेटपछि भैरहवाबाट छिटै उडान हुने आशा पर्यटन व्यवसायीहरुले गरेका छन् । ‘प्रतिउडान ५ लाख ठूलो सहुलियत हो । भैरहवामा ल्यान्डिङ र पार्किङ चार्ज पनि निःशुल्क छ । दुई–तीन लाख रुपैयाँ त्यहाँबाट बच्यो भने एउटा उडानमा सात–आठ लाख बचेपछि उडान आउने सम्भावना बढ्यो । यो जाडो मौसमपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलायमान हुन सक्छ,’ अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्