मञ्च, माला र खादामा रुमलिएको राजनीति «
Logo

मञ्च, माला र खादामा रुमलिएको राजनीति

अहिले देशको अर्थतन्त्र खस्कँदो अवस्थामा छ । किनकि अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक छन् । अर्थतन्त्रका बाह्य सूचकांकमा अहिले केही सुधार भए पनि सधैं यसरी नै चलिरहन्छन् भन्न सकिँदैन । विप्रेषण सकारात्मक भएकाले विदेशी मुद्राको सञ्चिति राम्रो देखिएको हो । बुझ्नुपर्ने कुरा के छ भने मानिस निर्यात गरेर देश कहिल्यै उँभो लाग्दैन । वस्तु निर्यात गरेर देश धनी हुने हो । यसका लागि देशभित्र उद्योगधन्दा, कलकारखाना सञ्चालन गर्नुपर्छ । तर, अहिले उद्योगी–व्यवसायीहरू आर्थिक संकटमा परेको हुँदा भएका उद्योग तथा व्यवसाय सञ्चालन हुन सकेका छैनन् । सञ्चालनमा भएकाहरू पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । प्रतिशतकै आधार लिने हो भने कुल क्षमताको ३० प्रतिशतको हाराहारीमा सञ्चालन भएका छन् । यस किसिमले अहिले आन्तरिक उत्पादन हुन सकिरहेको छैन ।

अहिले व्यवसायीको माग भनेको बैंक तथा वित्तीय संस्थाहरूबाट उपलब्ध हुने कर्जाको ब्याजदर एकल अंकमा घटाउने भन्ने हो । निक्षेपमा एकल अंक भए पनि कर्जामा एकल अंक नभएकाले उद्योगी–व्यवसायीहरूमा निराशा आएको छ । एकातिर आर्थिक मन्दी हट्नुको सट्टा बढ्दै गएको छ भने अर्कातर्फ कर्जाको ब्याजदरमा उनीहरूको मागबमोजिम नघटेको हुँदा उद्योग–व्यवसायले गति लिन सक्ने अवस्था देखिँदैन । त्यसकारण आन्तरिक अर्थतन्त्रमा छिटै सुधार आउने आधार बनि नसकेको अहिलेको अवस्था हो ।

विकासका आधारशिला भनेका नै देशको अर्थतन्त्र र राजनीति हुन् । अर्थतन्त्रको कुरै गर्नु पर्दैन । अर्थतन्त्र मजबुत हुनका लागि आन्तरिक उत्पादनमा वृद्धि गरेर निर्यात बढाउनु पर्छ । विपे्रषणबाट विदेशी मुद्रा भित्रिने अनि त्यही मुद्रा बाहिरिने भएपछि देशको अर्थतन्त्रमा कसरी सुधार हुने ? आन्तरिक उत्पादनमा वृद्धि गरेर वस्तु निर्यात गरी आम्दानी गर्न सकेको भए पो अर्थतन्त्रले गति लिन सक्ने अवस्था आउने थियो । तर, अहिले त्यो अवस्था देखिँदैन ।

यो त भयो खस्कँदै गएको देशको अर्थतन्त्र । अब कुरा गरौं, देशको राजनीति । अर्थतन्त्रलाई डोर्याउने काम राजनीतिको हो । अहिले अर्थतन्त्र जसरी कमजोर हुँदै गएको छ त्यस्तै राजनीतिको अवस्था छ । कुनै पनि दलको स्पष्ट बहुमत नभएको हुँदा मिलीजुली सरकार बनेको छ । सरकारमा भएका दलहरूको विभिन्न सिद्धान्त, विचार र नीति भएकाले सामञ्जस्यता नभएका कारण एक त समयमा नीति निर्माण हुन सकिरहेका छैनन् भने भएका नीति पनि कार्यान्वयनमा ल्याउन सकिएका छैनन् । फलस्वरूप विकास निर्माणका काम अलपत्र भएका छन् । जनताका मौलिक अधिकारका रूपमा रहेका शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीजस्ता आधारभूत आवश्यकता पनि परिपूर्ति हुन सकिरहेका छैनन् । हालैसालै जाजरकोटमा गएको भूकम्पले ठूलो धनजनको क्षति पुर्याएकाले उनीहरूका लागि राहत र अस्थायी घरटहराको समेत व्यवस्था गर्न नसकेका कारण सुत्केरी आमा र बच्चाहरूको मृत्यु भएको समाचार आइ नै रहेका छन् । यस अवस्थामा जनताका लागि सरकार छ-छैन भन्ने प्रश्न पनि उब्जिएको अवस्था छ ।

निश्चय नै देशको विकासका लागि राजनीतिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । तर, राजनीतिको जग नै कमजोर भएको अवस्थामा विकासले गति लिन नसक्नुलाई अन्यथा भन्न नसकिएला । यद्यपि राजनीतिक क्रियाकलाप सही दिशातिर जान नसकेको भने पक्कै हो । देश विकास गर्न र जनतालाई घरदैलोमा सेवा उपलब्ध गराउन केन्द्र, प्रदेश र स्थानीय तह गरी ७ सय ६१ वटा सरकार गठन भएका छन् । यिनीहरूको मुख्य काम भनेको यिनै दुईवटा हुन् । तर, यी ७ सय ६१ वटा सरकारले जनताका चाहनाअनुसार न त विकास दिन सकेका छन्, न त जनतालाई समयमा नै सेवासुविधा उपलब्ध गराउन सकिरहेका छन् । यही कारणले गर्दा प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न आइरहेको छ ।

राजनीतिक धरातल कमजोर भएको अवस्थामा हुने भनेको यसरी नै फुकी–फुकी सरकार चल्ने र चलाउने रहेछ । अहिले नेपालमा यही भइरहेको छ । राजनीति नै यस्तो छ भने यसले गर्ने काम पनि कमजोर हुने नै भए । जबसम्म राजनीति अस्थिर र कमजोर भइरहन्छ त्यस बेलासम्म जनताले समस्या भोगि नै रहनुपर्छ ।

अब एकैछिन कुरा गरौं, नेता र कार्यकर्ताको । कार्यकर्ता नेता बन्नु छ भने नेता ठूला नेता बन्नु छ । यही कुरामा उनीहरूको राजनीति रुमलिएको देखिन्छ । नीति निर्माण कसरी गर्ने, विकास कसरी गर्ने र जनतालाई कसरी सेवा उपलब्ध गराउनेभन्दा पनि कसरी आफ्नो महत्व बढाउनेतर्फ नेता तथा कार्यकर्ता अग्रसर भएपछि जनताका इच्छा, आकांक्षा र आवश्यकता ओझेलमा परेका छन् । राजनीतिले जनताका आवश्यकता र चाहनाप्रति वास्ता नगरेपछि जनताले सुख पाउने त कुरै भएन ।
अहिले तलैदेखि माथिसम्मका नेता तथा कार्यकर्तालाई सानोसानो कार्यक्रममा पनि पुग्नैपर्छ र मञ्चमा बस्नैपर्छ । कसैले आमन्त्रण नगरे पनि खोजी–खोजी जाने प्रचलनले प्रश्रय पाइरहेको छ । मञ्चमा आसनग्रहण गर्न पाएपछि आफूलाई ठूलै ठान्ने हाम्रा नेता तथा कार्यकर्तामा एक प्रकारको बानी नै भएको छ ।

यहाँ मञ्चमा आसीन हुने कुरा मात्र छैन, त्यहाँ माला लगाउने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ । मञ्चमा बसेर गलामा झपक्क परेको माला पहिरन पाउँदा राजनीतिकर्मीको औकात कति बढ्छ कति ! १ सय किलोवरिपरिको मालामा खादाले समेत सजिँदा धेरै कुरा किन पो गर्नुपर्यो र ? जनताले जसरी विश्वास गरेर आफ्ना जनप्रतिनिधि छानेर नीति निर्माण गर्नका लागि पठाएका हुन्छन्, तर प्रतिनिधिहरूले ठ्याक्कै उल्टो काम गरेका प्रशस्त उदाहरण भेटिन्छन् । हालै अन्त्य भएको संघीय संसद्को बैठकमा कतिपय सांसदले विद्युतीय कारोबारसम्बन्धी विधेयकमा छलफल हुँदा नेपालमा जति पनि विद्युत उत्पादन हुन्छ त्यो सबै भारतले किनिदिने यो विधेयकमा उल्लेख भएको हुँदा नेपाललाई निकै फाइदा हुन्छ भन्ने अभिव्यक्ति दिन पुगे । कहाँको विद्युतीय कारोबारसम्बन्धी विधेयक, कहाँको भारतलाई विद्युत बिक्री गर्ने कुरा । यी दुई विषय आकाश–जमिनजस्तै हुन् । यसरी विधेयकमा हुँदै नभएको कुरालाई कसरी माननीयहरूले वकालत गर्नुभयो, सबैले बुझ्न सकिन्छ नै । विधेयक नै अध्ययन नगरी जथाभावी बोलिदिँदा जनताले राजनीतिकर्मीलाई के भन्ने ? यसको जवाफ कसरी दिने ? उनीहरू आफैंले बुझ्नुपर्ने हो ।

हो, अहिले नेपालको राजनीति यसरी एकातिर उल्टो बाटोतिर लागेको छ भने अर्कातिर आफ्नो महत्व कसरी बढाउन सकिन्छ भनेर सानातिना काममा समेत बढी समय खर्चिने भएको कारणले गर्दा पनि विकास निर्माण कार्यमा जनताको पहुँच पुग्न सकिरहेको छैन र ठीक समयमा सेवा सुविधा पनि उपलब्ध हुन सकिरहेको छैन । जबसम्म यस्ता सानातिना कुरामा राजनीति रुमलिरहेको हुन्छ तबसम्म जनताले पाउने भनेको दुःख नै हो । यी कुरामा नेता तथा कार्यकर्ताले ध्यान पुर्याउनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्