Logo

नेपालगन्जमा ई–रिक्सा व्यवस्थित बनाइँदै

नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका ई–रिक्सालाई गुड्न नदिने नीति लिएको छ । उपमहानगरले जथाभावी सञ्चालन गरिएका ई–रिक्सा व्यवस्थित गर्ने भन्दै रातो नम्बर प्लेटका १३२ ई–रिक्सा नियन्त्रणमा लिएको जनाएको छ ।

नगरप्रमुख प्रशान्त विष्टको सचिवालयका अनुसार नीति–नियम र प्रक्रियाविपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ वटा यात्रुबाहक ई–रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँकेमा र ३९ वटा ई–रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा ‘होल्ड’ गरेर राखिएको छ । ‘यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती ई–रिक्सालाई गुड्न दिइने छैन,’ सचिवालयले सूचना जारी गरी जनाएको छ ।

यात्रु बोक्ने रातो नम्बर प्लेटका ई–रिक्साविरुद्ध कठोर बनेको जनाउँदै उपमहानगरल जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, ई–रिक्सा कम्पनीलगायत सरोकारवाला बीचको ‘निरन्तर छलफल र बैठक’ पछि ई–रिक्सा ‘होल्ड’ गर्न सुरु गरेको जनाएको हो । उपमहानगरपालिकाले रातो नम्बर प्लेटका ई–रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउन यसअघि १५ दिने सूचना जारी भए पनि त्यसलाई अटेर गरिएपछि त्यस्ता ई–रिक्सा नियन्त्रणमा लिइएको हो ।

नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो ई–रिक्सा रातो नम्बर प्लेटमा चलिरहेकाले ती ई–रिक्सालाई कालो नम्बर प्लेट बनाउनका लागि सम्बन्धित सवारी धनीलाई जानकारी गराउन १५ दिने सूचना जारी प्रकाशन भएको थियो । उपमहानगरपालिकाले गत कात्तिक २४ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारबालाबीच बैठक आयोजना गरी निजी प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका ई–रिक्सामा यात्रु बोक्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्