Logo

डेढ दशकदेखि ढुंगाखानी बन्द

पर्वत– घर छाउन, आँगनमा बिच्छ्याउन वा आधुनिक घरहरूमा स्लेटको रूपमा प्रयोग गरिने ढुंगाखानी सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । पर्वतको मोदी गाउँपालिका अन्तर्गत वडा नं. १ भुकताङ्ले, वडा नं. ३ देउराली र वडा नं. ४ क्याङको सिमानामा अवस्थित धौलागिरि क्षेत्रकै ठूलो ढुंंगाखानी विगत १६ वर्षदेखि बन्द अवस्थामा रहेको छ ।

तत्कालीन क्याङ, देउराली र भुकताङ्ले गाविसबीचको विवादका कारण बन्द भए पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । मोदी गाउँपालिकाको तीनवटा वडा क्याङ, देउराली र भुकताङलेमा माटेको लेकमा रहेको ढुंगा खानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले ठूलो नोक्सान बेहोर्नुपरेको छ । देउराली, क्याङ र भुकताङले गाविसका बासिन्दाले खानी आ–आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि खानी बन्द भएको हो ।

‘सबैले खानीका बारेमा आ–आफ्नै हिसाबले दाबी गर्दै आपसमा झगडा गर्न थालेपछि बन्द गरिएको तत्कालीन क्याङ गाविसका पूर्वगाविस अध्यक्ष नरसिंह पुनले बताए । उनले विवादले चर्को रुप लिएपछि खानी बन्द गर्नुको विकल्प नभएको बताए । ठूलाछाप सामुदायिक वनमा पर्ने खानी समुदायमा हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको थियो । खानीमा प्रशस्त ढुंगा भए पनि सञ्चालन नहुँदा प्रयोगविहीन बनेका छन् ।

खानी सञ्चालनका समयमा दैनिक तत्कालीन तीन गाविसका दुई दर्जनभन्दा बढी मजदुरले प्रत्यक्ष रूपमा रोजगारी पाएका थिए । यहाँ निकालिएका ढुंगा धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दीका विभिन्न स्थानमा जाने गर्दथे । यो यस क्षेत्रकै सबैभन्दा ठूलो ढुंगाखानी हो । ‘खानीका ढुंगा संकलन गरेर बिक्री गरी परिवार पाल्दै आएका स्थानीय भानेबहादुर विकका अनुसार खानी बन्द भएपछि आश्रित परिवारको रोजीरोटी नै बन्द भएको छ । उनले खानीमा १० वर्षसम्म काम गरे पनि बेरोजगार हुनुपरेको गुनासो गरे ।

यसैको आम्दानीले विकले चार जनाको परिवार पाल्दै आएका थिए । यहाँका ढुंगा घर, गोठ, मतान छाउन प्रयोग हुँदै आएका छन् । जस्ता पाताभन्दा ठूलो आकारमा आउने, बलियो र टिकाउ भएकाले मानिसहरू अहिले पनि ढुंगाले छाउन मन पराउने गर्दछन् । एक पटक छाएको घर दुई/तीन पुस्तासम्म पुग्ने गाउँलेहरूको भनाइ छ । खानी उत्खनन् गरेर ढुंगा बिक्री गर्ने हो भने पनि राज्यलाई वार्षिक करोडाैं रुपैयाँ आम्दानी हुने स्थानीय बताउँछन् । केहीले भने सिंगो ढुंगालाई पर्खालको रूपमा राख्न लग्ने गरेका थिए ।

सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा ढुंगाका पाँचवटा खानी रहेका छन् । केहीले ढुंगाा कुद्ने र केहीले खानीबाट ढुंगाा निकाल्ने गर्दै आए पनि अहिले उनीहरू पलायन भइसकेका छन् । निकालिएका ढुंगा छिमेकी जिल्ला बागलुङ, पोखरा, काठमाडौं हुँंदै जापान, अमेरिका समेत लगेको स्थानीय एक वृद्धको भनाइ छ । उत्तरी पर्वतका अधिकांश वडाका प्राय:जसो घर ढुंगाले छाइएका छन् ।

‘पहिला खानी सञ्चालन हुंँदा गाउँलेले राम्रै रोजगारी पाएका थिए,’ स्थानीय हर्कबहादुर पुनले भने, ‘अहिले रोजगारी गुमेपछि कोही विदेशतिर गए त कोही गाउंँमै मजदुरी गर्दै आएका छन् ।’ खानी तीन हजार एक सय मिटरको उचाइमा रहे पनि आसपासमा बस्ती नभएकाले ढुंगा निकाल्दा कुनै असर पर्दैन । प्रशस्त ढुंगा भए पनि त्यसै खेर जाँदा गाउँले निराश छन् । ढुंगाले छाएका घर आकर्षक देखिने र एकपटक छाएपछि दुई पुस्तासम्म छाउनु नपर्ने पूर्वगाविस अध्यक्ष पुनले बताए ।

‘खानी सञ्चालन गर्न सके गाउँलेको जीवनस्तरमा परिवर्तन आउने थियो,’ उनले भने, ‘त्यही भएर सरकारी नियमअनुसार हामी कार्य गर्न तयार छौं ।’ पछिल्लो समय खानीभन्दा केही तलसम्म सडक सुविधासमेत पुगेकाले पोखरा, काठमाडौं लगायतका सहरमा निर्यात गर्नसमेत सहज हुने उनको भनाइ छ । असिना पर्दा र अरु कारणले मात्रै ढुंगा फुट्ने भएकाले एक पटक लगानी गरेपछि वर्षौंसम्म कुनै झण्झट नहुने भएकाले यो लोकप्रिय बनेको थियो ।

‘माटेको ढुंगा पाइएमा मानिसहरूले महँगो शुल्क तिरेरै भए पनि छाउने गरेका थिए,’ स्थानीय नरबहादुर पुनले भने, ‘अहिले बजारबाट जस्ता पाता ल्याएर घर छाउनुपर्ने वाध्यतामा छाैं ।’ जिल्ला बाहिरसमेत मार्बलको रूपमा निकासी गर्न सकिने सम्भावना भएकाले र स्थानीयवासीको रोजगारीको सुनिश्चितताका लागि समेत खानी सञ्चालनमा ल्याउनुपर्ने स्थानीय गंगाबहादुर विकले बताए ।

मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले खानी सञ्चालन गर्न पहल भइरहेको बताइन् । सुरुमा खानीसम्म सडकको पहुँच पुर्‍याउने योजना बनाएको बताउँदै उनले सडक पुगेपछि खानी सञ्चालन गर्न डिभिजन वन कार्यालयलगायत सम्बन्धित निकायसँग पहल र समन्वय गरेर अघि बढ्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्