जलविद्युतबारे दुई निकायबीच सम्झौता «
Logo

जलविद्युतबारे दुई निकायबीच सम्झौता

काठमाडौं– विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) ले नेपालको जलविद्युत क्षेत्रलाई बलियो बनाउने सम्बन्धमा सहकार्य गर्ने सम्झौता गरेका छन् । विशेषगरी, प्रस्तावित माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सन्दर्भलाई लिएर दुई संस्थाबीच सहकार्य भएको विश्व बैंकले जानकारी गराएको छ ।

दुबईमा जारी जलवायु परिवर्तन सम्पत्ति सम्मेलन (कोप २८) बीच दुई संस्थाले ५ वर्षको प्रारम्भिक अवधिका लागि सहकार्य गर्ने समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेका हुन् । सम्झौतामा विश्व बैंकको तर्फबाट दक्षिण एसिया उपाध्यक्ष मार्टिन रेसर र एडीबीको तर्फबाट क्षेत्रीय उपाध्यक्ष फातिमा यास्मिनले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षर गर्दै रेसरले नेपाल सरकार, विकास साझेदार र निजी क्षेत्रको घनिष्ट साझेदारीबिना नेपालको प्रचुर जलविद्युत स्रोतको पूर्ण सम्भावना साकार हुन नसक्ने बताएका छन् । सम्झौतामार्फत एडीबी र विश्व बैंकले नेपालको जलविद्युत क्षेत्रमा वित्तीय र नीतिगत सल्लाहमा घनिष्ट सहकार्यको लागि आधारशिला खडा गरेको उनले बताएका छन् ।

सम्झौताले विशेषगरी सहयोगका लागि तीनवटा महत्वपूर्ण क्षेत्रहरुलाई लक्षित गरेको छ । जसमा देश–स्तरको सहयोग अभिवृद्धि, सह–वित्तको सुदृढीकरण र जलवायु परिवर्तनमा संयुक्त कार्यलाई बढावा दिने रहेका छन् । सम्झौता अनुसार विश्व बैंक र एडीबीले ठूला जलविद्युत आयोजनाको विकास र ऊर्जा क्षेत्रका आयोजनाहरुको तयारी र वित्तपोषणमा नेपालको कार्यान्वयनकारी निकायहरुको संस्थागत क्षमतालाई सुदृढ गर्न पनि मिलेर काम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्