लक्ष्य उन्मुख पर्यटक आगमन «
Logo

लक्ष्य उन्मुख पर्यटक आगमन

सन् २०२३ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या १० लाख पुग्ला कि त भन्ने आशा पलाएको छ । किनभने गएको ११ महिनामा विभिन्न देशका ९ लाख १७ हजार ३ सय ८ विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । यसरी हेर्दा सन् २०२३ को ११ महिनामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको सो संख्यालाई धेरै राम्रो मान्नुपर्ने हुन्छ । किनभने नेपालले अझै पनि यथेष्ट मात्रामा पर्यटक आगमनको सम्भावना भएका विदेशका सहर–बजारमा पर्याप्त हवाई उडान सञ्चालन गर्न सकेको छैन ।

यस्तो अवस्थामा पनि सन् २०२३ मा नेपालमा यति ठूलो संख्यामा विदेशी पर्यटकको आगमन हुनुलाई धेरै नै राम्रो अवस्था मान्नुपर्ने हुन्छ । यसरी हेर्दा नेपाल सरकार र सरकारी कर्मचारीहरूले सन् २०२३ मा १० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने दाबी पुग्ला कि भनी झिनो आशा गर्न सकिने ठाउँ अझै बाँकी छ । गएको ११ महिनामा ९ लाख १७ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेकाले बाँकी रहेको एक महिना (यही डिसेम्बर) मा लगभग ८३ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेमा नेपाल सरकार र सरकारी कर्मचारीहरूको सन् २०२३ मा १० लाख विदेशी पर्यटक नेपाल भित्यार्उने दाबी पूरा हुने देखिन्छ । तर, लामो समयदेखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तथ्यांक हेर्दाखेरि अरू महिनामा भन्दा डिसेम्बर, जनवरी, फेब्रुअरी, जुन, जुलाई र अगस्टमा विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न धेरै कम संख्यामा आउने गरेका छन् । त्यसैले सन् २०२३ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या ठ्याक्कै १० लाख नपुगे पनि १० लाखको धेरै नजिक पुग्नेचाहिँ पक्का भएको छ । किनभने मेरो आफ्नो अनुमानमा डिसेम्बरमा ७० देखि ७५ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गर्न सक्ने देखिन्छ ।

सन् २०२३ को ११ महिनामा नेपाल भ्रमण गर्न आएका ९ लाख १७ हजार ३ सय ८ विदेशी पर्यटकमध्ये जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६, अप्रिलमा ९८ हजार ७ सय ७३, मेमा ७७ हजार ७ सय ३, जुनमा ७२ हजार २ सय ५०, जुलाईमा ५७ हजार २ सय २६, अगस्टमा ६७ हजार १ सय ५३, सेप्टेम्बरमा ९१ हजार १२, अक्टोबरमा १ लाख १७ हजार ३ सय ६ र नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० जना विभिन्न देशका पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् ।

नेपाली पर्यटन क्षेत्रमा सबैभन्दा खड्किएको विषय भनेको विभिन्न पर्यटकीय सम्भावना भएका देशहरूमा हवाई उडान पर्याप्त नहुनु हो । जे भए तापनि सन् २०२३ को ११ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको यो संख्याले नेपाली पर्यटनमा बिस्तारै गति लिने देखिन्छ । तथापि हाम्रो देश नेपालले अहिलेसम्म हवाई सेवा विस्तारमा ध्यान दिन नसकेकाले गर्दा नेपाल भ्रमणमा आउन चाहने विदेशी पर्यटकको संख्या एकैचोटि ४०–४५ देखि ५०–६० प्रतिशतले वृद्धि हुने सम्भावना छैन । तापनि आगामी वर्ष (सन् २०२४) मा साढे १३ देखि साढे १४ लाखसम्म विदेशी पर्यटक नेपाल आउने सम्भावना छ । हुन त सन् २०२२ को ११ महिना र सन् २०२३ को ११ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यालाई तथ्यांकगत रूपमा तुलना गरेर हेर्ने हो भने सन् २०२२ को तुलनामा सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या लगभग ६९ प्रतिशतले धेरै छ ।

तर, नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले गर्ने खर्चको सीमा हेर्र्दाखेरि भने चित्त बुझाउन सकिने अवस्था छैन । किनभने नेपाल सरकारको केन्द्रीय बैंकका रूपमा रहेको ‘राष्ट्र बैंक’ले केही महिनाअघि प्रकाशित गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७–०७८ (सन् २०२१) को अवधिमा पर्यटन क्षेत्रबाट नेपालले केवल ६ अर्ब ६९ करोड नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा मात्रै आम्दानी गर्न सकेको थियो । त्यसपछि अर्थात् क्रमशः आर्थिक वर्ष २०७८–०७९ (सन् २०२२) र २०७९–०८० (सन् २०२३) मा पर्यटन क्षेत्रबाट भएको विदेशी मुद्राको आम्दानीको अवस्था कस्तो छ ? सो कुरालाई पनि हामीले मनन गर्नैपर्ने हुन्छ । अहिलेको अवस्था (लगभग डेढ वर्ष) भनेको स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘कोरोना फ्री’ भनी घोषणा गरिसकेको अवस्था हुनाले आगामी दिनमा विश्वभरि नै पर्यटन गतिविधिले अरू तीव्रताका साथ दिन दुई गुणा, रात चौगुणा उन्नति, प्रगति गर्नेछ भन्ने आशा र भरोसा गर्ने ठाउँ छ ।

हुन त नेपालको पर्यटन इतिहास हेर्ने हो भने नेपाल सरकारले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको आधिकारिक रूपमा तथ्यांक राख्न थालेको सन् १९६३ देखि मात्रै हो । त्यसयताको लगभग ६० वर्षपछि अर्थात् सन् २०२३ मा फेरि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा बढोत्तरी हुँदै गएको छ, जुन धेरै राम्रो हो । यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याकै कुरो गर्दा सन् २०१९ सम्म आइपुग्दा ११ लाख ९७ हजार (लगभग १२ लाख) पुगेको थियो । जुन संख्या सन् २०१८ को तुलनामा २.१ प्रतिशतले बढी थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०१८ मा पनि ११ लाख ७३ हजार ७२ जना, अघिल्लो वर्षको तुलनामा २४.८ प्रतिशतले नै बढी थियो । त्यस्तै सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८, अघिल्लो वर्षको तुलनामा २.१ प्रतिशतले बढी र सन् २०१६ मा ७ लाख २९ हजार ५ सय ५० जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको यही संख्याको रफ्तारलाई हेरेर नै होला, नेपाल सरकारले सन् २०१८ मा पुनः तेहेर्याएर (त्यसअघि सन् १९९८ र सन् २०११ नेपाल भ्रमण वर्ष मनाइसकेको थियो) नेपाल भ्रमण वर्ष मनाउने भनी घोषणा गरेको थियो । तर, सन् २०१८ मा विविध कारणले गर्दा नेपाल भ्रमण वर्ष मनाउन नसकेपछि फेरि सन् २०२० मा एकै वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी योजनासहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषाणा र तयारी पनि गर्यो । तर, सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट अकस्मात् रूपमा फैलन सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) को स्वरूप परिवर्तन भएर महामारीको रूप लिएकाले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष–२०२० को रूपमा मनाउने घोषणा गरिसकेको र सबै तयारी पूरा गर्दै केही कार्यक्रम लागू गरिसकेर उद्घाटनसमेत भइसकेको भए तापनि रातारात स्थगित गर्नुपरेको थियो ।

अन्त्यमा भन्नुपर्दाखेरि यो वर्ष सन् २०२३ मा उत्तरी छिमेकी देश चीनका पर्यटकहरू अपेक्षित रूपमा नेपाल भ्रमण गर्न आएनन् । तर, उनीहरू किन त्यसरी नेपाल भ्रमणमा आएनन् ? हामीले यस विषयमा ध्यान दिएर, खोजबिन गरेर र त्यसो हुनुमा खास के कारण छ ? विशेष चासो राखेर सकारात्मक कदम चाल्नुपर्ने देखिन्छ । किनभने विश्व पर्यटन संगठन (डब्लुटिओ) ले सन् २०२३ मा मात्रै लगभग ९ सय मिलियन चिनियाँ विश्वका विभिन्न देशमा पर्यटक भई भ्रमण गर्न निक्लने अग्रिम प्रक्षेपण गरेको थियो । हामी आपैंmले सोचौं त, ९ सय मिलियनमध्ये ०.०१ प्रतिशत मात्रै चिनियाँ पर्यटकलाई हाम्रो देश नेपालतिर आकर्षित गर्न सकेको भए ? हामी यसपालि नराम्रोसँग चुक्यौं । अबका दिनमा चिनियाँ पर्यटकहरूलाई नेपालतिर आकर्षित गर्न नचुकौं ।

प्रतिक्रिया दिनुहोस्