नेपाल र इजरायल कृषिको साइनो «
Logo

नेपाल र इजरायल कृषिको साइनो

लर्न एन्ड अर्न (सिक्दै–कमाउँदै) कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायका बिएस्सी कृषिका इजरायलमा अध्ययनरत ४९ जना विद्यार्थीमध्ये प्यालेस्टाइन क्षेत्रबाट इजरायलमा भएको हमासको आक्रमणमा परेर दस जना विद्यार्थीले शहादत प्राप्त गरेपछि नेपालीहरू किन इजरायल जान्छन् भन्ने विषयले चर्चा पायो । इजरायल राज्य औपचारिक रूपमा मे १४, १९४८ मा स्थापित भएको थियो । स्थापनाको ७३ वर्षदेखि देशले विकासमा ठूलो फड्को मारेको छ ।

निःसन्देह शिक्षा, कृषि, स्वास्थ्य, उच्च प्रविधि, पूर्वाधार, विज्ञान र प्रविधि तथा तालिमजस्ता अन्य कारकहरूले इजरायलको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । तीमध्ये कृषिको आधुनिकीकरणले इजरायलको विकासमा धेरै महत्वपूर्ण भूमिका खेलेको छ । इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । इजरायल सरकारले नेपाली युवालाई कृषिको अत्याधुनिक प्रविधिहरूमा विश्वविद्यालय तहका उच्च शिक्षालगायत अल्पकालीन व्यावसायिक तालिम दिइरहेको छ ।

त्यस्तै विगत चार वर्षदेखि घरेलु कामदार (केयर गिभर) को रूपमा कामदार लैजाने काम पनि गरिरहेको छ । विश्वका विभिन्न युद्धग्रस्त क्षेत्रमा नेपाली युवाहरू अवैध तरिकाले पुगिरहेका छन् भने इजरायलजस्तो धेरैजसो कुरामा सरकारले संरक्षण गर्ने सुरक्षित, विकसित र राम्रो पारिश्रमिक पाइने मुलुक भएकाले नेपालीहरूका लागि गन्तव्यस्थल हुने गरेको हो । इजरायलमा कृषि एक उच्च विकसित उद्योग हो । इजरायल कृषि उत्पादनको एक प्रमुख निर्यातक हो र देशको भूगोल प्राकृतिक रूपमा कृषिका लागि अनुकूल छैन भन्ने तथ्यका बाबजुद कृषि प्रविधिहरूमा विश्वको अग्रणी मुलुक हो ।

इजरायलको आधाभन्दा बढी जमिन मरुभूमि भएकाले जलवायु र जलस्रोतका हिसाबले खेतीका लागि अनुकूल छैन । प्रारम्भिक दिनहरूमा इजरायलमा कृषिको विकास सुस्त थियो । देश मरुभूमिमा अवस्थित भएकाले पानीसँगै उर्वर जमिनको अभाव र उत्पादनमा उल्लेख्य वृद्धि हुन सकेको छैन । विगतमा छिमेकी राष्ट्रहरूबाट कुनै पनि सहयोग असम्भव थियो, किनभने सबै छिमेकीहरू यसको विरोधी थिए । यी सबै कारकले इजरायली जनतालाई पर्याप्त खाना पाउन पनि धेरै कष्ट थियो । जनताका लागि पर्याप्त खानेपानी नहुँदा खेतीपातीका लागि पानी पाउन असम्भव थियो ।

जे होस्, इजरायलका जनता संगठित भए र कृषिमा क्रान्ति ल्याउन नयाँ प्रविधिहरू अपनाउन केन्द्रित भए । जहाँ सरकार, विज्ञ र नागरिकले यस क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन मिलेर काम गरेपछि वस्तुहरू परिवर्तन हुन थाले । उनीहरूले हाइड्रोपोनिक्स र सिँचाइ खेतीजस्ता नयाँ प्रविधि अपनाएर कृषिक्षेत्रको विकासमा काम गरे । यी नवीन प्रविधिहरूको प्रयोगले कृषिक्षेत्रलाई इजरायलको उच्च–विकसित उद्योगहरूमध्ये एकमा परिणत गरेको छ ।

इजरायलको कुल जमिनको आधाभन्दा बढी मरुभूमि छ । प्राकृतिक रूपमा जमिनको २० प्रतिशत मात्रै कृषियोग्य भूमि छ, तापनि इजरायलले आफ्नो खाद्यान्न आवश्यकताहरूको ९५ प्रतिशत उत्पादन गर्छ भने बाँकी ५ प्रतिशत अन्नबाली, तेलहन, मासु, कफी, कोको र चिनीको आयात गर्छ । विद्यमान समस्यामा अवसरहरू खोज्दै ड्रिप सिँचाइ, बीउविहीन फलफूल, हाइब्रिड उत्पादन, एक्वाकल्चर, हाइड्रोपोनिक हरितगृह, बीउ उत्पादन, दुग्ध तथा कुखुरापालन, मल र कीटनाशकजस्ता विभिन्न प्रविधिको विकासले कृषिको विश्वमा उदाहरणीय सफलता हासिल गरेको छ ।

देशले कृषिमा आफ्नो प्रगतिका लागि विश्वमा उदाहरण बसाइरहेका बेला इजरायलका कुल ९० लाख जनतामध्ये १.७ प्रतिशत मात्रै कृषिक्षेत्रमा संलग्न छन् भन्ने कुरा पत्याउन सकिँदैन । यो प्रतिशत २०१९ मा ३ र २०२० मा २.५ बाट अझै घटेको छ । यो सानो जनसंख्याले बाँकी ९८ प्रतिशत जनसंख्याका लागि खाद्यान्न उत्पादन मात्र होइन, विश्वभर कृषिजन्य वस्तु निर्यात गर्न पनि सक्षम भएको छ । कृषिको क्षेत्रमा यो सफलता हासिल गर्न इजरायलका समुदायहरूको योगदान कुनै पनि तुलनाभन्दा बाहिर छ । आफूले भोग्नुपरेको कठिनाइलाई बुझेर देशले आफ्नो सुरक्षा, विकास, प्रगति र समृद्धिका लागि काम गरे ।

इजरायलले किसानहरूलाई उद्यमीमा रूपान्तरण गरेको छ र इजरायलको ग्रामीण क्षेत्रमा पनि विकास ल्याएको छ । इजरायलले विकास गरेको प्रविधिका कारण एउटा गाईले वर्षमा १२ हजार लिटर दूध उत्पादन गर्छ । तिनीहरूले प्रत्येक सिजन प्रतिहेक्टर ३ सय टन सलगम उत्पादन गर्छन् । उनीहरूले चेरी उत्पादन गरेर विदेशमा पनि निकासी गर्छन्, किनभने विदेशमा यी उत्पादनको उच्च माग छ । इजरायली पहेंलो चेरी गोलभेंडा युरोपमा पनि प्रख्यात छ र बजार मूल्यका आधारमा यस्ता चेरी गोलभेंडाको बीउको मूल्य अन्य तरकारीको बीउभन्दा बढी छ । युरोपमा यस्ता बीउ हजारौं डलरमा बेचिन्छन् ।

त्यस्तै, मरुभूमि क्षेत्रमा मात्र ३ हजार मानिसले १ लाख ५० हजार टन तरकारी उत्पादन गर्छन् । तिनीहरूले प्रत्येक सिजन प्रतिहेक्टर ३ लाख गुलाब उत्पादन र निर्यात गर्छन् । यसको मुख्य कारण भनेको पानी र बिरुवाको उर्वरक (फर्टिगेसन) को उचित प्रयोग हो । यस प्रकारको कृषिमा विकसित प्रविधिले बालीहरू छिटो बढ्छन् र तिनीहरू उच्च गुणस्तरका हुन्छन् । तिनीहरूले यो पनि बुझेका छन् कि हाइब्रिड बीउहरू महत्वपूर्ण छन्, किनभने तिनीहरूले इजरायली हावापानीसँग उपयुक्त नयाँ प्रकारका बीउ उत्पादन गर्छन् । यसले बालीलाई रोग र कीराबाट पनि बचाउँछ ।

त्यस्तै इजरायलको एक पोल्ट्री फर्मले ६ वर्षको अनुसन्धानपछि पोथी कुखुरा उत्पादन गर्न कुखुराको वंशानुगत नस्लको विकास गरेको छ, जहाँ कुखुराले पोथी अन्डा मात्र दिन्छ । गाईपालनमा पनि यही प्रविधि प्रयोग गरिएको छ । तसर्थ, उत्कृष्ट कृषि केन्द्रको स्थापना र यसको पूर्ण उपयोगलाई इजरायलमा कृषि र पशुपालन क्षेत्रको विकासको मुख्य कारण मान्न सकिन्छ । थोरै संख्यामा मानिसहरू खेतीपाती र कृषि पेसामा संलग्न छन् भने अन्य नागरिक वैज्ञानिक, डाक्टर, इन्जिनियर, प्रशासक, उद्यमी र उच्च प्रविधि विज्ञका रूपमा विभिन्न पेसामा संलग्न छन् ।

इजरायली नेताहरूसँग आफ्ना नागरिकलाई विश्वको उत्कृष्ट नागरिकको रूपमा विकास गर्ने दृष्टिकोण र योजनाहरू छन् । इजरायलले सबै क्षेत्रमा अनुसन्धान र विकासमा ठूलो लगानी गरेको छ, जसले तिनीहरूलाई यी सफलताहरू प्राप्त गर्न सक्षम बनाएको छ । इजरायल सरकारले उद्यमीहरूलाई पनि सहयोग प्रदान गर्छ । उदाहरणका लागि, २०१९ को कोभिड–१९ महामारीले पर्यटन, शिक्षा र यातायातलगायत धेरै क्षेत्रमा विनाशकारी प्रभाव पारेको थियो ।

यद्यपि, प्रारम्भिक चरणमा प्रतिकूल प्रभावहरूका बाबजुद इजरायली सरकारले चाँडै नै उद्यमीहरूलाई प्रोत्साहन गरेर उद्यमशीलता प्रवद्र्धन गर्न नवीन नीतिहरू अपनायो, जसले इजरायलमा लगानीमा ४० प्रतिशत वृद्धि र आर्थिक स्थितिमा थप सुधार ल्यायो । संकटको समयमा पनि इजरायलको यो सफलताले विश्वलाई स्तब्ध बनायो । इजरायलले उच्च प्रविधि र नवप्रवर्तनमा लगानी बढाउन आवश्यक सहयोग प्रदान गर्छ । संस्थागत लगानीकर्ताको उत्थान र प्रोत्साहनका लागि लगानी पोर्टफोलियो घटेमा ४० प्रतिशत फिर्ता गर्ने योजना पनि ल्यायो ।

यस्ता योजना र नीतिले देशको अर्थतन्त्रलाई थप मजबुत बनाएको छ । इजरायल झन् शक्तिशाली बन्दै जानुको मुख्य कारण इजरायलीहरूको विशेषज्ञता हो । संसारभरका यहुदीहरू राष्ट्रवादको भावनाका कारण इजरायलमा बस्न आएका हुन् । तिनीहरू एकजुट छन् र तिनीहरू इजरायलको विकासका लागि कडा मेहनत गर्छन् । इजरायलीहरूको लक्ष्य भनेको आफ्नो देशको विकास र आफ्नो धर्म–संस्कृतिको संरक्षण गर्नु हो । यही कारणले गर्दा इजरायल आज धेरै क्षेत्रमा आत्मनिर्भर भएको बलियो राष्ट्रको रूपमा रहेको छ ।

नेपालमा भने परम्परागत प्रचलनको प्रयोगले कृषिजन्य वस्तुको उत्पादन सन्तोषजनक नहुनुका साथै विद्यमान कृषि उत्पादनको उचित वितरणसमेत हुन सकेको छैन । नेपालमा उत्पादित कतिपय कृषिजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारमा ठूलो माग भए पनि मागअनुसार ती वस्तु उत्पादन हुन नसक्दा निर्यातमा खासै सुधार हुन सकेको छैन । निर्यातमा मात्र सुधार आएको नभई आफ्नै देशभित्र उत्पादन हुने फलफूल, तरकारी र अन्य खाद्यवस्तु उपभोग गर्नसमेत सकेको छैन । बर्सेनि अर्बौं रुपैयाँको फलफूल तथा तरकारी आयात हुने गरेकाले अर्थतन्त्रमा नकारात्मक असर परेको छ । यस्तो अवस्थाले कृषिक्षेत्रमा रोजगारीको अवसर पनि गुमाउने गरेको छ ।

आयरल्यान्डका राजनीतिक नेता एडवर्ड डब्लू स्टिवर्टले भनेका छन्, ‘कृषि अन्य सबै उद्योगको जग हो ।’ यस भनाइलाई ध्यानमा राखी नेपालको साँच्चिकै विकास गर्न इजरायलमा जस्तै उत्कृष्ट कृषि केन्द्र स्थापना गरी विद्यमान परम्परागत कृषिलाई आधुनिकीकरण गर्न आवश्यक छ । हामीले कृषिक्षेत्रलाई राम्ररी विस्तार गर्न सक्यौं भने यसले देशमा धेरै अवसर सिर्जना गर्न सक्छ । कृषिक्षेत्रको विकाससँगै हजारौं युवा, किसान, उद्यमी, प्राध्यापक, अनुसन्धानकर्ता, योजनाविद्, विद्यार्थी, विज्ञ आदिले रोजगारीको अवसर पाउनेछन् । तर यी अवसरहरूको सदुपयोग गर्न कृषिलाई आधुनिकीकरण गर्न आवश्यक छ । इजरायलमा कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरणहरूमध्ये यो एक हो । इजरायलको कृषि मोडेलबाट नेपालले धेरै पाठ सिक्नु जरुरी छ ।

नेपालको ६५ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा संलग्न छन् । तर, हामी वार्षिक अर्बौं रुपैयाँको तरकारी तथा फलफूल आयात गर्छौं, जुन दुर्भाग्यपूर्ण तथ्य हो । हाम्रो जनशक्ति खेर गइरहेको छ । त्यसैले हामी नेपालीले इजरायलजस्तै कम जनशक्तिसहितको आधुनिक कृषिक्षेत्रमा संलग्न हुन सकेमा र जनसंख्याको ठूलो हिस्सा अझै अन्य क्षेत्रमा संलग्न हुन सक्छ । रोजगारीका अवसरहरू विस्तार गरेर, नवप्रवर्तनशील विचार, प्रविधि, जडीबुटी, कृषि उत्पादन एवं अन्य धेरै वस्तु निर्यात गरेर नेपाललाई आत्मनिर्भर अर्थतन्त्रका रूपमा स्थापित गर्न सकिन्छ ।

इजरायलजस्तै नेपाल सरकारले पनि आफ्ना नागरिकलाई सफल बनाउन विभिन्न योजना ल्याउनुपर्छ । सरकारले किसानलाई उद्यमी बनाउन आवश्यक नीति तथा योजना ल्याउनुपर्छ र ती योजना कार्यान्वयन गर्न निजी क्षेत्र, सरकार र सहकारीले मिलेर काम गर्नुपर्छ । यस अवधिमा दर्जनौं सम्झौता र समझदारी भएका छन्, जसमध्ये नेपालमा कृषि संकायका बिएस्सी कृषिमा अध्ययनरत विद्यार्थीहरू लर्न एन्ड अर्न (सिक्दै–कमाउँदै) कार्यक्रम, नेपालको सातवटै प्रदेशमा उत्कृष्ट कृषि केन्द्र खोल्ने जस्ता सम्झौता र समझदारीहरू रहेका छन् ।

(लेखक कृषि सरोकार समाजका वरिष्ठ उपाध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्