हवाइ इन्धन डिपो सञ्चालनमा «
Logo

हवाइ इन्धन डिपो सञ्चालनमा

सिमरा (बारा)— सिमरा विमानस्थलमा हवाइ इन्धन डिपो सञ्चालनमा आएपछि विमान कम्पनी र यात्रु लाभान्बित हुने भएका छन् । डिपो सञ्चालनसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा हुने हवाइ चाप कम हुने अपेक्षा गरिएको छ ।

साथै खराब मौसमका कारण घण्टौं आकाशमै होल्ड गर्नु पर्ने र आन्तरिक विमानले मार्ग परिवर्तन तथा इन्धन खपत एवं सहज आपूर्ति गर्न सिमरा विमानस्थललाई प्रयोग गर्न सकिने भएको छ । यसको प्रत्यक्ष लाभ विमान कम्पनी र यात्रुले पाउने अपेक्षा गरिएको छ । हवाइ इन्धनको डिपो सञ्चालनसँगै नेपालको आन्तरिक उडान थप व्यवस्थित बन्न मद्दत पुगेको नागरिक उड्डयन प्राधिकरण सिमराका प्रबन्धक सूर्यबहादुर खत्रीले बताए ।

उनले भने,‘नेपालकै सबैभन्दा पुरानो यो विमानस्थलमा रिफ्युलिङ सेन्टर सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ नजिकको वैकल्पिक विमानस्थलका रुपमा प्रयोगमा ल्याउन अब सहज हुने छ ।’ भैरहवा, विराटनगर, भद्रपुरलगायतका स्थानबाट राजधानी उडेका आन्तरिक विमानहरु काठमाडौंमा खराब मौसम, हवाइ चापलगायतका प्राविधिक समस्या आउँदा बढीमा १५ मिनेट समय लाग्ने सिमरा विमानस्थल आउन सक्ने अवस्था बनेको छ ।

सिमरा विमानस्थलमा सञ्चालित रिफ्युलिङ सेन्टरका कारण प्राविधिक समस्याले काठमाडौंको आकासमा घण्टौं होल्ड गर्नु पर्दा खपत हुने इन्धनको वचत र यस्को बढ्दो प्रयोग घटाउन मद्दत पुग्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए । थानीले रिफ्युलिङ सेन्टरका लागि निगमले विमानस्थलमा ११ र १६ किलोलिटरका २ वटा रिफ्युलर तथा ९ किलोलिटरको ‘डिस्पेन्सर’ को व्यवस्था गरेको जानकारी दिए । उनले सिमरा विमानस्थलमा भण्डारण ट्यांकको निर्माण थालिएकोले बढीमा दुई महिनाभित्र सञ्चालनमा आउने हुँदा तबसम्म जनकपुरमा रहेको डिपोबाट हवाइ इन्धन सिमरा ल्याइने बताए ।

देशका विभिन्न भागबाट काठमाडौं केन्द्रित उडान भर्ने विमानहरुले सिमरा विमानस्थलमा हबाइ इन्धन नहुँदा, संकट पर्दासमेत मार्ग परिवर्तन गर्न नसक्ने अवस्थाको अव अन्त्य हुने प्राधिकरणले जनाएको छ । सिमरामा रिफ्युलिङ सेन्टर सञ्चालनले मुलुकको आन्तरिक उडान थप व्यवस्थित बन्ने आधार बनेको छ ।

रिफ्युलिङ सेन्टरको सञ्चालनपछि हवाइ यात्राको कनेक्टिभिटी र पहुँच सुदृढ बन्ने हुँदा विमानको इन्धन बचत हुने, इन्धनसँग भार मिलान गरी थप यात्रुलाई सेवा दिन सकिने, काठमाडौंभन्दा इन्धन खरिद सस्तो पर्ने, विमान र हवाइ यात्रुले समेत प्राविधिक कठिनाइ व्यहोर्ननपर्नेमा निजी उड्ययन उद्योगहरु विश्वस्त बनेका छन् ।

उक्त रिफ्युलिङ सेन्टरको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरेका हुन् । रात्रिकालीनसमेत दैनिक ९ उडान र अवतरण हुँदै आएको सिमरा विमानस्थलबाट एक हजार यात्रुले सेवा लिँदै आएको प्राधिकरण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्