राजस्व लक्ष्य भेट्न कोइलाबास भन्सार असफल «
Logo

राजस्व लक्ष्य भेट्न कोइलाबास भन्सार असफल

दाङ– कोइलाबास भन्सार कार्यालय चालु आर्थिक वर्षको पहिलो चौमासिक राजस्व लक्ष्य संकलनमा असफल भएको छ । राजस्वको मुख्य स्रोतमा अस्थायी पैठारी अर्थात् भारतीय सवारी साधन नेपाल आयबापत तिर्ने रकम रहेको छ । तर, अहिले कोइलाबास नाका भए आउने संख्या कम हुँदा राजस्व संकलन कम भएको भन्सार कार्यालयले जनाएको छ ।

पहिले दैनिक ५/६ सय भारतीयहरू कोइलाबास आउने तथा कोइलाबास हुँदै नेपाल आउने गरे पनि अहिले यो संख्या घटेको कोइलाबास भन्सार कार्यालय प्रमुख दीपक शर्माले जानकारी दिए । ‘अहिले मान्छे तथा सवारी साधनहरू समेत आउन कम भएको कारण राजस्व घटेको हो’ प्रमुख शर्माले भने । अहिले ३/४ दिनमा ५/६ सय जना मान्छे आउने गरेको उनको भनाइ छ ।

भारततर्फबाट नै नाकामा कडाइ गरेको कारण आउने संख्या कम भएको बताइएको छ । नाकामा सहज हुँदा कोइलाबासमा चहलहल समेत बढ्दै गएको थियो । भन्सार कार्यालयले पहिलो चौमासिकसम्म ३१ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख शर्माले जानकारी दिए । चौमासिकसम्म ३२ लाख ९१ हजार राजस्व संकलनको लक्ष्य थियो ।

भन्सार कार्यालयले साउन महिनामा ८ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा ६ लाख ९३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । साउनमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ । भदौमा सात लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जबकी भदौमा ८ लाख ६६ हजार राजस्व संकलन लक्ष्य थियो । असोज महिनामा ६ लाख ४१ हजार ५ रुपैयाँ राजस्व राजस्व संकलन भएको छ ।

उक्त महिनामा ९ लाख ८ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो । कार्तिकमा ९ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ । उक्त महिना ८ लाख २५ हजार रुपैयाँ उठाउने लक्ष्य थियो । भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा १ करोड १ लाख ३९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेको प्रमुख शर्माले बताए ।

कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटकहरु नेपाल भित्रिने नाका बन्दै गएको छ । व्यापार व्यवसायको लागि सामान आयात र निर्यात गर्नेभन्दा भारतीयहरू नेपाल आउने र नेपालीहरू भारत जाने नाकाको रूपमा स्थापित हुन थालेको हो ।

‘नेपाल र भारत दुई सरकारबीचमा कोइलाबास नाकालाई चलायमान बनाउन समझदारी हुन जरुरी छ’ प्रमुख शर्माले भने । नेपालतर्फ सामान ल्याउन कुनै समस्या नभएको उनले बताए । तर, भारततर्फ २५ हजारभन्दा बढीको सामान ल्याउन नदिने गरेको उनको भनाइ छ । भारतीय पर्यटकका लागि सबैभन्दा सहज र सरल बाटो भएकाले यसै बाटो भएर आउने गर्छन् । कोइलाबास नाकाबाट विशेष गरी नेपाल आउने यात्रुले प्रयोग गर्ने सवारी साधनबाट राजस्व उठाउने गरिएको छ ।

दाङ, रोल्पा, प्युठानको लागि पैठारी हुने व्यापारिक सामान कोइलाबास नाकाबाट भित्रिएको देखिँदैन । व्यापारीहरुका लागि सबैभन्दा छोटो नाका परे  पनि आकर्षित भएको देखिएको छैन । कोइलाबास नाकालाई दिगोरुपमा सञ्चालन गर्न राजनीतिक नेतृत्वबाट पहल हुन आवश्यक रहेको छ । नेपाल र भारतबीच जी टु जीको माध्यमबाट नाकालाई दिगोरुपमा सञ्चालनको पहल गर्नुपर्ने स्थानीयले बताएका छन् ।

दुवै देशबीचमा व्यापार सहजीकरणको अभावले भारतमा खरिद गरेको २५ हजारभन्दा बढीको सामान कोइलाबास भन्सारबाट नेपाल भित्र्याउन कठिन हुने गरेको छ । भारतीय भन्सार कार्यालयले २५ हजार रुपैयाँको सीमा तोकेकाले समस्या परेको हो । दुवै देशबीचमा कोइलाबास भन्सारबाट व्यापार बढाउन समन्वय र सहकार्य हुनुपर्ने आवाज उठे पनि यसले मूर्तरूप लिएको छैन ।

व्यापार संगठनहरूको बीचमा पहल भए पनि सरकारी स्तरबाट पहल नहुँदा कोइलाबास नाका व्यापारिक दृष्टिकोणले कमजोर देखिन थालेको छ । दाङलगायत साबिक राप्ती अञ्चलमा सामान पु¥याउन कठिन हुने गरेको छ । कोइलाबास नाकालाई व्यावसायिक बनाउन निजी क्षेत्रबाट पहल भएपनि यस्ले मूर्तरुप लिन सकेको छैन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा नेपाल र भारत दुवै देशका उद्योगी व्यवसायी कोइलाबास नाकालाई अन्तरदेशीय व्यापारिक नाकाको रूपमा प्रयोग गर्न इच्छुक देखिएका छन् । तर, दुवै देशका सरकारको प्राथमिकतामा कोइलाबास नाका नपर्दा अहिले पनि भन्सार कार्यालयको स्तरवृद्धि हुन सकेको छैन । अधिकृतस्तरको कर्मचारीको दरबन्दी आवश्यक रहे पनि सरकारले त्यसको व्यवस्थापन गर्न सकेको छैन । कुनै समय चल्तीको व्यापारिक नाका अहिले सुनसान जस्तै छ ।

नाकासम्म पुग्न पक्की सडक बने पनि नाका पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा कोइलाबासमा सोचे जस्तो चहलपहल हुन सकेको छैन । कोइलाबास हेर्न पुग्ने राजनीतिक नेतृत्व तथा मन्त्रीहरूले नाका सञ्चालन गर्न ध्यान नदिएको गुनासो छ । भन्सार तौलको आधारमासमेत हुने भएकोले विषादी परीक्षण तथा क्वारेनटाइन स्थापना गर्न आवश्यक देखिएको छ । तर, यसतर्फ सरकारको ध्यान पुग्न सकेको छैन । जिल्ला तथा छिमेकी जिल्ला सल्यान कपुर कोटमा उत्पादन भएको विभिन्न कृषि उत्पादन भारत निर्यात गर्न पहल भए पनि यसले पूर्ण रुपमा सार्थकता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्