१९ औं लेखनाथ महोत्सवको तयारी

पोखरा– लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आउँदो पुष पहिला सातादेखि १९ औं संस्करणको लेखनाथ महोत्सव हुने भएको छ । दुई लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको उक्त महोत्सवमा १६ पुषसम्म सञ्चालन हुने छ ।
महोत्सवमा २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको सोमबार आयोजना भएको पत्रकार सम्मेलनमा बताइएको हो । १३ दिनसम्म चल्ने उक्त महोत्सवको तयारी तीव्र पारिएको संघका अध्यक्ष एवं महोत्सव संयोजक विनोद श्रेष्ठले बताए । यसपटको महोत्सवले स्थानीय कृषि उत्पादनदेखि स्थानीय रुपमा उत्पादन भएका वस्तुहरूको प्रर्दशनी तथा बिक्री हुने उनले बताए ।
महोत्सवमा करिब ३३४ स्टल रहने भएको महोत्सवका प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदीले बताए । महोत्सवमा ७५ प्रतिशत स्टल बुकिङ भइसकेको उनले बताए । महोत्सवमा करिब ९० लाख रुपैयाँ आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च हुने अपेक्षा गरिएको छ । महोत्सवबाट यो वर्ष १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ ।
आफूहरूले यसपाली धेरै सार्वजनिक बिदाको दिन पार्न खोज्दा पोखराको सडक महोत्सवसँग एकै मितिमा उक्त महोत्सव समेत हुन गएको अध्यक्ष श्रेष्ठले बताए । आगामी मितिबाट त्यसलाई समन्वय गर्ने उनले जनाए । नेपाल इको प्यानलको उत्पादन पोखरेली चाइनीज इट्टा उक्त महोत्सवको मुख्य प्रायोजक रहेको छ ।