सैनामैनालाई लुम्बिनीसँग जोडेर विकास गर्न जोड

बुटवल– रुपन्देहीको सैनामैना क्षेत्रलाई लुम्बिनीसँग जोडेर पर्यटकीय विकास गर्नुपर्ने माग गरिएको छ । सैनामैना पर्यटकीय सम्भावना बोकेको नगर भएको र यहाँका धार्मिक, ऐतिहासिक, पुरातात्वीक र प्राकृतिक स्थलहरूको व्यवस्थित तरिकाले प्रवर्द्धन र विकास गर्नुपर्नेमा सरोकारवालाहरूले बताएका हुन् । छैटौ राष्ट्रिय सैनामैना, कृषि, पर्यटन, प्रवधि तथा औद्योगिक व्यापार महोत्सवको अवसरमा मंगलबार महोत्सव स्थल मुर्गियामा पर्यटन प्रवर्द्धन सम्बन्धी गोष्ठीमा सहभागीहरूले सो कुरा बताएका थिए ।
कार्यक्रममा सहभागीहरूले सैनामैनाको रानीकुवा क्षेत्र र पर्रोहा परमेश्वर बोलबम धामलाई नगरको पर्यटकीय पहिचानको रुपमा अघि बढाउनुपर्ने धारणा राखे । पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैना वडा नम्बर १ को बनकट्टा चोकबाट दुई किलोमिटर उत्तर बुद्धकालिन दुई कुवा रहेका छन् । एउटा राजा कुवा हो भने अर्को रानी कुवाको नामले चिनिने गरिएको छ । कुवा आसपास प्राचीन समयका ढुंगा इट्टा फेला परेको छ । फेला परेका प्राचिन वस्तुहरू पुरातात्वीक संग्रालय बनाएर संग्रह गरिएकोले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवाज उठेको हो ।
सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाको बुद्धकालिन स्थललाई लुम्बिनीसँग जोड्न प्रयत्न गरिरहेको जानकारी दिए । ‘रानीकुवा र राजाकुवा क्षेत्र लुम्बिनी विकास कोष भित्र समेटियो भने लुम्बिनी आएका पर्यटकहरूलाई यहाँ आकर्षित गर्न सकिन्छ’ उनले भने,‘ त्यसको लागि हामी निरन्तर प्रयत्न गरिरहेका छौं ।’ नगरप्रमुख शर्माले पर्यटन प्रर्वद्धनको लागि नगरपालिका सहयोग र सहकार्य गर्न तयार रहेको भन्दै पर्यटक आकर्षित गर्ने वातावरण बनाउन निजी क्षेत्रलाई आग्रह गरे । बुद्धकालिन कुवा भएकै वडामा पर्रोहा परमेश्वर बोलबम धाम रहेको छ ।
पूर्वपश्चिम राजमार्गको रानी बगियाबाट दुई किलो दक्षिण बोलबमधाम पर्दछ । लुम्बिनी पर्यटन परिषद्का सदस्य हरि पोखरेलले नगरको पहिचान बनेको पर्रोहा बोलबमधाममा साउनमा मात्र नभई अन्य समयमा पनि धार्मिक पर्यटक आकर्षित गर्नुपर्ने बताए । उनले रानीकुवा क्षेत्रका सम्पदाहरूको संरक्षण र प्रचारप्रसार गर्नुपर्ने, बोलबम पार्क, मलमला, राजापानी सिमसार क्षेत्रलगायतका पर्यटकीय स्थल सैनामैनामा रहेको भन्दै योजना बनाएर पर्यटकीय गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिए ।
सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले लुम्बिनीबाट १८ किलोमिटरको दुरीमा रहेको सैनामैनाले लुम्बिनीको पर्यटनबाट फाइदा लिन सक्ने बताए । उनले पूर्वपश्चिम यात्रा गर्नेलाई सैनामैनाको रामापुरबाट लुम्बिनी जान सहज हुने जिकिर गरे । संघका निवर्तमान अध्यक्ष राजबहादुर क्षेत्रीले नगरमा पर्यटन सम्बन्धी संयन्त्र बनाएर गन्तव्यहरूको पहिचान, संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलगायतका गतिविधि गर्नुपर्ने धारणा राखे । सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले सैनामैनामा पर्यटकीय चहलपहल बढेमा अन्य व्यवसायलाई फाइदा पुग्ने बताए ।
व्यापार संघका निवर्तमान अध्यक्ष दुर्गा गौतमले रामापुर कलौनी र मुर्गियालाई लुम्बिनी प्रवेश मार्गको रुपमा विकास गर्न सके नगरमा पर्यटकीय चहलपहल बढ्नेमा जोड दिए । सैनामैनामा रहेको थारु होम स्टेका अध्यक्ष खुशिराम चौधरीले सैनामैनाको सम्पदा र संस्कृतीको संरक्षण र प्रवर्द्धन गर्न सके पर्यटकीय सम्भावना प्रचुर रहेको उल्लेख गरे । सैनामैना होटल व्यवसायी संघका अध्यक्ष झविन्द्र पोखरेलले पर्यटकहरूका लागि आफूहरूले स्तरीय सेवा दिने प्रयास गरिरहेको बताए ।