Logo

नवराज विक हत्या मुद्दामा २४ जनालाई जन्मकैद

काठमाडौं– रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ ।

गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्यामा एक नाबालकसहित २४ जनालाई जन्मकैदको सजाय भएको हो । २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ राना गाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुम पश्चिमको सोती गाउँ पुगेका थिए । त्यस क्रममा सोती गाउँका गैर दलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए ।

सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो । यसपछि नवराजका बुबा मुनलाल नेपालीले दिएको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

यसअघि नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन् । साढे तीन वर्षअघि नवराजसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकील कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् । किशोरी (नवराजकी प्रेमिका) की आमा धरौटी र अन्य १० अभियुक्त सामान्य तारेखमा रिहा भएका थिए भने २४ जना पुर्पक्षका लागि कारागारमा थिए ।

प्रतिक्रिया दिनुहोस्